+
+

विक्षिप्त प्रवेशको परिवार : सास गयो, लासको पर्खाइ

यज्ञ खत्री यज्ञ खत्री
२०८० असोज २३ गते ९:४७

२३ असोज, सुर्खेत । ‘बुवा-आमा ! अब तपाईंहरुले धेरै दुःख गर्नुपर्दैन । तपाईंको छोरा कमाउने भइसक्यो । दुःखका दिन अब गए’ भन्दै शारदा नगरपालिका-३, सल्यानका प्रवेश भण्डारीले इजरायलको यात्रा तय गरेका थिए ।

२४ वर्षीय प्रवेश सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । इजरायल जानु अघि उनले आमालाई सम्झाउँदै भनेका थिए, ‘मेरो केही पनि चिन्ता नलिनू, म छिट्टै आउँछु र नयाँ घर बनाएर तपाईंहरुलाई राख्छु ।’

यति भनेर २० भदौमा घरबाट हिँडेका उनी २६ गते इजरायल पुगेका थिए । त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारसँग नियमित सम्पर्कमा थिए । दिनहरु ठिकठाक चल्दै थिए । तर गत शनिबारदेखि उनीसँग परिवारका सदस्यको सम्पर्क टुट्यो । त्यहीबेला इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर संसारभर फैलियो । यो खबर परिवारका सदस्यले पनि थाहा पाए । इजरायलमा आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे । प्रवेशसँग सम्पर्कको कैयौं प्रयास भए तर सफल भएन ।

आइतबार इजरायलकै अर्को समाचार आयो- प्यालेस्टाइनी कट्टरपन्थी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भयो ।

मृतकको सूचीमा प्रवेशको नाम पनि थियो । समाचारबाट यो जानकारी पाएदेखि परिवारका सदस्यहरु विक्षिप्त रहेको प्रवेशकी सानिमा शोभा सेजुवालले बताइन् ।

इजरायलमा मृत्यु भएका प्रवेश ।

प्रवेशसहित सल्यानका तीनजना गरी ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए । कृषि विज्ञान संकायतर्फ बीएस्सी प्रथम ब्याचको अन्तिम सेमेस्टर अध्ययन गरेका उनीहरु ११ महिने इन्टर्नसिपका लागि २८ दिनअघि मात्रै इजरायल उडेका थिए ।

बुढेसकालको एक्लो सहारा प्रवेशको मृत्युको खबरले आमा चन्द्रिका छिनछिनमा भावविह्वल हुन्छिन् । आफूलाई सम्हाल्ने प्रयास गर्छिन्, तर सक्दिनन् । बुबा चक्र भण्डारी पनि पीडाको भारी बोकेर छोराको सास नभए पनि लासको पर्खाइमा छन् ।

‘इजरायल पुगेको पर्सिपल्टदेखि नै ऊ काममा लागेको थियो । उसको सबै राम्रै थियो,’ प्रवेशका बुबा चक्र भन्छन्, ‘मेरो छोरा त अब रहेन, सरकारले कुनै पहल गरेर उसको शव ल्याउन पहल गर्दिन्छ कि भन्ने आशा गरेको छु ।’

प्रवेशकी सानिमा शोभाका अनुसार अहिलेसम्म प्रवेशले पढेको कलेज र सरकारका कसैले पनि परिवारसँग सम्पर्क गरेका छैनन् ।

सान्त्वना दिन छरछिमेक र आफन्तहरु प्रवेशको घर आएका छन् । तर सान्त्वना दिने वाक्य फुट्दैन, मात्र आँसु झर्छ । प्रवेशको परिवार, नातागोता र छिमेकी मात्र होइन सिङ्गो सल्यान नै यतिबेला शोकमा छ ।

त्यही टोलीमा रहेका शारदा नगरपालिका-२, सल्यानकै विधान सेजवाल घाइते छन् । उनको त्यहाँको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनका खट्टामा चोट लागेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परेका सल्यानकै त्रिवेणी गाउँपालिका-१, का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?