+
+

बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:५४
१६ असोजमा गएका भूकम्पबाट भत्केका घर ।

१६ असोज, काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो ।

त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।

‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३-४ वटा परकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् ।’

केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको तथा बेलुकी ५ बजेर १९ मिनेट र  ५ बजेर ३८ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर आउँदैन, एकै दिन धेरै पटक भूकम्प गए पनि आफूहरुले जोखिम घट्यो बढ्यो केही भन्न नसक्ने उनले बताए ।

भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।

२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिको क्षेत्रमा छ ।

तिम्सिना भन्छन्, ‘आज एकै दिन धेरै पटक भूकम्प गयो भनेर मात्र हैन, अरु बेलामा पनि सुदूरपश्चिम भूकम्पको जोखिममा थियो र छ त्यसैले सावधानी त सधैं अपनाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?