+
+

‘प्रसाद २’ विवादमा ओएसआरले भन्यो- अघिल्ला दुई निर्मातासँग सम्झौता गरी डिजिटल अधिकार लिएका हौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १२:५६

काठमाडौं । डिजिटल कम्पनी ओएसआरले ‘प्रसाद २’ का अघिल्ला दुई फिल्म निर्मातासँग सम्झौता गरी डिजिटल प्रसारण अधिकार लिएको जनाएको छ । फिल्मलाई लिएर भइरहेको पछिल्लो विवादमा कम्पनीले विज्ञप्तिमार्फत औपचारिक प्रतिक्रिया दिएको हो ।

२०७६ चैत ९ गते सुभाष थापा प्रोडक्सनसँग करार र त्यसपछि सुलभ थापा प्रोडक्सनसँग पुरक सम्झौता गरेर डिजिटल प्रसारण अधिकार लिएको कम्पनीले जनाएको छ । ‘यो परिस्थितिमा हाल आएर नयाँ कम्पनीले जाहेरी दर्ता गराएको अवस्था छ,’ ओएसआरले विज्ञप्तिमा भनेको छ ।

फिल्मका नयाँ निर्माताद्धय सुदर्शन बस्नेत र ज्याक श्रेष्ठको उजुरीका आधारमा प्रहरीमा शुक्रबार ओएसआर सञ्चालक ओमप्रकाश अग्रवाललाई पक्राउ गरेको थियो । बोलाएको बेला उपस्थित हुने हाजिर जमानीको सर्तमा आइतबार बेलुका अग्रवाल हिरासतमुक्त भएका छन् ।

आफूहरुको मञ्जुरीबिना देश तथा विदेशमा फिल्मको प्रसारण गरी एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै बस्नेत र श्रेष्ठले ओएसआर सञ्चालक अग्रवाल, निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । जसअनुसार थापा र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

पछिल्लो विवादमा ओएसआरले भनेको छ, ‘उक्त जाहेरीका विषयमा प्रहरीबाट अनुसन्धान हुँदै गरेको अवस्था छ भने पछि न्यायालयबाट अन्तिम टुंगो लगाई न्याय मिल्ने कुरामा हामी विश्वस्त छौं ।’

‘प्रसाद २’ फिल्मका निर्माता सुभाष थापाविरुद्ध अर्का निर्माता केशव पाण्डेले मुद्दा हालेपछि उनी यतिबेला फरार छन् । उनी अष्ट्रेलियामा रहँदै आएको बताइन्छ । पाण्डेको उजुरीमा प्रहरीले थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसकारण निर्माताको अनुपस्थितिमै फिल्म रिलिज भएको थियो ।

पाण्डे फिल्मबाट बाहिरिएपछि नयाँ निर्माताको रुपमा सुदर्शन बस्नेत भित्रिएका हुन् । बस्नेतले निर्माताको रुपमा फिल्मको पुरानो हिसाबकिताब खोजेपछि विवाद उत्पन्न भएको हो । निर्माताबीचको लेनदेनको चेपुवामा डिजिटल कम्पनी परेको देखिन्छ । डिजिटल राइट्स खरिदको सम्झौता गरी करार बमोजिम रकम भुक्तानी गरेको ओएसआरले बताइसकेको छ ।

यस विषयमा ओएसआरका सञ्चालक अग्रवालले तत्काल कुनै प्रतिक्रिया दिन चाहेनन् । अदालतमा मुद्दा विचाराधीन भएकाले केही दिन आफूले यसबारे नबोल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?