+
+

‘जसले गर्दा मेरो जीवन तहसनहस भयो, उसैले आममाफी पायो’

जसका कारण मेरो जीवन तहसनहस भयो, क्षतिपूर्ति वा केही रकमले मेरो जिन्दगी पहिलेको अवस्थामा फर्केर आउँछ र ? अनि त्यस्तो मान्छेलाई पनि राष्ट्रपतिले आममाफी दिन मिल्छ ?

भारती शेर्पा (मानन्धर) भारती शेर्पा (मानन्धर)
२०८० असोज १९ गते २०:२१

मेरो श्रीमान्माथि २८ असार, २०७२ मा नेपालगञ्जको सडकमा एकाएक खुँडा प्रहार भयो । रिगल ढकालले उहाँलाई घाँटीमै ताकेर प्रहार गरेको थियो, उहाँले हातले छेक्नुभयो । जसले गर्दा हात करिब–करिब चुँडिने अवस्थामा पुग्यो ।

त्यसपछि पनि उनीहरूले उहाँलाई छाडेनन् । उनीहरूले लखेटेपछि चुँडिन लागेको हात झुण्ड्याउँदै रगतको धारा बगाउँदै उहाँ भाग्नुभएछ । पछि बाटोमै ढल्नुभयो, त्यसपछि उनीहरू बाटोमै खुँडा फालेर भागेछन् । प्रहरीले घटनास्थल वरपरबाट ४ वटा खुँडा भेट्टाएको रहेछ ।

त्यो आतंकमा सबै भागाभाग भए, कसैले पनि उहाँलाई तत्काल अस्पताल लैजाने हिम्मत गरेनन् । पछि कसोकसो वरपरका केही मान्छेहरू जम्मा भएर ट्याम्पोमा राखेर अस्पताल लगे । घटनापछि एक जना छिमेकी आएर ‘रिगलले दाइलाई खुँडा हानेको छ’ भनेर बतायो । म बाहिर निस्किएर हेरें । टोल पूरै सुनसान थियो ।

एक जना छिमेकीको सहयोगले म अस्पताल गएँ, त्यहाँ आतंक र कोलाहल चलेको थियो । भित्र जाँदा उहाँको हातको घाउ र रगतको आहाल देखेर म बेहोश भएछु । डाक्टरहरूले उहाँको अवस्था नाजुक छ, तत्काल काठमाडौं लैजानुपर्छ भन्ने सल्लाह दिएछन् । पछि म होशमा आउँदा थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको रहेछ ।

अस्पताल बाहिर निकाल्दासम्म उहाँ होशमै हुनुहुन्थ्यो । मेरो हात समाउनुभयो, बोल्न सक्नुभएन । नेपालगञ्जमा प्लेनबाट उपचारका लागि काठमाडौं ल्याउने तयारी गर्दागर्दै उहाँको निधन भयो । छिनालिएको भागबाट अत्यधिक रगत बगेकाले बेलैमा उपचार नपाउँदा उहाँको ज्यान बचेन ।

त्यो दिन घरबाट निस्कनुअघि उहाँले ‘रिगल दाइले बोलाएको छ, एकछिन गएर आउँछु’ भनेर निस्कनुभएको थियो । तर उनीहरूले केटाहरू जम्मा गरेर, खुँडा तयार गरेर मार्ने योजनाका साथ मेरो श्रीमान्लाई बोलाएका रहेछन् ।

त्यतिबेला नेपालगञ्जमा हाम्रो पसल थियो । उनीहरूले गुण्डागर्दी गर्दै विभिन्न समूहसँग रकम उठाउने गर्दा रहेछन् । त्यही विवादमा चेतन मानन्धर (मेरो पति)माथि रिसइबी लिई यसलाई मार्नुपर्छ भनी आफ्नो समूहमा मानिसहरू जम्मा गरेका रहेछन् । नजिकैको होटलमा बसेर पहिलेदेखि योजना बनाई घेरा हालेर सांघातिक आक्रमण गरेका थिए । घटनापछि रिगल ढकाल भाग्यो, सायद ऊ भारततिर लुक्यो । त्यसपछि प्रहरीले ऊ सहित १३ जना विरुद्ध मुद्दा चलायो ।

नेपालगञ्जमा मेरो पतिमाथि त्यस्तो घटना हुनुभन्दा पहिले प्रहरीले चरी भन्ने दिनेश अधिकारीलाई काठमाडौंको भीमढुंगामा इन्काउन्टर गरिसकेको थियो । मेरो पतिको हत्याको केही महिनापछि कुमार श्रेष्ठ ‘घैंटे’ माथि ३ भदौमा सामाखुसीमा अर्को इन्काउन्टर भयो ।

