+
+

विश्वकप क्रिकेटका २० तथ्य, जुन नम्बर त्यही सत्य

सन् १९७५ बाट सुरुआत भएको विश्वकप क्रिकेटमा २०२३ सम्म आइपुग्दा धेरै रेकर्डहरु बनेका छन् । तीनै मध्येका २० रेकर्डलाई आज हामीले नम्बर अनुसारको सत्यमा जम्मा गरेका छौं ।

किशोर पोखरेल किशोर पोखरेल
२०८० असोज १७ गते ७:४३

नम्बर एक (१) अर्थात पहिलो नम्बर

विश्वकप क्रिकेटको पहिलो संस्करण सन् १९७५ मा इंग्ल्याण्डमा भएको थियो जसको उपाधि पहिलो पटक वेष्ट इण्डिजले जितेको थियो ।

नम्बर दुई (२)

विश्वकप क्रिकेट १९७९ को दोस्रो संस्करणमा विश्वकप इतिहासकै सबैभन्दा थोरै शतक बनेका थिए । यस बिश्वकपमा जम्मा दुईवटा मात्र शतक बनेका थिए । प्रतियोगिताभर वेष्ट इण्डिजका सर गोर्डन ग्रिनिज र सर भिभियन रिचर्ड्सले मात्र शतक बनाएका थिए । अझ रमाइलो कुरा त के छ भनेगोर्डन ग्रिनिजले भारतविरुद्धको उद्घाटन खेलमा र भिभियन रिचर्ड्सले इंग्ल्याण्डविरुद्धको फाइनल खेलमा शतक बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा भने कुनै पनि खेलाडीले शतक बनाउन सकेनन् ।

श्रीलंकाका लसिथ मलिङ्गाले विश्वकप क्रिकेटमा सबैभन्दा धेरै दुई पटक ह्याट्रिक विकेट लिएका छन् । उनले सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिका र सन् २०११ को विश्वकपमा केन्याबिरुद्ध उनले लगातार ३ बलमा ३ विकेट लिएका थिए ।

विश्वकप क्रिकेटमा विश्वविजेता राष्ट्रलाई प्रदान गरिने ट्रफीको उचाइ दुई फिटको छ ।

नम्बर तीन (३)

विश्वकप क्रिकेट २००३ मा श्रीलंका र बंगलादेशको खेलमा ओपनिङ्ग बलिङ्ग गरेका श्रीलंकाका चामिण्डा भासले पहिलो तीन बलमा तीन विकेट लिएका थिए । उनले बंगलादेशी ब्याट्सम्यानहरु हनन सरकार, मोहम्मद अश्रफुल र इशानुल हकलाई पहिलो तीन बलमा शून्यमै पभेलियन फर्काइदिएका थिए ।

विश्वकप क्रिकेटको ४८ वर्षको इतिहासमा कुनै पनि इनिङ्गको पहिलो तीन बलमा तीन विकेट गएको यो एउटा मात्र  घटना हो । उक्त ओभरमा भासले ४ विकेट हात पारेका थिए । उनले सोही ओभरको पाँचौ बलमा अर्का ब्याट्सम्यान सन्वर हुसेनलाई चार रनमै पेभेलिएनको बाटो देखाइदिएका थिए ।

नम्बर चार (४)

सन् २००७ को विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाका लसिथ मलिंगाले चार बलमा लगातार चार विकेट लिँदै विश्व कीर्तिमान राखेका थिए । उनले उक्त सफलता हात पार्ने क्रममा दक्षिण अफ्रिकी ब्याट्सम्यानहरु सन पोलक, एन्ड्र्यु हल, ज्याक्स कालिस र मखाया एन्टिनिलाई आउट गरेका थिए । खेल भने दक्षिण अफ्रिकाले एक विकेटले जितेको थियो ।

