+
+

एआईको चमत्कार, एक हप्ता अघि नै भूकम्पको भविष्यवाणी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:३०

काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स पछिल्लो एक वर्षदेखि चर्चामा छ । इन्टरनेट र स्मार्टफोनपछि एआई एउटा यस्तो अद्वितीय प्रविधि बनेको छ जसले विश्वका सबै आयाममा गहन प्रभाव पार्दैछ । हालै एक एआई टुलले एक हप्ता पहिले नै भूकम्पको सटिक पूर्वानुमान गरेर अर्को चमत्कार गरेको छ । उक्त एआई टुलको पछिल्लो ७ महिनादेखि चीनमा ट्रायल भैरहेको छ र त्यसले करीब ७० प्रतिशत सटिक पूर्वानुमान गरेको छ ।

युनिभर्सिटी अफ टेक्सासका अनुसार साप्ताहिक भूकम्प पूर्वानुमानमा एआईले २ सय माइल अर्थात् ३२० किलोमिटरको क्षेत्रमा १४ वटा भूकम्पको जानकारी सफलतापूर्वक दिएको छ । एआई टुलले ती भूकम्पको तीव्रताको पनि सटिक जानकारी दिएको थियो ।

यद्यपि सो एआई टुल अझैपनि पूर्ण बनिसकेको छैन । त्यसले एउटा भूकम्प कम्पनलाई पत्ता लगाउन सकेन भने ८ वटा गलत जानकारी दिएको थियो । सो एआई टुललाई रियल टाइम सेस्मिक डाटाको आधारमा स्टाटिक बम्प पत्ता लगाउनका लागि तालिम दिइएको छ । शोधकर्ताहरुका उक्त टुलले एउटा साधारण मेसिन लर्निङ विधिको पालना गर्दछ ।

उक्त शोध सेस्मोलोजी सोसाइटी अफ अमेरिकामा प्रकाशित भएको छ । सो एआई टुललाई भूकम्पको भौतिकीको आधारमा तथ्यांकीय फिचर्सको एउटा सेट दिइएको थियो र पछिल्लो पाँच वर्षको भूकम्पीय रेकर्डको डाटाबेसको आधारमा प्रशिक्षित गरियो । प्रशिक्षण पूरा भएपछि एआई टुलले पृथ्वीको गडगडाहट सुनेर निकट समयमा आउने भूकम्पको पूर्वानुमान गर्दछ ।

यद्यपि यो संयन्त्रले अन्य ठाउँमा पनि काम गर्छ वा गर्दैन भन्ने कुरा चाहिँ प्रष्ट छैन । अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकाको क्यालिफोर्निया तथा टेक्सासका साथै इटाली, जापान, ग्रीस, टर्की लगायतका सशक्त भूकम्प ट्र्याकिङ सञ्जाल रहेका ठाउँमा सो एआई टुलले राम्रोसँग काम गर्नेछ । एआईमा आधारित भूकम्प पूर्वानुमान प्रविधिको विकास एउटा ठूलो उपब्धिको रुपमा रहेको वैज्ञानिकहरुको भनाइ छ ।

टेक्सास विश्वविद्यालयस्थित ब्यूरो अफ इकोनोमिक जियोलोजीका प्राध्यापक सर्गेइ फोमेल भन्छन्– भूकम्पको पूर्वानुमान लगाउन सक्नु एउटा ठूलो उपलब्धि हो । हामी विश्वमा कहिँ पनि भूकम्पको पूूर्वानुमान लगाउने कुराको नजिक पुग्न सकेका थिएनौं । तर अहिले हामीले जुन सफलता हासिल गरेका छौं, त्यसबाट असम्भव ठानिएको समस्याको पनि समाधान गर्न सकिन्छ भन्ने देखिएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?