+
+

फुटपाथ व्यवसायीमाथि नगर प्रहरीको हातपात !

विकास रोकामगर विकास रोकामगर
२०८० असोज १६ गते १९:४८

१६ असोज, पोखरा । डोकोमा स्याउ, केरा बोकेर पृथ्वीचोक, बसपार्क क्षेत्रमा व्यापार गर्दै आएकी अस्मिता सुनारसँग काठमाडौंमा रहेका आफन्तले स्याउ मगाएका थिए । नजिकै रहेको मण्डीबाट करिब ६ हजार रुपैयाँको स्याउको कार्टुन बोकेर बसपार्क आउँदै थिइन् ।

कार्टुन खोलिएको पनि थिएन । उनी काठमाडौं जाने बस पर्खिंदै थिइन् । त्यतिकैमा केही नगर प्रहरी आएर स्याउले भरिएको उनको कार्टुन खोस्न थाले । उनी प्रतिकारमा उत्रिइन् । तर, नगर प्रहरी मान्ने पक्षमा थिएनन्, लछारपछार गर्दै स्याउको कार्टुन खोसिछाडे ।

यो सोमबार साँझ ४ बजेतिर पोखरा पृथ्वीचोकमा देखिएको दृश्य हो । फुटपाथ व्यवसायी र नगरप्रहरीबीच भनाभन चर्किएपछि एकैछिनमा ठूलो भीड जम्मा भयो । त्यसपछि बल्ल नगर प्रहरी हच्किएका थिए ।

मंगलबार उनै सुनार सहित सामान खोसिएका सडक व्यवसायीहरूले महानगर अगाडि धर्ना दिएका थिए । उनीहरूले पुरुष नगर प्रहरीले सामान खोस्ने नाममा हातपात गर्ने र अनावश्यक दुःख दिएको भन्दै गुनासो गरे ।

‘मैले बेच्न राखेकी होइन, काठमाडौं पठाउनको लागि किनेको हो भन्दा सुनेनन् । ममाथि हातपात गरे, लुगा सबै च्यातिदिए’ च्यातिएकै लुगा सहित मंगलबार महानगर अगाडि सुनार भन्दै थिइन्, ‘हातमा पनि चोट लागेको छ । अब यसको पैसा कसले तिरिदिन्छ ? हामीमाथि जसले पनि हातपात गर्न पाउने हो ?’

‘सामान खोस्ने नाममा हातपातमै उत्रिने, लुगै च्यातिदिने अधिकार उनीहरूलाई कसले दियो ?’ फुटपाथ व्यवसायी अनिता गुरुङले भनिन्, ‘दिनदहाडै हात हाल्न आएपछि हामी त असुरक्षित पनि भयौं !’

पोखरा महानगरले अहिले ४८ जना नयाँ नगर प्रहरी भर्ना गरेको छ । उनीहरूलाई ४५ दिनको तालिमपछि असोज पहिलो हप्तादेखि जिम्मेवारीमा खटाइएको छ । केही दिनअघि न्युरोडमा फुटपाथ छोडेर पार्किङ गरिएका सवारी साधन समेत हटाउन थालेपछि सवारी धनी र नगर प्रहरीबीच चर्काचर्की समेत भएको थियो ।

सोमबार पनि जिम्मेवारीमा खटिएका तिनै नयाँ नगर प्रहरीले खोल्दै नखोलिएको कार्टुन खोसेपछि विवाद चर्किएको प्रत्यक्षदर्शी बताउँछन् । ‘उहाँ डोकोमा बोकेर व्यापार नगर्ने होइन, गर्नुहुन्थ्यो । तर, हिजो ४/५ जना नगर प्रहरी आएर बेच्दै नबेचेको फलफूल पनि खोसिदिए, उहाँको हात पनि काटियो’, प्रत्यक्षदर्शी नारायण थापा मगरले भने ।

फुटपाथ व्यवसायीले सडकमा दिनभर डुलेर व्यापार गर्न मन नभएको तर, महानगरले नै व्यवस्था गरिदिनुपर्ने माग राखेका छन् । ‘बिहान–बेलुका हाम्रो छाक नै यहींबाट टर्ने हो । कति नै पो नाफा हुन्छ र ?’ अनिता गुरुङले भनिन्, ‘एकदिन सामान बिकेन भने भोकै बस्नुपर्ने स्थिति छ । कि व्यापार गर्न दिनुप¥यो कि महानगरले नै व्यवस्थापन गरिदिनुपर्‍यो ।’

सडक व्यवसायीहरू महानगरमा जम्मा भएको बेला भने नगर प्रहरीको भ्यान पार्किङ निषेधित क्षेत्रमै पार्किङमा थियो । आउजाउलाई समस्या भएको भन्दै महानगरले एटीएम भएको सानो कोठा भत्काएर नयाँ पर्खाल बनाएको छ ।
स्पष्ट ‘नो पार्किङ’ लेखिएको ठाउँमै पार्किङ भइराखेको नगर प्रहरीकै भ्यान देखाउँदै उनीहरूले पहिले नियम आफूबाटै लागू गर्नुपर्ने बताए ।

अटेरी गरेपछि सामान जफत गरिएको हो, हातपात होइन : नगर प्रहरी प्रमुख

पोखरा महानगरपालिकाका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले सोमबार पृथ्वीचोकमा फुटपाथ खाली गराउने क्रममा केही सामान जफत गरिए पनि हातपात नभएको दावी गरे । उनले सडकमा व्यापार नगर्न अनुरोध गर्दा पनि अटेरी गरेको आरोप लगाए ।

‘हामीले सुरुमा राम्रोसँग अनुरोध गरेका थियौं । तर, उहाँहरूले नै मान्नुभएन । त्यसपछि हाम्रा महिला प्रहरी साथीहरूले सामान तान्नुभएको हो, त्यतिबेला तानातान भएको हो’ थापाले भने, ‘तर पुरुष नगर प्रहरीले तानेको, हातपात भएको भन्ने सत्य होइन ।’

नगर प्रहरी प्रमुख थापाले ती महिलाले आफैं आफ्नो लुगा च्यातेको दावी गरे । ‘महिला नगर प्रहरीले सामान तान्न नसकेपछि केही पुरुष साथीहरू जानुभएको हो । तर, लुगा च्यातेको भन्ने होइन’ उनले अनलाइनखबरसँग भने, ‘उहाँले आफ्नो लुगा आफैं च्यातेर आउनुभएको हो ।’

पोखरा महानगरले पोखराका कुनै पनि ठाउँमा सडक व्यापार गर्न वर्जित गरेको छ । तत्कालीन उपमहानगरले २०७१ सालबाटै फुटपाथ व्यवसाय हटाउन सुरु गरेको थियो । अघिल्ला आर्थिक वर्षमा महानगरले सडक व्यवसायीलाई जरिवाना गर्दै आए पनि चालु आर्थिक वर्षदेखि सामान जफत गर्ने नीति ल्याएको हो ।

महानगरको चालु आर्थिक ऐन अनुसार कार्टुन, डोको, मोटरसाइकल, साइकलमा व्यापार गरेको तेस्रो पटक पनि पक्राउ परे सामान जफत हुनसक्ने व्यवस्था गरेको छ । महानगरको १३औं नगरसभाले पारित गरेको नयाँ आर्थिक ऐन अनुसार निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना सहित सामान जफत गर्न सक्ने व्यवस्था गरेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?