+
+
साफ-यू १९ च्याम्पियनसिप :

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

नमिता दाहाल नमिता दाहाल
२०८० असोज ९ गते १८:५१

९ असोज, काठमाडौं ।  साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भोलि बुधबार नेपालले भारतसँग खेल्दै छ । नेपाल र भारतको खेल बेलुकी साढे ५ बजे सुरु हुने छ भने त्यसअघि साढे १ बजे भुटान र पाकिस्तानले खेल्ने छन् ।

सेमिफाइनलमा पुगेको घरेलु टोली नेपाल सुरुका २ संस्कर सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारत पछिल्ला दुई सन् २०१९ र २०२२ को । सन् २०१५ मा सुरु भएको प्रतियोगितामा लगातार दुईपटक उपाधि जिते पनि पछिल्ला २ संस्करणमा नेपालको प्रदर्शन खराब रह्यो ।

घरेलु मैदानमा जारी पाँचौ संस्करणमा भने नेपाल समूह चरणमा पाकिस्तानसँग हारे पनि माल्दिभ्सलाई हराउँदै सेफिाइनलमा पुगेको छ ।

नेपालसँग खेल्न लागेको भारत भने समूह चरणमा भुटान र बंगलादेश दुवै टिमलाई हराउँदै सेफिाइनलमा पुगेको हो ।

सन् २०१५ मा दशरथ रंगशालामा भारतलाई हराउँदै नेपालले उपाधि जित्दा सहायक रहेका सुनिल श्रेष्ठ अहिले नेपाली टिमको प्रमुख प्रशिक्षक छन् ।

८ वर्षअघिको फाइनल सम्झिरहेका सुनिल घरेलु मैदानमा भोलिको खेल जितेर फाइनल खेल्न चाहन्छन् । ‘हामी भोलि जित्नकै लागि खेल्ने हो,’ भारतसँगको खलको पूर्वसन्ध्यामा उनले भने, ‘जसरी पनि नतिजा आफ्नो पक्षमा पार्ने तयारीमा रहनेछौं ।’

नेपालका लागि घरेलु मैदान र दर्शकको समर्थन नै महत्वपूर्ण हुने प्रशिक्षक श्रेष्ठले बताए । ‘हाम्रो लागि सबैभन्दा ठूलो फाइदा भनेको घरेलु मैदान र हाम्रो दर्शकको साथ हो ।’

खेलाडीलाई मानसिक रुपमा बलियो बनाउँदै

माल्दिभ्ससँगको खेलमा खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट नै देखिएका सुनिलले भारतसँगको खेलअघि उनीहरुलाई मानसिक रुपले तयार गर्नु पर्ने आवश्यकता महसुस गरेका छन् ।

यो प्रतियोगिताकै लागि भनेर नेपालले खुल्ला छनोटबाट खेलाडी चयन गरेको थियो । उनीहरुलाई घुलमिल गराउन प्रतियोगिता अघि राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलाइयो । समूह चरणका दुई खेल खेलपछि उनीहरुले अझै खुलेर खेल्ने विश्वास प्रशिक्षक सुनिललाई छ ।

चोटका कारण पाकिस्तानसँगको खेल गुमाएका मिडफिल्डर प्रशान्त लक्सम लिम्बुले माल्दिभ्ससँगको खेलमा उत्कृष्ट प्रदर्शनसँगै नेपालका लागि पहिलो गोल गरेका थिए ।

भारतसँगको खेलमा पनि उनको उस्तै प्रदर्शनको आशा मुख्य प्रशिक्षक सुनिलले गरेका छन् । भन्छन्, ‘मिडफिल्डमा प्रशान्तको प्रदर्शन निकै राम्रो थियो उनी नेपालका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । उनी भोलिको खेलका लागि पनि महत्वपूर्ण हुनेछन् ।’

माल्दिभ्सविरुद्ध २ गोल गरेका समिर तामाङले फरवार्डमा निरन्तरता पाउने छन् ।

समूह चरणको पहिलो खेलमा कप्तान तथा गोलरक्षक जियारथ शेखले निक्कै राम्रो बचाउ गरेका थिए । तर उनले भेट्नै नसक्ने बल पोस्टको माथिल्लो कर्नरबाट गोल हुन पुगेपछि नेपालले त्यो खेल हारेको थियो ।

नेपालका लागि माल्दिभ्ससँगको खेल केही आक्रामक रह्यो । राइट विङ्गरका रुपमा पहिलो खेल खेलिरहेका सुजन डंगोल मैदानमा भएको झगडाका कारण रेड कार्ड पाउँदै सेमिफाइनल खेल्नबाट वञ्चित भएका छन् ।

सुजनको ठाउँमा सिद्धार्थ अधिकारीलाई मैदान उतार्ने संभावना छ । सुनिल भन्छन्, ‘हामीसँग उनको स्थानमा खेल्न सक्ने खेलाडी छन् । उनको स्थानमा सिद्धार्थ अधिकारी छन्, उनी विङ्गर मिड दुवैमा खेल्न सक्छन् ।’

नेपाली दर्शकको प्रेसर थेग्नेमा भारतीय प्रशिक्षक ढुक्क

भारत २ वर्षको तयारी गरेर काठमाडौं आइपुगेको हो । यो प्रतियोगिताका लागि भनेर नै भारतले २०२१ मा २०० भन्दा बढी खेलाडीहरुमध्येबाट चयन गरेर यो टिम बनाएको थियो ।

काठमाडौं आउनुअघि उसले साउदी अरबको भ्रमण गरेको थियो । त्यो भ्रणम निक्कै फलदायी रहेको बताउने पाण्डा घरेलु दर्शकको प्रेसर थाम्न आफ्ना खेलाडी सक्षम रहेको दाबी गर्छन् ।

‘हामी नेपालसँग खेल्न तयार छौं । नेपालले घरेलु समर्थकको अगाडि खेल्नेछ’, समूह चरणमा भुटानलाई हराउँदै नेपालसँगको भेट पक्का गरेपछि उनले पत्रकारसित भनेका थिए, ‘हाम्रो खेलाडीले त्यो किसिमको प्रेसर सम्हाल्न सिकिसकेका छन् ।’

समूह चरणमा बंगलादेशलाई ३–० र भुटानलाई २–१ ले हराएको भारतका प्रशिक्षक पाण्डा चाहेको जसरी नै खेलेर यो नतिजा आएको बताउँछन् ।

नेपालले खेलमा सुधार गरेको उनले बताए । ‘नेपालको खेल एकपछि अर्को राम्रो हुँदै गएको छ, नेपालले पहिलो खेल हारे पनि दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो,’ उनले भने, ‘उनीहरुले हामीसँग पनि राम्रो प्रदर्शन गर्छन् भन्ने आश छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?