+
+

कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि कति हुन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ७:०८

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाएको छ । कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा भए पनि विधानमा व्यवस्था नभएकाले महासमिति बैठक नै गर्न लागेको हो ।

विधानतः महाधिवेशन भएको वर्ष बाहेकका वर्षमा महासमिति बैठक बोलाउनुपर्ने हुन्छ । कांग्रेसमा महाधिवेशन पछिको शक्तिशाली निकाय कांग्रेसका लागि महासमिति बैठक हो । महासमिति बैठकले नेतृत्व चयन बाहेकका सबै कार्य गर्नसक्नेछ । महासमिति सदस्य महाधिवेशनकै बेलामा चयन हुने व्यवस्था छ । तथापि, २५ जिल्लामा महासमितिका प्रतिनिधि चयन हुन सकेका भने छैनन् ।

कांग्रेसको विधान अनुसार महासमिति बैठकमा महाधिवेशनमा भन्दा झण्डै आधा प्रतिनिधि हुने व्यवस्था छ । महाधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्रबाट २५ जना प्रतिनिधि हुन्छन् । भने महासमिति बैठकका भने प्रतिनिधि सभा क्षेत्रबाट लागि ११ जना प्रतिनिधि छनोट हुन्छन् ।

प्रतिनिधि कहाँबाट कति ?

केन्द्रीय समितिका सबै सदस्य महासमिति समितिका प्रतिनिधि हुनेछन् । हालसम्म मनोनीत सहित गरेर १६६ जनाको समिति बनेको छ । दुई जना महिला केन्द्रीय सदस्य मनोनीत हुन बाँकी भएकाले केन्द्रीय समितिबाट १६६ जना महासमिति बैठकका प्रतिनिधि हुनेछन् ।

सभापतिलाई बढीमा १५ जना महासमिति प्रतिनिधि मनोनीत गर्ने अधिकार विधानले दिएको छ । सभापतिले मनोनीत गर्ने प्रतिनिधि महाधिवेशन प्रतिनिधिबाट छनोट गर्नुपर्ने हुन्छ ।

सभापतिले १५ जना प्रतिनिधि छनोट गर्दा समावेशितालाई ध्यान पुर्‍याउनुपर्ने हुन्छ । ‘मनोनीत गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्र, तेस्रो लिङ्गी, अन्य पेसा व्यवसायमा रहेका विशिष्ट व्यक्ति एवं लोकतन्त्रको स्थापना र पुर्नस्थापनाको आन्दोलनमा सहभागी भएका व्यक्तिमध्येबाट प्राथमिकता दिनुपर्नेछ’, विधानको व्यवस्थामा भनिएको छ ।

अघिल्लो कार्यसमितिमा रहेका तर यसपटक नभएकाहरु एकपकटका लागि महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था छ । भ्रातृ संघ एवं शुभेच्छुक संस्थामा प्रत्येकबाट तीन जना महासमिति प्रतिनिधि हुन्छन् ।

भ्रातृ संस्था १३ र शुभेच्छुक संस्था २६ वटा छन् । ती संस्थामा केन्द्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिबाट निर्वाचित तिन जना महासमिति प्रतिनिधि हुने विधानको व्यवस्था छ । तर, भ्रातृ संस्था कुनैले पनि महाधिवेशन गर्न सकेका छैनन् । २६ शुभेच्छुक संस्थामा सीमितले मात्रै अधिवेशन गर्न सकेका छन् ।

विदेशस्थित कांग्रेसको संगठन जनसम्पर्क समितिबाट पनि महासमिति बैठकमा प्रतिनिधि सहभागी हुने व्यवस्था छ । ३७ देशमा कांग्रेसको जनसम्पर्क समिति छन् । तर, सबै देशबाट बराबर प्रतिनिधि सहभागी भने हुँदैनन् ।

५ सय क्रियाशील सदस्य पुगेको देशबाट ३ जना महासमिति प्रतिनिधि हुनेछन् । ५०० भन्दा कम क्रियाशील सदस्य भएको देशबाट जनसम्पर्क समितिको अध्यक्ष मात्र महासमिति प्रतिनिधि हुने व्यवस्था छ ।

१६५ निर्वाचन क्षेत्र, केन्द्रीय समिति, निवर्तमान केन्द्रीय सदस्य, सभापतिबाट मनोनीत, भ्रातृ/शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट गरि २३ सय बढी महासमिति प्रतिनिधि हुनेछन् ।

महासमितिका लागि जिम्मेवारी बाँडफाँट

महासमिति बैठकको तयारीका लागि चार तयारी समिति बनाइएको छ । सभापति देउवाको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ ।

उक्त समितिमा आमन्त्रित सदस्य, प्रदेश सभापति एवं उपत्यकाका तीनै जिल्लाका सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष पनि छन् ।

महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयारीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । खड्का नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक समेत रहेकाले उक्त जिम्मेवारी उनले पाएका हुन् । खड्का संयोजक रहेको नीति प्रस्ताव तयारी समितिमा केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता समेत छन् ।

महासमिति बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी महामन्त्री गगन थापाले पाएका छन् । समसामयिक राजनीतिक प्रस्ताव अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?