+
+

उमेर ढल्किए पनि राजेश हमालले शाहरुख र टम क्रुज शैलीको ‘कमब्याक’ किन नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १८:०१

काठमाडौं । भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ हेरेपछि फेसबुकमा एक अर्थपूर्ण स्टाटस पोस्ट गरे । उनको उक्त पोस्टले अभिनेता राजेश हमालको करिअरबारे प्रश्न गर्छ ।

उनी लेख्छन्, ‘जवान हेरेपछि मनमा लागेको कुरा महानायक राजेश हमालले पनि आफूलाई यसरी नै ‘रिलन्च’ हान्ने कि ? पूरै चलचित्र हेर्दासम्म यही लागिरह्यो । हामीले पनि राजेश हमाललाई लिएर यस्तै चलचित्र किन नबनाउने ? कति सधैं एउटै कलाकार एउटै जोडीलाई मात्र हेरिरहनु ?’

पौडेलको यो अभिव्यक्ति पछिल्ला केही वर्षदेखि समीक्षकले भन्दै आएका कुरा हुन् । तीन दशकसम्म नेपाली फिल्मलाई काँधमा हालेर हिंडेका हमालप्रति यो प्रश्न तेर्सिनु किन पनि सान्दर्भिक छ भने झण्डै हमालकै उमेरका बलिउड अभिनेता शाहरुख खानले एकपछि अर्को हिट फिल्ममार्फत भारतीय फिल्मलाई लयमा फर्काएका छन् ।

शाहरुखका पठान र जवान ब्लकबस्टर बने । ‘डंकी’ अर्को प्रतीक्षित फिल्म हो । ६१ वर्षे हलिउड अभिनेता टम क्रुजले अभिनय गरेको गत वर्षको फिल्म ‘टपगन माभेरिक’ले विश्वव्यापी एक बिलियन डलरभन्दा बढी कमाउँदै कोभिडको कारण थलिएको हलिउडलाई जीवन प्रदान गरे । शाहरुख र टम क्रुजको उमेर राजेश हमालकै हाराहारीमा छ । यी दुई विदेशी अभिनेताको व्यस्तता यो उमेरसम्म पनि कायमै छ ।

तर अभिनेता हमाल भने पछिल्लो समय विदेश दौडाहा र म्युजिक भिडियोमै रमाएको देख्न सकिन्छ । केही महिनाको अमेरिका भ्रमणबाट फर्किएका हमाल यतिबेला बेलायत पुगेका छन् । नेपालमा रहँदा उनी प्रायः म्युजिक भिडियोमै व्यस्त हुन्छन् । देवेन्द्र पाण्डे र कृष्ण बीकेका म्युजिक भिडियोमा उनी प्रायः देखिन्छन् ।

तीजका केही गीतमा समेत उनले काम गरे । तर उनको नामले पनि भिडियो चलेनन् । शाहरुख र टम क्रुजजस्तै हमाललाई लन्च गर्ने हो भने उनको कमब्याक जबर्जस्त हुने धेरैको आँकलन छ । तर हमाललाई फिल्मप्रति त्यति रुचि देखिंदैन । आफैंले फिल्म निर्देशन गर्ने कुरा पनि यतिबेला मौनप्रायः छ । बरु उनी राजनीतिमा लाग्ने संकेतका अन्तर्वार्ता दिइरहेका छन् ।

के राजेश हमाल दर्शकले आशा राखेजस्तो कमब्याकका लागि तयार छन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?