+
+

कोशीमा नेताहरुको एकैस्वर : मध्यावधि रोक्न सहकार्य गरौं

हरि अधिकारी हरि अधिकारी
२०८० असोज १७ गते २१:१५

१७ असोज, विराटनगर । कोशी प्रदेशसभा बैठकमा दलका नेताहरुले मध्यावधि चुनाव रोक्न मिल्नुको विकल्प नभएको धारणा राखेका छन् ।

बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले सरकार निर्माण गर्न नसकेर प्रदेशसभा स्वतः विघटनमा गई मध्यावधि निर्वाचन हुन सक्ने खतरा रहेको भन्दै आपसमा मिल्नुपर्ने धारणा राखेका हुन् ।

संविधानको धारा १६८ को ३ अनुसार हाल प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् ।

उनले विश्वासको मत नपाए पदमुक्त हुनेछन् र फेरि अर्को सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ । त्यसपछि संविधानको धारा १६८ (५) अनुसार सरकार गठन हुँदा प्रदेशसभाको कुनै पनि सदस्यले बहुमत पु¥याउने विश्वास दिलाएमा मुख्यमन्त्री नियुक्त हुन सक्छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकातिर छन् भने नेकपा एमाले अर्कोतिर छ । पछिल्लो समय राप्रपाले दुबै पक्षलाई समर्थन नरहने बताउँदै आएको छ । यस्तो अवस्थामा प्रदेशसभामा कुनै पनि पक्षले बहुमत सिद्ध गर्न नसक्दा पटक पटक सरकार गठन र विघटन भइरहेको छ ।

बुधबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्ने बताए । ‘उपधारा ५ अनुसार सरकार बन्न सकेन भने मध्यवधि रोकेर रोक्न सकिन्न, अहिले मध्यावधिमा जान सक्ने अवस्था छैन, दलहरु पनि तयार छैनन्’ उनले भने ।

प्रदेशसभामा दलहरु म्युजिकल चेयरको खेलमा व्यस्त भएजस्तो देखिएको उनले बताए । ‘कोशी प्रदेशमा अहिले हामी म्युजिकल चेयर खेल्न मात्रै व्यस्त भयौं’, थापाले भने, ‘जम्माजम्मी हामीले प्रदेशको नाम राख्यौं, बाँकी समय म्युजिकल चेयर खेल्नमा ब्यस्त भयौं ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलहरु मिलेर मात्रै अहिलेको अवस्थाबाट निकास निस्कने बताए ।

‘हामीबीच प्राप्त जनादेशलाई प्रयोग गर्दै आउँदा यहासम्म आइपुगेका छौं, हामी सबै चाहन्छौं यो प्रदेशसभा संकटमा नजाओस्, अप्ठ्यारोमा नजाओस्, सबैको साझा चाहाना छ’, उनले भने, ‘तर हामीबीचमा त्यो खालको समझदारी बनेन् भने त संविधानले जे व्यवस्था गरेको छ, त्यो व्यवस्थाबाट कोही पनि भाग्न मिल्दैन ।’

दलहरु एकतावद्ध भएर समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘हामीले उदार भएर ठूलो छाती बनाएर अघि बढ्नुपर्छ’, उनले भने, ‘हामी सबै जिम्मेवार ढंगले अघि बढ्ने हो भने प्रदेशलाई हामी साझा ढंगबाट निकास दिन सक्छौं ।’

नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले दलहरुले मिलेर जानुपर्ने बताए । ‘संसदको भूमिकाका विषयमा सरकारको कामको सन्दर्भमा मिल्नसक्ने जति मिलेर जानुपर्छ’, उनले भने, ‘हामी सरकार गठनकै विषयमा जात्रा गरिरहेका छौं ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको संकट टार्नका लागि मिलेर अघि बढ्नुपर्ने बताए । ‘कोशी प्रदेशमा दलहरुले नयाँ ढंगको सहमतिका निम्ती आधार तयार गर्नुपर्ने बाध्यतालाई हामीले बुझ्न पर्छ’, उनले भने, ‘संघीय सरकारका लागि निर्माण भएको गठबन्धनको जस्ताको तस्तै अंकगणित भएको भए फरक कुरा हुन्थ्यो, यहाँको फरक अंकगणित प्रति एमाले पनि गम्भीर छ ।’

नयाँ विधि तयार गरेर सहमति गरी अघि बढ्नुपर्ने उनले बताए । ‘प्रदेशमा मापदण्डमा आधारित उपयुक्त विधि तयार गरौं, त्यो विधिमा टेकेर एमाले सरकार सञ्चालनका निम्ति तयार छ’, उनले भने, ‘हामी एक्लै पाँच वर्ष सरकार चलाउ भन्ने व्यवहार देखाएका छैनौं ।’ उनले एमाले मिलेर अघि बढ्न तयार रहेको बताए ।

प्रदेश सरकारको फेरबदलले प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्न थालेको राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले बताए । उनले अहिलेको समस्याबाट निकासका लागि मिलेर जानुको विकल्प नभएको बताए । उनले दलहरु सहकार्य गरेर अघि नबढे प्रदेशको विकास निर्माण रोकिने बताए । ‘अब बसौं छलफल गरौं र निकास दिन लाग्नुपर्छ’, उनले भने, ‘राजनीतिक ढंगबाट निकास दिनुपर्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?