 
																			२३ असोज, काठमाडौं । पार्टी गठन भएको दुई वर्षपछि नेकपा एकीकृत समाजवादीका नेताहरू पहिलोपटक व्यवस्थित कार्यक्रम लिएर निस्किएका छन् ।
गएको १४ असोजमा झापाको काँकटभित्ताबाट सुरु भएको मेची–महाकाली अभियान अन्तर्गत एकीकृत समाजवादीका नेताहरू आज मंगलबार दाङको घोराही पुगेका छन् ।
१५ दिनसम्म चल्ने यो अभियानबाट एकीकृत समाजवादीले मूलतः दुई वटा उद्देश्य लिएको छ, पार्टीको एजेण्डा जनताबीच राख्ने र उनीहरुको समस्या संकलन गर्ने ।
‘ठाउँठाउँमा सभा, कोणसभा र अन्तक्रियाबाट पार्टीको कुरा राखिरहेका छौं । सँगै जनताको सुझाव र समस्या प्राथमिकतामा राखेर सुन्छौं’, पार्टी सचिव रामकुमारी झाँक्री भन्छन्, ‘अनौपचारिक कुराकानी र भेटवार्तालाई जोड दिएर हिडिरहेका छौं ।’
एमालेबाट अलग भएपछि पहिलोपटक व्यवस्थित कार्यक्रम घोषणा गरेर पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल सहित शीर्ष नेताहरू एकसाथ हिँडिरहेको यो अभियानमा आफ्नै पार्टी कमिटी सक्रिय बनाउने उद्देश्य पनि देखिन्छ । औपचारिक कार्यक्रम बढीमा डेढ घण्टाभित्र सक्ने, तर पार्टी कार्यकर्ताहरुसँगको अन्तरक्रियालाई नेताहरुले धेरै समय दिनुले त्यही पुष्टि गर्छ ।
अन्तरक्रियामा जिल्ला पार्टी र जिल्ला जनसंगठनका नेताहरु सहभागी हुँदै आएका छन् । पार्टी कार्यकर्ता बाहेक अभियानका क्रममा नेताहरुले नागरिक समाज, प्राध्यापक, उद्यमी, शिक्षक, पत्रकार, बुद्धिजिवीहरुसँग अलग–अलग सम्वाद गरिरहेका छन् । त्यसका लागि केन्द्रीय नेताहरुको अलग–अलग समूह बनाइएको छ ।
महासचिव घनश्याम भूसालका अनुसार, मुलुकको राजनीतिले समात्नुपर्ने मूल एजेण्डा जनताबीच लैजानु अभियानको उद्देश्य हो । ‘नेकपा एमालेको नवौं महाधिवेशनबाट हामीले एउटा राजनीतिक निष्कर्षमा निकाल्यौ, तर त्यसको कार्यक्रमबारे छलफल गरिएन’ उनी भन्छन्, ‘हामीले यसपटक समाजवाद उन्मुख एजेण्डा जनताबीच लगिरहेका छौं ।’

पार्टीको एजेण्डाका रुपमा एकीकृत समाजवादीले ‘सुशासन, रोजगारी र समृद्धि’ लाई नारा बनाएर विषयगत प्रतिबद्धता जनाएको छ । आमचुनावकै झल्को दिनेगरी तयार एकीकृत समाजवादीको प्रतिबद्धतालाई नेताहरुले पार्टीको एजेण्डा भनेका छन् ।
सार्वजनिक मन्तव्य र अनौपचारिक सम्वादमा पनि त्यही प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् । पर्चा बनाएर पनि शिक्षा, स्वास्थ्य, रोजगारी, विकास तथा पूर्वाधार, सुशासन, कुटनीति लगायत विषयगत प्रतिबद्धता अभियानमा बाँडिरहेका छन् । जसलाई एकीकृत समाजवादीका नेताहरुले राजनीतिक एजेण्डा जनताबीच पुर्याउने काम भनेका छन् ।
पश्चातापले जल्ने होइन, सच्चिने
औपचारिक सभा र कोणसभामा पार्टीको कुरा राखिरहेका नेताहरुले अनौपचारिक सम्वादमा भने प्रश्नको सामना गरिरहनु परेको छ । मुख्यगरी सत्तामै रहेको दल भएर पनि समस्या देखाउँदै हिडेको भन्ने प्रश्न मुख्य रुपमा उठेको छ ।
उपमहासचिव गंगालाल तुलाधार जनताबाट उठेको प्रश्न स्वभाविक भएको बताउँछन् । ‘हामीले जस्तो प्रश्न सुनिरहेका छौं, त्यो स्वभाविक हो’ उनी भन्छन्, ‘संसदमा उपस्थिति बलियो नभएपछि सत्तामै भएर पनि हामीले भनेर मात्रै हुँदैन भनिरहेका छौं ।’
