+
+

अन्तरिक्षमा ३ सय ७१ दिन बिताएर फर्किए तीन अन्तरिक्षयात्री, बन्यो नयाँ किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १८:०९

११ असोज, काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३ सय ७१ दिन बिताएर दुई रुसी तथा एक अमेरिकी अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् ।

सोयुज एमएस २३ क्याप्सुल मार्फत् नासाका अन्तरिक्षयात्री फ्रांक रुबियो तथा रुसी अन्तरिक्षयात्री सर्गेई प्रोकोपियेभ र दिमित्री पेतेलिन पृथ्वीमा फर्किएका हुन् । उनीहरु चढेको क्याप्सुल सेप्टेम्बर २७ मा कजाकिस्तानको मरुभूमिमा सुरक्षित रुपमा अवतरण भएको हो ।

उनीहरुले स्पेस स्टेशनमा एक वर्षभन्दा धेरै समय बिताए, त्यो पनि लगातार । यसका अलावा उनीहरुले स्पेश स्टेशनमा रहँदा ५ हजार ९६३ पटक पृथ्वीको परिक्रमा गरे ।

यसैबीच रुबियोको नाममा लगातार सबैभन्दा धेरै समय अन्तरीक्षमा बिताउने अमेरिकी अन्तरीक्षयात्रीको रेकर्ड कायम भएको छ । उनले गत सेप्टेम्बर ११ मै यो किर्तिमान कायम गरेका हुन् ।

यसअघि अमेरिकी अन्तरीक्षयात्री मार्क वान्डे हेईले ३ सय ५५ दिनको रेकर्ड गतवर्ष बनाएका थिए । आफ्नो यात्रा मार्क वान्डेको भन्दा फरक नरहेको रुबियोले बताएका छन् ।

उसो त अन्तरिक्ष स्टेशनमा समय बिताउनका लागि कैयन् अन्तरिक्षयात्रीहरुले त्याग गरेका हुन्छन् । उनीहरु आफ्नो परिवार तथा आफ्ना मान्छेहरुबाट टाढा रहन्छन् । अत्यधिक खतरा तथा अनिश्चितता रहेको ठाउँमा गएर त्यतिधेरै समय बिताउनु वास्तवमै सजिलो हुँदैन ।

रुबियोसँगै पृथ्वीमा फर्किएका रुसी अन्तरिक्षयात्री सर्गेई प्रोकोपियेभ र दिमित्री पेतेलिन पनि अन्तरीक्षमा एक वर्षभन्दा धेरै समय बिताउने छैटौँ तथा सातौँ अन्तरीक्षयात्री बनेका छन् । यसअघि सोभियत संघका सर्गेई अभदिभ, मूसा मानारोभ, भ्लादमिर तितोभ तथा भेलरी पोलियाकोभले अन्तरिक्षमा ३ सय ६५ दिन बिताएका थिए । यद्यपि त्यो मीर स्पेश स्टेशनको युग थियो ।

भेलेरी पोलियाकोभको नाममा सबैभन्दा लामो समयसम्म अर्थात् ४ सय ३७ दिनसम्म अन्तरिक्षमा बिताउने व्यक्तिको रेकर्ड छ । त्यस्तै फ्रेन्क, प्रोकोपियेभ र पेतेलिनको नाममा ३ सय ७१ दिन अन्तरीक्ष स्टेशनमा बिताउने समान रेकर्ड बनेको छ । यो अन्तरिक्षमा कुनै अन्तरिक्षयात्रीले बिताएको तेश्रो लामो समय हो ।

युरोपेली स्पेस एजेन्सीका अन्तरिक्षयात्री एन्ड्रियास मोजेनसेनका अनुसार दिमित्री र सर्गेइले ६ पटक अन्तरीक्षमा हिँडडुल अर्थात् स्पेसवाक गरेका छन् । रुबियो भने तीनपटक स्पेसवाक गरे ।

गतवर्षको सेप्टेम्बरमा रुसी सोयुज यानमार्फत् रुबियो, दिमित्री र सर्गेई अन्तरिक्ष स्टेशनमा गएका थिए । उनीहरु ६ महिनामा पृथ्वीमा फर्किने योजना थियो । तर अन्तरिक्षमा रहेका फोहोरका टुक्राहरु क्याप्सुलमा ठक्कर खाएर क्षति पुगेसँगै उनीहरुले पृथ्वीमा फर्किनका लागि अर्को सोयुज क्याप्सुल कुर्नुपरेको थियो । उनीहरुलाई पृथ्वीमा फर्काउनका लागि गत फेब्रुअरीमा सोयूज एमएस २३ यान स्पेश स्टेशनमा पठाइएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?