+
+

एसियाडको एघारौं दिन ब्याडमिन्टनमा रशिला प्रिक्वाटरफाइनलमा

क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरियो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १६ गते १९:०१
फाइल तस्वीर

१६ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी हुँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

एसियाडको ११औं दिन नेपालका लागि रशिलाले मात्र खेल जितेकी हुन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् ।

जितपछि रशिला अन्तिम १६मा प्रवेश गरेकी छन् । उनले अब  चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् ।

महिला सिंगल्सकै अर्को खेलमा नेपालकी अनुमाया राई भने थाइल्याण्डकी पोर्नपावी चोचुवोङसँग २१-१०, २१-४ ले पराजित भइन् ।

मंगलबार चार स्पर्धामा प्रतिस्पर्धा गरेको बाँकी २ मा भने नेपाल पराजित भयो ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१, २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३, २१–७ को सेटमा हराए ।

क्रिकेटमा भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित एसियाडबाट बाहिरिएको छ । एक महिनाभित्र नेपालले भारतसँग दोस्रो पटक सिनियर लेभलमा क्रिकेट खेल्दा राम्रो प्रदर्शन गरे पनि जितका लागि पर्याप्त भएन ।

एक महिनाअघि श्रीलंकामा भएको एसिया कपमा नेपालले पहिलो पटक भारतसँग ओडीआई म्याच खेलेको थियो । जसमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै चर्चा कमाएको थियो ।

एसियाडमा नेपालले भारतसँग पहिलो पटक टी-२०आई खेलेको हो । रोहित शर्मा नेतृत्वको सिनियर टिम वान डे विश्वकपमा व्यस्त रहँदा भारतले रुतुराज गाएकवाडको कप्तानीमा युवा टोली एसियाडमा उतारेको थियो ।

नेपालका कप्तान रोहित पौडेलले फिल्डिङमा स्तर अनुसार प्रदर्शन गर्न नसकेको र १०-१५ रन बढी भएको बताए ।

प्रमुख प्रशिक्षक मोन्टी देसाईले एसियाडमा नेपालले ब्राण्डको क्रिकेट खेलेको, लगानी गरेको र क्रिकेट संस्कृति देखाएको भन्दै क्यारेक्टर बनाउने काम भएको बताए । उनले भारत विरुदध १०-१५ रन कममा रोक्न सकेको भए नतिजा फरक हुने सक्ने सम्भावना रहेको समेत बताए ।

कबड्डीमा नेपाल इरानसँग पराजित

कबड्डीमा नेपाल महिला टोली मंगलबार इरानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जिओसाना ग्वाली स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३-१९ ले पराजित भएको छ ।

पहिलो हाफमा नेपाल इरानसँग १९-११ ले पछि परेको थियो । तर दोस्रो हाफमा पछिल्लो एसियाडको स्वर्ण विजेता इरानले २४-८ को अग्रता बनाउँदै फराकिलो जित निकालेको हो ।

समूह बी मा नेपालले दुवै खेल खेलिसकेको छ । यसअघि सोमबार पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गरेको थियो ।

पहिलो पटक एसियाडमा सहभागि महिला कबड्डी टिमले डेब्यु खेलमै बंगलादेशलाई हराएर इतिहास रचिसकेको छ ।

अब यस समूहमा इरान र बंगलादेशबीच बुधबार खेल हुनेछ । उक्त खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ र कम्तीमा कास्य पदक पक्का गर्नेछ । कबड्डीमा सेमिफाइनल पुग्ने टिमले पनि पदक प्राप्त गर्नेछन् ।

भारोत्तोलन

भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन् ।

स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल भए । तेश्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । उनले १२५ केजी वजन उठाउन सकेनन् ।

क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै (१४५ केजी) वजन उचाल्न सफल भए । तेश्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् ।

१५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । जम्मामा पनि २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

 एथ्लेटिक्समा राजपुराको व्यक्तिगत उत्कृष्ट

एथ्लेटिक्सतर्फ मंगलबार नेपालका तीन खेलाडीले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा महिला ५ हजार मिटर दौडमा सरस्वती श्रेष्ठ र राजपुरा पछाई दौडिएकी थिइन् । राजपुराले निर्धारित दूरी १७ मिनेट ०५.३४ सेकेण्डमा पूरा गर्दा सन्तोषीले भने दौड पूरा गर्न सकिनन् ।

राजपुराको यो व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १७ मिनेट १०.०१ सेकेण्ड थियो ।

महिला ५ हजार मिटर दौडमा नेपालको राष्ट्रिय कीर्तिमान कान्छीमाया कोजुको नाममा छ । उनले सन् २०१० मा चीनकै ग्यान्झाउमा भएको १६औं एसियाड १६ मिनेट ४९.९८ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यस्तै महिला ८०० दौड नेपालकी फुलमती रानाले २ मिनेट २२.५९ सेकेण्डमा पूरा गरिन् । उनी आफ्नो हिटमा दौड पूरा गरेका ६ खेलाडीमा अन्तिममा रहिन् । पाकिस्तानी खेलाडी भने डिस्क्वालिफाई भएकी थिइन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?