तर जनताले उठाएको प्रश्न भन्दा ठूलो पीडा बोकेर जनताबीच निस्किएको उनी बताउँछन् । ‘थ्रेस होल्ड कटाउन सकिएन, राष्ट्रिय दल बन्न नसकेको पीडा छ । एमालेबाट विद्रोह गर्नुपर्ने औचित्य जनताबीच लैजान सकिएन’ तुलाधार भन्छन्, ‘यस्तो बेला हामीसँग पश्चातापको आगोमा जलेर मर्ने वा आत्मालोचना गरेर सच्चिने प्रतिबद्धतासहित जनताबीच जाने भन्ने विकल्प मात्रै छ ।’ तर पार्टीले दोस्रो विकल्प रोजेर अभियानमा निस्किएको उनी बताउँछन् ।
जनतासँग आत्मालोचना (माफी माग्नु) गरिरहँदा नेताहरुले तत्कालीन नेकपाको विघटन गरिनुलाई नै अहिलेको समस्याको कारण मानिरहेका छन् । मुलुकका ५१ प्रतिशत किसान उपेक्षित हुनु, ४४ प्रतिशत युवा रहेको मुलुकबाट वर्षेनि ८ लाख विदेशिनु, देशभित्रै उद्यमशिलताको विकास हुन नसक्नुको कारण २०७४ मा जनताले दिएको विश्वास जोगाउन नसक्नु कारण बनेको अभियानमा नेताहरुले प्रष्टोक्ति दिइरहेका छन् ।
उनीहरुले वामशक्तिले पाएको जनादेशलाई सम्मान गर्दै स्थीरता र राजनीतिक एजेण्डा स्थापित गर्न नसक्दा अहिले जनता अलमलमा परेको पनि बताइरहेका छन् । ‘व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भाष्य स्थापित भइरहेको पाइन्छ । तर हामी जिम्मेवार शक्ति भएकाले त्यस्तो भाष्य बदल्न खोजिरहेका छौं’, उपमहासचिव तुलाधार भन्छन् ।
मूल एजण्डा ओझेलमा पर्दा जनता स्वयमले पनि आफ्नो एजेण्डा बिर्सिएर अन्य कुरामा धेरै चिन्ता लिने गरेको अभियानका क्रममा अनुभव गरेको सचिव झाँक्री बताउँछन् । ‘किसान र साना व्यवसायीहरुसँग उनीहरुको समस्या सोधिरहेको हुन्छु, उनीहरु इजरायल र प्यालेस्टाइनको युद्धको कुरा गर्छन्’, झाँक्री भन्छन् ।
तर जनताको समस्या अभियानमा मसिनोगरी संकलन गर्ने काम नेताहरुले गरिरहेको उनी बताउँछन् । ‘किसानहरुले उखुको मूल्य पाइरहेको छैन, नागरिकले संकलन गरेको पैसा सहकारी र लघु वित्तले भुक्तानि दिइरहेको छैन । संघीय सरकारको कमजोरीले विकास निर्माणका एजेण्डा अगाडि बढ्न सकेको छैन’, सचिव झाँक्री भन्छन् ।
अभियानका क्रममा संकलन भएका जनताका समस्यालाई अल्पकालीन र दीर्घकालीन गरेर छ्टयाउने उनी बताउँछन् । ‘कयौं समस्या तत्काललै पार्टीले पहल लिएर समाधान गर्न सक्छ । कतिपय समस्यालाई नीति तथा कार्यक्रम बनाएर दीर्घकालीन समाधानमा लाग्नुपर्ने हुन्छ’ झाँक्री भन्छन् ।
अभियानमा नेताहरुले पार्टीलाई जनताबीच चिनाउनेगरी गतिविधि गरिरहेका छन् । ‘गएको चुनावमा कयौ मतदाताले हाम्रो चुनाव चिन्ह कलम भन्ने पनि राम्रोसँग थाहा पाएनन् । पार्टीबाट विद्रोह गर्नुपर्ने कारणबारे भन्नै सकेनौं’, एक नेता भन्छन् । तर यो अभियानबाट बिगतमा भएका गल्ती सच्याउने काम हुने ती नेता बताउँछन् ।
तराई–मधेशका मुख्य–मुख्य चोंकहरुमा सभा र कोणसभा अनि अनौपचारिक भेटघाटसहित अगाडि बढिरहेको यो अभियान आगामी २९ असोजमा सुर्खेत पुगेर सकिदैछ । यसपछि मध्य पहाडी सडकलाई आधार मानेर एकीकृत समाजवादीले अर्को अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4