+
+

काष्ठमण्डप पुनर्निर्माण समितिले महानगरलाई बुझायो कार्य सम्पन्न प्रतिवेदन, साँचो भने लिन मानेन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १९:३७

१६ असोज, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ ।

समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन सहित समितिका अध्यक्ष शाक्यले महानगरपालिकालाई काष्ठमण्डपको साँचो बुझ्न आग्रह गरेपनि महानगरले साँचो भने बुझ्न मानेन ।

अध्यक्ष शाक्यले साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु पर्ने बताएका थिए । काष्ठमण्डपलाई नियमित सञ्चालन र संरक्षण गर्न, खुला गर्नका लागि भौतिक रुपमा जिम्मेवारी स्वीकार गर्न आग्रह गरेपनि महानगरले कागजपत्र अध्ययन नगरी साँचो नबुझ्ने बताएको छ ।

‘निर्माण सम्बन्धी कागजपत्र नबुझी साँचो बुझेर हुँदैन । प्रतिवेदनमा थप स्पष्ट हुनु परे हामी थप काजगपत्र पनि माग्न सक्छौं, स्पष्ट भएपछि मात्रै महानगरले जिम्मेवारी लिन्छ,’ अधिकारीले भने ।

शाक्यको नेतृत्वमा गठित समितिले पुनर्निर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्यांकन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०७४/७५ देखि आव २०७९/८० सम्मको लेखा परीक्षण प्रतिवेदन, पूर्वाधार विश्लेषण प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् ।

यस्तै मूल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजा क्रम र अनुष्ठानको सूची, वाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ ।

शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ पुनर्निर्माणमा खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब ३६ लाख ८६ हजार रुपैयाँ बाँकी छ ।

काष्ठमण्डप खुला/बन्द गर्ने विषय छलफलले टुंगो लगाउने

समितिले दिएको प्रतिवेदन अध्ययनका लागि महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यको नेतृत्वलाई महानगरले फरवार्ड गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने बताए । यसपछि महानगरका प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । सोही छलफलले काष्ठमण्डप खुला गर्ने/नगर्ने विषयमा टुंगो लाग्ने छ ।

२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुनर्निर्माणका लागि १८ वैशाख २०७५ मा जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो ।

२४ जेठ २०७५ मा बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । यसको ४ दिनपछि अर्थात २९ जेठमा महानगरपालिका र समिति बीच पुनर्निर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गर्दै महानगरपालिकाले समितिलाई २७ असोज ०७५ मा ५ करोड रुपैयाँ, ९ माघ ०७६ मा ५ करोड रुपैयाँ र १६ असार ०७८ १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । काष्ठमण्डप पुनर्निर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?