+
+

सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार बढी भयो : पूर्वअर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:५४
फाइल तस्वीर

९ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम अहिले नभएको भन्दै बजारमा १५० प्रतिशतको जोखिम भार उच्च भएको बताए ।

‘नेप्से इन्डेक्स ३२०० हुँदा बजार ‘ओभर हिटेड’ भयो भनेर मैले पनि भनेको हुँ । तर, अहिले बजार ओभर करेक्सन भइसक्यो भने जोखिम भार १५० किन राख्नुपर्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘बजार बढ्ने र घट्ने साइकलको कुरा हो । सेयर बजार माथि जान्छ भने त्यो बेला जोखिम बढी हुन्छ र जोखिम भार बढाउन हो । करेक्सन हुँदा जोखिम घट्छ भने जोखिम भार पनि घटाउने हो ।’

पूर्वगभर्नर समेत रहेका खतिवडाले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताए ।

उनले आफू गभर्नर हुँदा कुल कर्जाको दुई प्रतिशत भन्दा धेरै सेयर धितो कर्जा बैंकले दिन नहुने व्यवस्था गरेको बताउँदै अहिले त्यही दुई प्रतिशत पुर्‍याउँदा पनि ३० देखि ४० अर्ब बजारमा जाने बताए ।

‘३० देखि ४० अर्ब बजारमा जाँदा सेयर बजार चलायमान भइहाल्छ,’ उनले राष्ट्र बैंकप्रति लक्षित गर्दै भने, ‘एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम देख्दैनौं । १२ करोड कसैले लगानी गर्‍यो भने त्यहाँ राष्ट्र बैंक जोखिम देख्छ । यो जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझिएन ।’

उनले सेयर बजार सम्बन्धी नीतिमा सानो करेक्सन गर्दा धेरै केही हुने अवस्था नभएको बताए । तर, त्यसले लगानीकर्ताको मनोबल बढ्ने र बढेको मनोबलले गर्दा हतारिएर सेयर बेच्ने प्रवृत्ति घट्ने उनले बताए । त्यसले सेयर बजारका कम्पनीको मूल्यमा पहिरो जाने क्रम रोकिने उनको दाबी छ ।

उनले धितोपत्र बोर्डलाई कमजोर कम्पनीलाई किन यति धेरै आईपीओ ल्याउन दिएको भन्दै प्रश्न पनि गरे ।

उनले प्रिमियममा आइरहेको आईपीओप्रति पनि प्रश्न गरे । ‘बजार क्र्यास हुँदैछ भने त्यसलाई संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘बजारलाई स्थायित्व दिने कुरामा राष्ट्र बैंक भन्दा बढी धितोपत्र बोर्ड भूमिका हुन्छ ।’

नेप्सेले कारोबारको फर्छ्यौटलाई छिटो बनाउँदा मात्रै पनि एक दिनमा धेरै कारोबार हुने उनले बताए ।

‘टी प्लस टु वा अन्य के भनिरहँदा पनि भनेको समयमा नेप्सेका सफ्टवेयरले काम गरिदिँदैन । कारोबार अवरुद्ध हुन्छ,’ उनले भने, ‘सयेर कारोबार अपडेट हुँदैन। बजार अस्तव्यस्त छ । त्यो हेर्ने नियमाक निकाय र सरकार अर्थ मन्त्रालय हो । अर्थमन्त्रीले यो जिम्मेवारीबाट उम्कन मिल्दैन ।’

राष्ट्र बैंकका गभर्नरले आफ्नो जिम्मेवारी होइन भनेर उम्नकन नमिल्ने उनले बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डलाई हस्तेक्षप गर्नु उपयुक्त नभएको उनले बताए ।

‘आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्वक सबैले गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक हुँर्दैन,’ उनले भने।

पूर्वअर्थमन्त्री खतिवडाले अहिलेको अवस्थामा बैंकहरुलाई काउन्टर साइाक्लिकल बफर लगाउन आवश्यक नरहेको बताए ।

‘काउन्टर साइक्लिकल बफर अर्थतन्त्र ओभर हिटेड हुँदा लगाउने हो,’ उनले भने, ‘अर्थतन्त्र मन्दीमा छ। किन काउन्टर साइक्लिकल बफर लगाइयो ?’  उनले अहिलेको अवस्थामा अर्थतन्त्रलाई बुस्टर दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?