+
+

२४ घन्टादेखि थुनिएको किम्रोङ खोला विस्तारै खुल्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १३:२७

२१ असोज, काठमाडौं । करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ ।

लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् ।

खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो । अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको जानकारी दिए ।

‘म आफैं किम्रोङको थुनिएको ठाउँ पुगेर आएँ । ठूलै ताल बनेको छ । त्यो एकैचोटि खुलेको भए तलका बस्तीलाई ठूलै क्षति पुर्‍याउँथ्यो,’ अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भने, ‘तर अहिले विस्तारैविस्तारै आफैं खुल्दै गएको छ ।’

लामो समय रोकिएको खोलामा पानी बग्न थालेपछि किम्रोङ मिसएको मोदी खोलामा बहाव बढेको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘मोदी खोलामा बहाव त बढेको छ । तर, किम्रोङबाट विस्तारै पानी खुल्ने क्रममा रहेकाले त्यस्तो ठूलो असर नगर्ला !’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?