श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुमारा सांगकाराले सन् २०१५ को विश्वकपमा चार म्याचमा लगातार चारवटा शतक प्रहार गरेर दुर्लभ कीर्तिमान कायम गरेका थिए । उनले बंगलादेशविरुद्ध अविजित १०५, इंग्ल्याण्डविरुद्ध अविजित ११७, अष्ट्रेलियाविरुद्ध १०४ र स्कटल्याण्डविरुद्ध १२४ रन प्रहार गरेका थिए । विश्वकप इतिहासमा लगातार चार खेलमा चार शतक बनाउने संगाकारा एक्ला खेलाडी हुन् ।

नम्बर पाँच (५)

67746

विश्वकप क्रिकेटको इतिहासमा अष्ट्रेलियाले सबैभन्दा धेरै पाँच पटक उपाधि जितेको छ । उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरी पाँच पटक उपाधि उचालेको हो ।

नम्बर छ (६)

विश्वकप क्रिकेटको इतिहासमा अहिलेसम्म ६ वटा राष्ट्रले मात्र उपाधि जितेका छन् । पूर्वविश्व विजेता इंग्ल्याण्डसहित अष्ट्रेलिया, वेष्ट इण्डिज, भारत, पाकिस्तान र श्रीलंकाले मात्र उपाधि उचालेका छन् ।

दक्षिण अफ्रिकाका हर्षल गिब्सले विश्वकप क्रिकेट इतिहासमा ६ बलमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका छन् । सन् २००७ को विश्वकपमा  नेदरल्याण्ड्सबिरुद्धको खेलमा उनले स्पिनर डानभान बुंगेलाई ६ छक्का हिर्काएका थिए ।

नम्बर सात (७)

विश्वकप क्रिकेटको इतिहासमा  अहिलेसम्म सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र अष्ट्रेलिया हो । अष्ट्रेलियाले सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ गरि सातवटा विश्वकपको फाइनल खेलेको छ ।

नम्बर आठ (८)

सन् १९७५, १९७९, १९८३ र १९८७ मा भएको पहिलो चारवटा विश्वकपमा आठ राष्ट्रहरुले मात्र सहभागिता जनाएका थिए ।

नम्बर नौ (९)

विश्वकप क्रिकेटमा भारतका सचिन तेन्दुलकर सबैभन्दा धेरै नौ पटक म्यान अफ द म्याच बनेका छन् । आफूले खेलेका ४५ खेलमध्य नौ खेलमा उनी सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

नम्बर दश (१०)

२०१९ को गत विश्वकपसम्मको नतिजा हेर्दा अहिलेसम्म दशजना कप्तानहरुले विश्वकपको उपाधि जितेका छन् । वेष्ट इण्डिजका क्लिभ लायोड, भारतका कपिल देव र महेन्द्रसिंह धोनी, पाकिस्तानका इमरान खान, श्रीलंकाका अर्जुन रणतुंगा, इंग्ल्याण्डका इयोन मोर्गन र अष्ट्रेलियाका एलन बोर्डर, स्टीभ वाग, रिकी पोन्टिङ्ग र माइकल क्लार्क गरि दश जना कप्तानले आफ्नो राष्ट्रलाई विश्वकप जिताएका छन् ।

नम्बर एघार (११)

अष्ट्रेलियाका ब्रेट लीले केन्याविरुद्ध ह्याट्रिक गरेपछि

विश्वकप क्रिकेट २००३ मा दुईवटा ह्याट्रिक भएका थिए । पहिलो ह्याट्रिक श्रीलंकाका चामिण्डा भासले बङ्ग्लादेशविरुद्ध लिएका थिए भने दोस्रो ह्याट्रिक अष्ट्रेलियाका ब्रेट लीले केन्याविरुद्ध लिएका थिए । चामिण्डा भासले ह्याट्रिक लिएको एघार दिनपछि विश्वकपमा ब्रेट लीले अर्को ह्याट्रिक थपिदिएका थिए ।

नम्बर बाह्र (१२)

