
१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा उनले आफूले मंगलबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए ।
‘हिजो मैले पार्लियामेन्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपिनसक्नुभयो । के गरौं, के गरौं भनेर चिथोरौं झैं लाग्यो । तर भन्ने के भन्दा गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा’, ओलीले भने ।
एमालेको बिरोध गर्न गिरिबन्धु टी इस्टेटको कुरा गरे पनि त्यसको छानबिन गरेर देखाउन उनले चुनौती दिए ।
‘खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैं खोल, आफैं जाऊ । हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौं । त्यो बाटो कहिल्यै समाएनौं’ उनले भने ।
एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै आफूहरु पाँच वटा सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी नभएको टिप्पणी गरे ।
‘पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग ।त्यसको जवाफमा गिरीबन्धु टी इस्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल’, उनले भने ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्ने प्रयास भए पनि सत्तारुढ गठबन्धनकै नेता मुछिएपछि घटना सेलाएको दाबी गरे ।
प्रतिक्रिया 4