प्रहरीले सबै गुण्डाहरूलाई इन्काउन्टर गर्दैछ भन्ने व्यापक हल्ला चल्यो । फरार रहेको ऊ डराएको हुनुपर्छ, घैंटेको इन्काउन्टरको चार दिनपछि २०७२ भदौ ७ गते अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्यो । प्रहरीले आफूलाई पनि इन्काउन्टर गरेर सिध्याउँछ भन्ने डरले मात्रै ऊ अदालत आएर हाजिर भएको हो ।

अदालतमा मुद्दा गएपछि उसका मान्छेहरू मेरो घरमा आए । उसको बाबु नै आएर ‘पैसा दिन्छौं, आफ्नो बिजनेस गर्नु, छोराको भविष्य छ, हेर्नु’ भनेको थियो । मेरो हराभरायुक्त जिन्दगी नै मसँग छैन भनें त्यो सम्पत्ति लगेर मैले के गर्नु ?
जसका कारण मेरो जीवन तहसनहस भयो, क्षतिपूर्ति वा केही रकमले मेरो जिन्दगी पहिलेको अवस्थामा फर्केर आउँछ र ? उसले दिएको क्षतिपूर्तिले म त्यो घटना बिर्सन सक्छु र ? उसले अपराध गरेर कमाएको रकम मैले लिने ? उनीहरूको प्रस्ताव मलाई स्वीकार्य थिएन ।

अदालतले उसलाई सर्वस्वसहित जन्मकैद गर्यो, उच्च अदालतले पनि त्यही फैसला गर्यो । सर्वोच्च अदालतमा मुद्दा हालेको उसले पछि जित्न सक्दिनँ भनेर मुद्दा नै फिर्ता लियो । त्यस्तो मान्छेलाई पनि राष्ट्रपतिले आममाफी दिन मिल्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएपछि मेरो पतिको परिवार पूरै डरत्रासमा छन् । सरकार लागेर राष्ट्रपतिले नै छाडिदिएपछि हामीले के गर्न सकिन्छ र ? ऊ यहींको मान्छे हो, भोलि के कसो हुने हो भनेर डराएर बस्नुभएको छ । फेरि निस्किने बेलामा फूलमाला र र्‍याली सहित कांग्रेसका कार्यकर्ताले जेलमा गएर स्वागत गरेपछि झनै डर हुने भइहाल्यो । त्यही डरत्रासले मेरो परिवार र नातेदार अगाडि आउन सक्नुभएको छैन ।

घटना भएका बेला मेरो साथमा तीन वर्षको छोरा थियो, अहिले ११ वर्षको भयो । म पागल जस्तो भएर यो अवधि बिताएँ, डिप्रेसनबाट गुज्रिएँ । यो अवधिमा धेरै साथी र शुभचिन्तकको हौसला र सहयोगले यहाँसम्म आएकी हुँ । एकाएक राष्ट्रपतिको निर्णयले मलाई विचलित बनायो । मलाई अब रिगल र उसको समूहसँग कुनै डर छैन । म न्यायका लागि लड्छु भनेर काठमाडौं आएकी हुँ ।

अब त राष्ट्रपतिलाई पनि आफूले गरेको गल्तीको महसुस भएको होला । श्रीमान्को हत्यारालाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णय गलत भएकाले त्यसलाई उल्ट्याउनुपर्छ भनेर मैले सर्वोच्च अदालतमा मुद्दा हालेकी छु । आशा छ, मैले अदालतबाट न्याय पाउनेछु ।

राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्छ भनेर माइतीघरमण्डलमा अनशन बस्ने भएकी हुँ । मलाई न्याय नदिंदासम्म मैले अनशन छाड्दिनँ । अरू पीडितहरूले पनि मैले जस्तै अन्याय भोग्नु नपरोस् भनेर यो कदम उठाएको हो ।

यतिका वर्ष हत्यारा ठहर भएको मान्छे कैदमा हुँदा मैले सबैथोक सहेर, झेलेर बसेकी थिएँ । श्रीमान्लाई झैं मलाई पनि उसले माइतीघरमण्डलमै आएर आक्रमण गर्छ भने गरोस्, म डराउँदिनँ । न्यायका लागि लड्छु ।

(माइतीघरमण्डलमा अनशन थाल्नुअघि भारतीसँग गरिएको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?