+
+

भोजपुरी गायक सुनिल पण्डित र रुस्लानको सहकार्यमा रक गीत ‘लाल लाल लेहेंगा’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १७:१४

काठमाडौं । रुस्लान स्टुडियोले चर्चित भोजपुरी गायक सुनिल पण्डितलाई अब रक अवतारमा प्रस्तुत गर्ने भएको छ । स्टुडियोले विज्ञप्ति जारी गर्दै भोजपुरी गीतका हिट गायकसँगको सहकार्यमा रक गीत ल्याउने जनाएको हो ।

कलाकारको मौलिक गीतलाई भिन्न स्वरुप दिंदै सिर्जना प्रवर्द्धन गर्ने उद्देश्य रहेको स्टुडियोले उल्लेख गरेको छ । गत भदौ ६ गते रुस्लान स्टुडियोको घोषणा गर्दै संस्थाले २५ भन्दा बढी गीतलाई नयाँ शैलीमा सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

सुनिल पण्डितको कुरा गर्दा उनी भोजपुरी गीतमा लोकप्रिय भएकाले सहकार्य गरिएको रुस्लानका मार्केटिङ अफिसर आयुष शाहले बताए ।

मुलुकका सबै भाषा, संस्कृति र जाति-समुदायलाई संगीतमार्फत प्रतिविम्बित गर्ने उद्देश्य स्टुडियोको रहेको उनले जनाए । ‘सुनिल पण्डितको गीत ‘लाल लाल लेहेंगा’ एक सांगीतिक फ्युजन हो जसले स्टुडियोको सांगीतिक विविधतालाई दर्शाउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘मधेशी कलाकारले पाएको यो मायालाई म कहिल्यै भुल्दिनँ,’ एक भिडियो सन्देशमा गायक पण्डितले भनेका छन्, ‘हरेक मान्छेलाई युनिक चीज चाहिन्छ जसलाई रुस्लान स्टुडियोले दिएको छ । यो गीत भोजपुरी क्षेत्र र बिहारतिर गुञ्जिनेभन्दा भिन्न छ ।’

उक्त सन्देशमा पण्डितले दुई दशकअघि शम्भुजीत बास्कोटा संगीतमा आफूले गाएको गीत बिहार र भोजपुरी क्षेत्रमा हिट भएको सम्झिएका छन् । नेपाली गीत ‘आमा मलाई त्यही केटी चाहिन्छ’ र कोमल वली र प्रेमराजा महतले गाएको ‘बाँझो खेतमा’लाई पनि आफूले भोजपुरी भाषामा कभर बनाएको उनले स्मरण गरेका छन् ।

रुस्लान स्टुडियोको थालनी चाहिं सुशान्त केसीको गीतमार्फत भएको थियो । यसबाहेक द एक्स ब्याण्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, कुटुम्ब, एकदेव लिम्बू, समीर श्रेष्ठ, झुमा लिम्बू, द एलिमेन्ट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्याण्ड, व्योमा, मनिष गन्धर्व, दिवस गुरुङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द्र, केन्जलमेहर श्रेष्ठ र एएसएमको प्रस्तुति रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?