+
+

‘स्पार्क एड्भेञ्चर’मा सहभागी शैलुङ प्रस्थान, आजको बसाइ टेन्ट क्याम्पमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १६:१७

११ असोज, काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर-२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो ।

सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय क्षेत्र समेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौं, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौ‌’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने ।

प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारप्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्ध–प्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ ।

शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली बिहीबार साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ ।

चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ’वाइल्ड स्टे विथ चौंरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायत कलाकार सहभागी छन् ।

कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार ११ देखि १३ असोजसम्म हुने तीनदिने कार्यक्रममा लोक गायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा. रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।

कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ ।

यस किसिमको सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेञ्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौंरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?