+
+

आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ७:११

११ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल रथयात्रा नजर गर्ने काम राजाहरुबाट हुने गर्दथ्यो ।

इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो ।

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

जात्रा अन्तर्गत असोज १० गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ ।

इन्द्र जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?