+
+

दुई बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड

यज्ञ खत्री यज्ञ खत्री
२०८० असोज १३ गते १५:४४

१३ असोज, सुर्खेत । छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार विहानैदेखि अशान्त छ ।

वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा शनिबार विहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।

यरीचोकमा केन्द्रित आन्दोलनकारीहरु बजार बन्द गराउँदै हिँडिरहेका छन् । केही आन्दोलनकारीहरु मंगलगढी चोकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ ।

बजार क्षेत्रको सडक बन्द गराउँदा नागरिकले सास्ती भोगिरहेका छन् । दुर्घटनालगत्तै फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरुको माग छ ।

मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रशासनले आन्दोलन नियन्त्रणमा लिन नसक्दा आन्दोलकारी थप उग्र बनेका छन् ।

शनिबार नै वीरेन्द्रनगर नगरपालिका– ६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षका बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन पनि उग्र बन्दै गएको छ ।

घण्टाघर नजिकको उक्त होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु विद्यालमा तोडफोड र आगजानी गरेका छन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । घटनास्थलको मुचुल्का गरेर शव उठाउने काम भइहरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।

विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । सञ्चालक समितिका केही व्यक्तिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी थापाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दुबै घटनाको मृतक पक्षसँग छलफल भइरहेको बताए ।

‘दुबै घटनाका आफन्तहरुसँग छलफल भइहरेको छ । उहाँहरु सहमतिमा पनि आइसक्नुभएको छ । तर केही बाहिरका व्यक्तिहरु आन्दोलनमा घुसेर उग्र बनाउने काम भइरहेको छ’ प्रजिअ सापकोटाले भने, ‘हामीले आवश्यक प्रहरी फोर्स परिचालन गरेका छौं । आन्दोलनलाई शान्त पार्ने काम भइरहेका छन् ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?