+
+
दीपेन्द्र के खनालसँग संवाद :

‘फिल्म चल्न आफ्नो कथा हुनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १४:५७

काठमाडौं । हालैको एक दिउँसो दीपेन्द्र के खनाल हतारोमा थिए । फिल्मको काम सक्नुपर्ने चटारोबीच उनी हामीसँग गफिए । हाँडीगाउँस्थित स्टुडियोमा दीपेन्द्रको आगामी फिल्म ‘भष्मे डन’को सम्पादन भइरहेको छ । यसबाहेक चित्त नबुझेका दृश्यलाई पुनः खिच्ने उनको तयारी छ । जोखिम लिने र चित्त नबुझेसम्म पटक–पटक फिल्म खिच्ने उनको पुरानै शैली हो । ‘धर्मा’मा राजेश हमालको कपाल काटिदिएर दीपेन्द्रले यो ‘एक्स्पेरिमेन्ट’को थालनी गरे ।

यतिबेला दीपेन्द्रले ‘भष्मे डन’मा ध्वनिमा केही नयाँ गर्दैछन् । सात वर्षपछि ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला दर्शकमाझ आउँदैछ । ५६ दिन लगाएर पशुपतिमा खिचिएको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ पनि छ । किनभने पशुपति प्रसादले घरेलु फिल्मको चरित्र चित्रणमा भुईंमान्छे र उनीहरुको सपनालाई स्थापित गरिदिएको थियो । प्रस्तुत छ यही मेसोमा दीपेन्द्रसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

चलेको ब्राण्ड र चलेका कलाकारबाहेक फिल्ममा अन्य ‘अपिलिङ फ्याक्टर’ के छन् ?

‘पशुपतिप्रसाद २’ को दर्शकलाई आकर्षण गर्ने र मन छुने विशेषता भनेको यसको कथा हो । जसरी ‘पशुपतिप्रसाद’मा कथा सुन्दर थियो । यसपालि पनि त्यो कथा सुन्दर रुपमा आउँछ । मुख्य रुपमा दर्शकलाई अपिलिङ गर्ने भनेको कथा नै हो ।

सिक्वेल बनाउनुपर्ने कारण ?

हामीले जहाँ ‘पशुपतिप्रसाद’लाई छाडेका थियौं, त्यो अपुरो ठाउँमा थियो । नायकको मृत्यु भइसकेपछि खलपात्रको रुपान्तरण हुन खोज्या हो कि जस्तो ठाउँमा हामीले छाडेका थियौं । एउटा इमोसनमा छाडेका थियौं । अब उसको जीवन के हो त ? ऊ को हो ? उसले त्यसपछि के गर्‍यो भन्ने कुरा चाहिं यसमा आउने हो ।

भष्मे डनलाई सकारात्मक चरित्रमा ढाल्ने कुरामा कस्तो प्रयास भएको छ ?

जुनसुकै व्यक्तिमा पनि सकारात्मक र नकारात्मक भन्ने कुरा हुन्छ । त्यो व्यक्तिमा त्यसको पर्सेन्टेज कति हुन्छ भन्ने कुरा मात्रै हो । कोही मान्छे कुनै समय खराब देखिन्छ भने त्यो मान्छे कुनै समय राम्रो पनि हुन सक्छ । भष्मे पनि यस्तो राम्रो पात्र हो जसबारे पशुपतिप्रसादमा उसबारे त्यति खोतलिएको छैन । ऊ कहाँबाट आयो, किन आयो भन्ने साना सूचना छन् । तर उसको जीवन के हो र उसको पहिचान के हो भन्ने पूर्ण छैन । अब चाहिं ऊ को हो ? ऊ के हुन खोज्दैछ ? भन्ने कुरा यसमा देखिन्छ ।

त्यो मितिमा अरु विदेशी फिल्म पनि आउँदैछन्, भष्मे डनले ओपनिङ कस्तो गर्ला ? अनि अन्तर्राष्ट्रिय बजारमा कस्तो रेस्पोन्स छ ?

ट्रेलर नआउँदै विदेशी बजारमा ओपनिङ राम्रो भइसकेको छ । शो निस्किएका छन् । भष्मे डनले गर्दा विदेशका हलमा दशैं लागिसकेको छ । नेपालमा पशुपतिप्रसादलाई लिएर दर्शकको जुन माया छ, टिजर र गीत संगीतको माहोल कस्तो छ, त्यसले ओपनिङ राम्रो हुनेछ भन्ने लाग्छ । विदेशी फिल्मको कुरा गर्दा दशैं हाम्रो आफ्नो चाड हो । नेपालीको चाडमा नेपाली फिल्म दर्शकको प्राथमिकतामा परेको देखिन्छ । हामी यसमा पनि ढुक्क छौं किनभने हाम्रो आफ्नो चाड छ । हेर्न लायकको फिल्म लिएर हामी आउँदैछौं । दर्शकले पनि कुरिरहनुभएको फिल्म छ । यसले पक्कै पनि विदेशी फिल्मले असर गर्छ भन्ने कुरामा हामी चिन्तित छैनौं ।

पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई तान्न सकेको देखिदैन । कसरी दर्शक तान्ने ?

