+
+

देउवाले ५ पटक मनोनित गरिसके, कांग्रेस केन्द्रीय समिति अझै अपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १८:२५

१० असोज, काठमाडौं । २०७८ मंसिरको महाधिवेशनबाट १३५ जना केन्द्रीय सदस्य निर्वाचित भएपछि पार्टी विधानले कांग्रेस सभापति शेरबहादुर देउवालाई ३३ जना मनोनित गर्न अधिकार दिएको थियो ।

त्यसयता उनले पाँचपटक केन्द्रीय सदस्य मनोनित गरिसके, तर अझै कांग्रेस केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति १६८ जनाको हुनेछ । निर्वाचित र मनोनित गरी हाल १६६ सदस्यीय पगेको छ ।

३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने विधानको व्यवस्था अनुसार केन्द्रीय समितिमा ५६ जना महिला हुनुपर्छ । हाल ५४ जना महिला छन् । यस हिसाबले अब बाँकी दुई जना महिला नै मनोनित गर्नुपर्नेछ ।

महाधिवेशन पहिलो पटक देउवाले १७ पुस २०७८ मा १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । त्यतिबेला उनले चुनावमा प्रतिस्पर्धा नगरेका र सभापति र अरु पदाधिकारीमा पराजितलाई मनोनित गरेका थिए ।

त्यतिबेला मनोनित हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सुजाता कोइराला, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेल कांग्रेसबाट अलग भएका थिए ।

दोस्रो चरणमा देउवाले १८ पुस २०७८ मा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई मनोनित गरे ।

तेस्रो चरणमा देउवाले ३१ साउन २०७९ मा देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा गरी १० जना महिलालार्इी केन्द्रीय सदस्य मनोनित गरे ।

चौथो चरणमा देउवाले २२ वैशाख २०८० मा महामन्त्रीमा पराजित डा मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाएका थिए । पाँचौ चरणमा ४ असोज २०८० मा उपसभापतिमा पराजित चन्द्र भण्डारी, सहमहामन्त्रीमा पराजित मानबहादुर विश्वकर्मा, गण्डकीको सभापतिमा पराजित अर्जुनप्रसाद जोशी, लुम्बिनीको सभापतिमा पराजित भरतकुमार शाह, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल,  शारदा पौडेल र अनिलकुमार रुंगटालाई केन्द्रीय सदस्य बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?