+
+
Shares

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८६० नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण–पूर्व एशियाका अवैध अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
  • मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ७ सय ३३ जना कम्बोडियाबाट रहेको र ४९ जना अझै जेलमा रहेको बताउनुभयो ।
  • मन्त्रालयले स्क्यामिङ गिरोहको प्रलोभनमा नपर्न, जेल छुटाउने नाममा हुने ठगीबारे सचेत रहन र आधिकारिक जानकारीका लागि कन्सुलर सेवा विभागमा मात्र सम्पर्क गर्न आग्रह गरेको छ ।

८ साउन, काठमाडौं । दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्याण्डबाट रहेको जानकारी दिए ।

प्रवक्ता क्षेत्रीकाअनुसार कम्बोडियामा अझै ४९ जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन् । उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली राजदूतावासमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

उक्त क्षेत्रमा प्रतिवन्धित काममा जाने क्रम अझै नरोकिएको र प्रक्रिया पूरा भइसकेका केही व्यक्तिहरू समेत स्वदेश फर्कन अनिच्छुक देखिएकोप्रति मन्त्रालयले चासो व्यक्त गरेको छ । यस समस्यालाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले चार बुँदे आग्रह समेत जारी गरेको छ ।

स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरूको यथार्थ विवरणसहित कारबाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीहरूलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिहरूलाई तुरुन्त फर्कन आग्रह गरे ।

‘दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमावर्ती क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार तथा यस विषयमा जनचेतना अभिवृद्धिका लागि हामीले निरन्तर समन्वय र पहल जारी राखेका छौँ । हालसम्म ती स्क्यामिङ सेन्टरबाट ८६० जना नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ७३३ जना कम्बोडियाबाट, ११३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्यान्डबाट उद्धार भएका छन्,’ उनले भने ।

जेलबाट छुटाइदिने बहानामा रकम संकलन गर्ने गिरोह सक्रिय रहेको पाइएकाले त्यस्ता भ्रममा नपर्न र आधिकारिक जानकारीका लागि कन्सुलर सेवा विभागमा मात्र सम्पर्क गर्न मन्त्रालयले सचेत गराएको छ । कम्बोडिया लगायतका देशमा नेपालीहरूले भोग्नुपरेको गम्भीर अवस्थाबारे निरन्तर सचेतना फैलाउन आग्रह गरे ।

‘हाल कम्बोडियामा ४९ जना नेपाली कारागारमा रहेका छन् । उनीहरूका लागि आवश्यक कानुनी सहायता लगायतका विषयमा बैंककस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय अघि बढाइएको छ । उक्त क्षेत्रमा प्रतिबन्धित गतिविधिमा नेपालीहरू जाने क्रम अझै नरोकिएको तथा केही नेपालीहरूको स्वदेश फिर्ताका लागि आवश्यक प्रक्रिया पूरा भइसके पनि उहाँहरू नफर्किएको अवस्थालाई दृष्टिगत गर्दै हामी चारवटा विषयमा विशेष अनुरोध गर्न चाहन्छौं,’ उनले भने ।

पछिल्लो समय आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई दक्षिण–पूर्व एसियाका अवैध स्क्यामिङ सेन्टरहरूमा पुर्‍याउने र बन्धक बनाउने क्रम बढ्दो छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले निरन्तर समन्वय र उद्धारको पहल जारी राखेको प्रवक्ता क्षेत्रीले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?