+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो : वाणिज्य विभाग

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज १७ गते १८:४०

१७ असोज, काठमाडौं । बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।

चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी उद्योगहरुले दाबी गरेका छन् । बजारमा चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो ।

विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगी सकेको जानकारी उद्योगहरुले दिएका छन्,’ स्रोतले भन्यो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।

‘कोकाकोलालाई उच्च गुणस्तरको चिनी चाहिने भएकाले सिजनको सुरुमै उसलाई चाहिने परिमाणको चिनी अर्डर गर्छ, त्यसबापत बैंक ग्यारेन्टीमार्फत भुक्तानी गरेको हुन्छ,’ उनले भने, ‘यो विषयमा हामीले वाणिज्य विभागलाई पनि जानकारी गराएका छौं ।’

विभागले नै कोकोकोलासँग कुरा गरेर चिनी बजारमा पठाउनेबारे छलफल गर्ने बताएको जानकारी पनि उनले दिए ।

सरकारले भारतसँग जीटूजी (सरकार–सरकार)मा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभाग स्रोतले बतायो ।

असार अन्तिम होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको हो ।

होलसेल तथा खुद्रा व्यापारीहरुकाअनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् । ‘बिल माग्दा चिनी नपाइने गरेको भन्दै यसमा केही न केही बदमासी रहेको देखिन्छ,’ एक होलसेल व्यवसायीले भने, ‘चिनी नबेचौं भने ग्राहक आउँदैनन् । बेचौं वितरकले बिलबिना नै लैजाऊ भन्छन् । हामी समस्यामा परेका छौं ।’

वाणिज्य मन्त्रालयले भने भारतबाट जीटूजीको चिनी ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सरकारले कूटनीतिक च्यानलबाट प्रयास गरिरहेको प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले बताए । ‘चिनी अभाव भएकै हो, आयातका लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको छ,’ उनले भने । हाल काठमाडौ‌ं र पोखरा आसपासका क्षेत्रमा चिनी अभाव भएको उनले बताए । ‘१५ हजार मेट्रिक टन थप चिनी भयो भने अहिलेको माग धान्न सकिन्छ,’ उनले भने ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?