हामीले भष्मे डनमा ध्वनिमा बृहत काम गरेका छौं । पैसा खर्च गरेका छौं । साउण्डमा काम गर्नेले योगदान दिनुभएको छ । इन्कोड मात्र तीनपटक गरिसक्यौं । हलमा तीनपटक फिल्म हेरिसक्यौं । हरेक पटक इन्कोड गर्दा ७५ हजार खर्च हुन्छ र पैसा खर्च हुन्छ । गुणस्तरको लागि यस्तो काम गरेका छौं । साउण्ड, सट् र मेकिङमा काम गरेका छौं । पशुपतिप्रसाद खिच्न १३ दिन लाग्यो भने भष्मे डन खिच्न ५६ दिन लाग्यो । प्रोडक्सन भ्यालुमा काम गरेका छौं । अहिले जुन–जुन नेपाली फिल्म चलेका छन्, त्यसको मुख्य तत्व भनेको आफ्नोपन, आफ्नो कथा । यसमा भष्मे डन अब्बल छ । अहिलेको सबै डेटा हेर्दा त्यही नै छ ।

तपाईंलाई ‘लार्जर द्यान लाइफ’भन्दा ‘हुमन’ फिल्ममा अभिरुचि किन ?

व्यक्तिगत स्वभावले पनि होला । म सादा जीवन बाँचिरहेको छु । तडकभडक छैन । फिल्ममा आउँदा जस्तो थिएँ, अहिले पनि त्यस्तै छु । अलिकति पनि चेन्ज छैन । मेरो नेचर पनि त्यस्तो होला । लाइफमा आउने सबै कुरा क्षणिक होला । अन्ततः मान्छेसँग हुने कुरा भनेको त्यही इमोसन, प्रेम, विछोड, संवेदना मात्र हो । यस्तो एउटा चरण आउने रहेछ, जहाँ जति धनी भए पनि पैसाको केही पनि महत्व हुँदो रहेनछ । पैसाको कामै हुँदो रहेनछ । त्यतिबेला त्यही इमोसन, मेमोरी काम लाग्ने रहेछ । म त्यसमै रमाउँछु होला । त्यसले गर्दा पनि पशुपतिप्रसादभित्र जति पात्र छन्, उनीहरुभित्र जीवन छ ।

पशुपतिप्रसादलाई भविष्यमा पनि श्रृंखलाको रुपमा अघि बढाउने योजना छ ?

कथाले पूर्णता पाउनुपर्‍यो । कथा कम्प्लिट भएमा बनाउनु हुँदैन । जस्तै पशुपतिप्रसादपछि सिक्वेल बनाउन हामीलाई बनाउन सात वर्ष लाग्यो । कथा कम्प्लिट थिएन र हामीले कथा खोजिरहेका थियौं । यसले गर्दा सात वर्षपछि आयो । पशुपतिप्रसाद २ मा कथा कति कम्प्लिट हुन्छ र दर्शकको प्रतिक्रिया कस्तो आउँछ, सोहीअनुसार निधो हुन्छ ।

यस पछाडिका प्रोजेक् के–के छन् ?

मेरा प्रोजेक्ट टन्नै छन् । ६ वटा जति प्रोजेक्ट निश्चित छन् । बेला आएपछि सार्वजनिक हुन्छ । तिहारपछि फिल्म मेयर सुटिङमा जान्छ । सर्लाहीको मेयरबारे फिल्म बन्नेछ । अहिले चाहिं फिल्म फेस्टिभलतिर त्यति दिमाग लगाएको छैन । बनाउँछु कुनै दिनमा । यस्तो फिल्म बनाउन आर्थिक रुपमा बलियो हुनुपर्छ । फन्ड खोज्दै हिंडेर, सबैलाई गुहारेर, अरुको आइडिया थोपरेर गर्न मन छैन । मसँग भएको पैसा जति हुन्छ, त्यो गुमाउँदा पनि फरक पर्दैन र नआउँदा पनि फरक पर्दैन भन्ने जतिबेला लाग्छ, त्यतिबेला म एउटा फिल्म अवश्य बनाउँछु । अहिले तुरुन्तै त्यता लाग्दिन । किनभने घरेलु बक्स अफिसमा नेपाली फिल्मको जरुरी छ ।

दर्शकलाई के भन्न चाहनुहुन्छ ?

यो भष्मे डन पात्रको कथा हो । पक्कै पनि यो पात्र आफैंमा मनोरञ्जक, रहस्यमय र डरलाग्दो छ । सबैको प्याकेज छ भष्मे डन । अर्को सरप्राइज प्याकेज भनेको सौगात मल्लको इन्ट्री हो । सौगात र विपिनको भिडन्त रोचक छ । आफ्नै चाडमा आफ्नै फिल्म हेरेर मनोरञ्जन लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?