
९ असोज, काठमाडौं । संघीय संसदका संसदीय विषयगत समिति सभापतिहरुलाई प्रशिक्षण दिइँदैछ ।
बुधबार र बिहीबार काभ्रेको धुलिखेल माउण्टेन रिसोर्टमा समिति सभापतिहरुका लागि ‘कानुन निर्माण, निगरानी र समिति प्रभावकारिता’ विषयक कार्यक्रम राखिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को संसद विकास परियोजना अन्तर्गतको आर्थिक सहयोग र संसद सचिवालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा संघीय संसदका सबै विषयगत समितिका सभापतिलाई आमन्त्रण गरिएको छ ।
प्रतिनिधिको अर्थ समिति सभापतिमा सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अब्दुल खांन, कानून, न्याय तथा मानव अधिकार समितिमा बिमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा, महिला तथा सामाजिक मामिला समितिमा किरण कुमार साह सभापति छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिमा दिपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशी, सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल सभापति छन् ।
राष्ट्रिय सभातर्फ दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा जयन्ती देवी राई, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति मा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापति छन् ।
कार्यक्रममा संसद सचिवालयका महासचिव भरतराज गौतम, सचिवहरु पद्मप्रसाद पाण्डे, डा. सुरेन्द्र अर्याल, सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायतको सहभागिता रहनेछ ।
बुधबार एउटा सत्र सञ्चालन हुनेछ । जहाँ पूर्वसांसद विन्दा पाण्डेले ‘संसदीय समितिको प्रभावकारितामा ध्यान दिनुपर्ने पक्षहरुबारे’ बारे प्रस्तुति गर्नेछिन् । समितिको निर्णय लेखन तथा अनुमोदन, समय व्यवस्थापन, मिडियासँगको सम्बन्ध लगायतका विषयमा पाण्डेको प्रस्तुतिकरण केन्द्रित रहनेछ ।
बिहीबार दुई वटा सत्र चल्नेछ । पहिलो सत्रमा संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘संसदीय समितिमार्फत सरकारका कामकारबाहीमाथिको निगरानी’का सम्बन्धमा प्रस्तुतीकरण गर्नेछन् ।
दास्रो सत्रमा नेपाल सरकार पूर्वसचिव माधव पौडेलले ‘विधेयक परिमार्जन र सुधारमा संसदीय समिति र सांसदहरुको भूमिका’बारे प्रस्तुत रहनेछ ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति पोखरेल भने अनुपस्थित रहने भएका छन् ।
‘लेखा समितिकै बैठक छ । १२ गतेबाट सुरु हुने कोशी प्रदेश अधिवेशनमा पनि जाने तय भएको छ । यसकारण मैले धुलिखेलको कार्यक्रममा अनुपस्थित रहने जानकारी गराएको छु’ सभापति पोखरेलले भने ।
प्रतिक्रिया 4