+
+

भैंसी र आमा

विनोदविक्रम केसी विनोदविक्रम केसी
२०८० असोज १० गते १७:४४

असलमा त

आमा

भैंसीजत्तिकै महान् छिन्

 

सिङदेखि खुरसम्म

रगतदेखि हाडेमासीसम्म

जम्मै जम्मै

पृथ्वीवासीका नाममा उत्सर्ग गरेपछि

जे बच्छ

त्यो

महानताबाहेक अरु के हुन सक्छ ?

 

अनि, त्यस महानताको

ठेट नाम भैंसीबाहेक अन्यथा हुन सक्दैन

 

सुन हो, कृतघ्नताका पुत्लाहरु !

यो— भैंसीमाथि महाकाव्य लेख्ने समय हो

(भैंसीमाथि लेख्नु भनेको स्वतः आमामाथि लेख्नु हो)

 

सुन हो, सुन, सुन !

यो भैंसीलाई खादा पहिराएर अभिनन्दन गर्ने समय हो

यो भैंसीको दूध, मांसदेखि हाडखोरसम्मको भारा तिर्ने समय हो

यो भैंसीलाई इतिहासमा श्रद्धानत हरफहरु अर्पण गर्ने समय हो

 

तर, खबरदार !

यो भैंसीलाई राष्ट्रिय जनावर घोषणा गर्ने समय होइन

 

तुच्छताका उपासकहरु रमाइरहून्

राष्ट्रको चार पर्खालभित्र

भैंसी त सिङ्गै धर्तीको यो हददेखि त्यो हदसम्म

डुलिहिंड्छ मग्नमस्त

 

दूध, दही, घ्यू, चिज, पनिर

छोयला, सपुम्हिचा, खागो, भुटुन

टाँक, ब्याग, बेल्ट

लुब्रिकेन्ट, साबुन, मैनबत्ती…

 

आफ्ना टुक्रा टुक्रा अवतारहरुमा

रमाइहिंड्छ दसै दिशा

 

असलमा त

भैंसीबाटै सिकेकी हुन् आमाले

आफूलाई हिस्सा हिस्सामा सउल्लास बाँडिदिन

 

असलमा त

भैंसी आमाको आदिगुरू हो

 

यस विषाक्त घडीमा

भैंसी र आमामार्फत

पर्यावरणमा केही बुँद अमृत छर्कनु जरूरी भइसकेको छ

 

यो विषाक्त घडी…

यति विषाक्त कि

बिचरा चौपायालाई भिराइएको छ पवित्रताको अजङ्ग ताज,

फिंजाइएको छ हावामा मलमूत्रको महिमागान,

नरम घाँस, केवल नरम घाँसको आकाङ्क्षीलाई

उतारिएको छ राजनीतिको क्याक्टस मैदानमा,

आततायीहरुले अबोधलाई बनाइदिएका छन्

अतिवादको औजार,

नृशंसहरुलाई

रक्षक बन्ने सनक चढेको छ,

खान पाउने नैसर्गिक अधिकार प्रयोग गरेबापत

भोकाहरुलाई ठिंगुर्‍याइएको छ कारावासमा

 

यसरी

सत्ता, शास्त्र र स्वाँठहरु मिलेर

उत्सर्जन गरिरहेछन्

मन, वचन र कर्मले सायनाइड

 

यस विषाक्त घडीमा

भैंसी र आमामार्फत

पर्यावरणमा केही बुँद अमृत छर्कनु जरूरी भइसकेको छ

 

त्यसैले

यो भैंसीमाथि ऐतिहासिक आभार व्यक्त गर्दै

महाकाव्य लेख्ने समय हो

 

भैंसीमाथि लेखिएन भने

आमामाथि पनि अन्याय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?