+
+

तीन हजार लगानीमा सुरु भएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असोज १८ गते १६:५१

काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् ।

दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि पढ्न पुगिन् । कोलकाताकै एउटा बुटिकमा डेढ वर्ष काम पनि गरिन् । त्यसैबेला सुरु भएको कोरोना महामारीका कारण भारत ओहोरदोहोर गर्न समस्या भयो । त्यसैले उनले नेपाल फर्किने र नेपालमा नै केही गर्ने सोच बनाइन् ।

नेपाल फर्केर उनले फेसनमै केही गर्छु भन्ने सोच त बनाइन् । तर कसरी, कति लगानीमा सुरु गर्ने भन्ने टुंगोमा पुग्न सकिरहेकी थिइनन् ।

अनि तीन हजारको लगानीमा सुरु भयो रेसा

कोरोना महामारीका कारण लकडाउन लगाइएपछि रेशाले धेरै लगानी गरेर व्यवसाय गर्ने आँट गर्न सकिनन् । तर केही नगरी बस्न पनि उनलाई मन लागेन । फेसनमा रुचि भएको र आफ्नो लागि कपडा आफैं डिजाइन गर्ने भएकोले घरबाटै कपडाको उत्पादन सुरु गर्ने निर्णय गरिन् ।

सुरुमा तीन हजार रुपैयाँको कच्चा पदार्थ ल्याएर चारवटा कपडा तयार पारिन् । त्यो कपडालाई इन्स्टाग्राममा बिक्रीको लागि राखिन् । उनले बिक्रीको लागि राखेको कपडा आफन्तले नै किनेर लगे र एकदमै राम्रो भएको प्रतिक्रिया दिए । उनीहरूबाट राम्रो प्रतिक्रिया आएपछि उनको हिम्मत बढ्यो ।

राम्रो कच्चा पदार्थको प्रयोग गरेर राम्रो डिजाइनमा कपडा उत्पादन गर्न सके धेरैले रुचाउने रहेछन् भन्ने कुरा उनलाई थाहा भयो । त्यसैले राम्रो गुणस्तरको कपडा खोज्न उनी आफैं बजार डुल्न थालिन् । उनको नाम नै ‘रेशा’ जुन फेसनसँग नै सम्बन्धित छ । रेशाबाट नै कपडा बन्छ त्यसैले उनले कपडाको ब्रान्डको नाम आफ्नै नामबाट राखिन् ‘रेशा’ ।

रेशामा बच्चा, महिला, पुरुष र वृद्ध वृद्धा सबैको लागि आकर्षक लुगाहरू पाइन्छ । वानपिस, कुर्था, टिसर्ट, सर्ट, प्यान्ट लगायत विभिन्न डिजाइनको लुगा रेशामा पाइन्छ । साथै आफ्नो रुचिअनुसार र साइज अनुसार कपडा कस्टुमाइज पनि गर्न मिल्ने रेशा बताउँछिन् ।

नयाँ कपडा तयार भएपछि उनी आफैं त्यो कपडा लगाउँछिन् । उनलाई चित्त बुझेपछि मात्र बिक्रीका लागि राख्छिन् । राम्रो गुणस्तरको आकर्षक कपडा र सस्तो मूल्य नै रेशाको विशेषता हो । त्यसैले छोटो अवधिमा नै रेशाले धेरैको मन जितेको छ । राम्रो गुणस्तरको कपडा उत्पादन गर्न सक्यो भने घरबाट सुरु भएको सानो व्यवसायले पनि सफलता प्राप्त गर्न सक्छ भन्ने उदाहरण बनेको छ ‘रेशा’ ।

अहिले झापा मात्र होइन, नेपालका प्राय: सबै ठाउँबाट कपडाको अर्डर आउँछ । साथै पछिल्लो समय अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीहरूबाट पनि अर्डर आउन थालेको रेशा बताउँछिन् ।

भारतको तुलनामा कच्चा पदार्थ नै कम पाउने र पैसा धेरै पर्ने भएकोले पनि सुरुमा व्यवसाय अघि बढाउन गाह्रो भयो । साथै सुरुका दिनमा उद्योगको प्रचारप्रसार हुन नसकेकाले बिक्री गर्न गाह्रो भएको उनको अनुभव छ । तैपनि कति हार नमानी व्यवसाय भने सञ्चालन गर्दै गएको रेशा सुनाउँछिन् ।

‘रेशा’ सुरु भएको डेढ वर्ष मात्र हुँदैछ । पहिले दैनिक एउटा कपडाको अर्डर आउन पनि गाह्रो हुने उनलाई अहिले दैनिक चारदेखि पाँचवटा कपडाको अर्डर आउँछ । तीन हजारबाट सुरु भएको रेशाले अहिले मासिक दुई लाख रुपैयाँको कारोबार गर्छ ।

रेशामा ६०० देखि तीन हजार रुपैयाँसम्मका कपडा पाइन्छन् । डिजाइनर लुगा सस्तो मूल्यमा पाइने भएकाले पनि धेरैले मन पराएको हुन सक्ने रेशा बताउँछिन् ।

‘अहिले धेरै युवा नेपालमा केही गर्न सकिंदैन भनेर अवसरको खोजीमा बिदेशिने क्रम बढ्दो छ । यस्तोमा आफूले थोरै लगानीमा रेशा सुरु गरेर मेहनत गरे नेपालमा नै अवसर छ भन्ने कुरा बुझेको छु,’ उनी भन्छिन् ।

घरबाट कपडा उत्पादन गरेर अनलाइन प्लेटफर्महरुमार्फत कपडा बेचिरहेको रेशाले छिट्टै स्टोर खोल्दैछ । ‘रेशा’ले कपडासँगै मिल्ने कपडाको टोट ब्याग र जुत्ता पनि उत्पादन गर्ने सोच रहेको रेशा सुनाउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?