+
+

गगन थापाको अपिल : सामाजिक सञ्जालमा सद्भाव बिगार्ने पोस्ट नगरौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १६:३७

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् ।

हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक आस्था फरक फरक भएपनि सबैमा मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता रहेको थापाले उल्लेख गरेका छन् ।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’

समाजमा सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

पढ्नुहोस थापाले सामाजिक सञ्जालमा राखेको धारणा :

विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र हो । आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ। यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।

हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो – मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व ।

विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ । त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु ।

साथै समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु ।

यसै गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न सरकारसँग आग्रह गर्दछु ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु ।

यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?