क्रिकेट खेलको सुरुवात भएको देश इंग्ल्याण्डले विश्वकप क्रिकेट जित्न १२ वटा संस्करण कुर्नु परेको थियो । सबैभन्दा धेरै पटक विश्वकप आयोजना गरेको इंग्ल्याण्डले २०१९ को बाह्रौं संस्करणमा पहिलो पटक उपाधि जितेको थियो  ।

नम्बर तेह्र (१३)

आगामी बिहीबारदेखि भारतमा सुरु हुन लागेको विश्वकप क्रिकेट-२०२३, विश्वकप क्रिकेटको तेह्रौं संस्करण हो । सन् १९७५ बाट सुरु भएको विश्वकप क्रिकेटको २०२३ सम्म आइपुग्दा तेह्रौंसंस्करण सुरु हुन लागेको हो ।

नम्बर चौध (१४)

विश्वकप क्रिकेटमा अहिलेसम्म चौधवटा राष्ट्रका बलरहरुले ६४ पटक पाँच विकेट हात पारेका छन् । हाल टेष्ट मान्यता प्राप्त  राष्ट्रहरुबाट अफगानिस्तान र आयरल्याण्डका कुनै पनि बलरले अहिलेसम्म एकै खेलमा पाँच विकेट हात पार्न सकेका छैनन् भने एसोसियट राष्ट्रहरुबाट यूएई, नामिबिया, क्यानडा र केन्याका बलरले उक्त सफलता हात पारेका छन् ।

नम्बर पन्ध्र (१५)

भारतका सचिन तेन्दुलकर विश्वकप क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी हुन् । उनले आफूले खेलेका ६ वटा विश्वकपमा १५ अर्धशतक बनाएका छन् ।

विश्वकप क्रिकेटको १३ औं संस्करणसम्म आइपुग्दा पन्ध्रवटा राष्ट्रहरुले विश्वकपको आयोजना गरेका छन् ।

नम्बर सोह्र (१६)

विश्वकप क्रिकेट २००७ मा विश्वकप क्रिकेट इतिहासकै सबैभन्दा धेरै राष्ट्रहरु सहभागी थिए । वेष्ट इण्डिजमा सम्पन्न यस विश्वकपमा सोह्र राष्ट्रहरुको सहभागिता थियो ।

नम्बर सत्र (१७)

सन् २०१९ को विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले १७ वटा छक्का प्रहार गरेका थिए । यो विश्वकप क्रिकेट इतिहासमा कुनै पनि खेलाडीले एकै इनिङ्गमा प्रहार गरेको सर्वाधिक छक्का हो । उक्त खेलमा मोर्गनले ७१ बलमा १४८ रन बनाएका थिए ।

नम्बर अठार (१८)

सन् २०१५ को विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्धको खेलमा न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकुलमले १८ बलमा अर्धशतक प्रहार गरेका थिए । विश्वकप क्रिकेटको इतिहासमा यो सबैभन्दा थोरै बलमा बनाइएको अर्धशतक हो ।

नम्बर उन्नाइस (१९)

विश्वकप क्रिकेटको इतिहासमा अहिलेसम्म उन्नाईसजना ब्याट्सम्यानले १५० रन भन्दा बढीको पारी खेलेका छन् । विश्वकप क्रिकेटको एकै इनिङ्गमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान न्यूजिल्याण्डका मार्टिन गुप्तिलले राखेका छन् । उनले सन् २०१५ को विश्वकपमा वेष्ट इण्डिजबिरुद्धको खेलमा २३७ रन बनाएका थिए ।

नम्बर बीस (२०)

विश्वकप क्रिकेटमा अहिलेसम्म बीसवटा राष्ट्रहरुले कम्तीमा पनि एकपटक सहभागीता जनाएका छन् । विश्वकपमा सहभागी हुने सबैभन्दा कान्छो राष्ट्र अफगानिस्तान हो जसले २०१५ मा पहिलोपटक विश्वकप खेलेको थियो ।

(लेखक सिन्धुली एकेडेमीका विज्ञान शिक्षक हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?