 
																			२५ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आह्वान गरेका छन् ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन् ।
नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेको भन्दै उनले भने, ‘हामीहरुले चालु आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौं ।’
कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न नेपाल इच्छुक रहेको उनको भनाइ छ ।
नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले आश्वासन समेत दिए ।
‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
उनले नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे ।
‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
भेटमा कोरियन अर्थमन्त्री चु क्युङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताए ।
उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे ।
जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री चु क्युङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्युङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेन्डा तय गर्न आग्रह गरे ।
अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गरे ।
भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जीवनस्तर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
नेपालले जलविद्युत् परियोजना निर्माणमा राम्रो प्रगती गरेपनि कमजोर प्रसारणलाइनले जलविद्युत् क्षेत्रबाट प्रयाप्त लाभ लिन नसकेकाले नेपालको प्रसारणलाइन निर्माणमा लगानी गर्न आग्रह गरे ।
बैठकका क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे ।
इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङलाई अर्थमन्त्री डा. महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे ।
कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने माग मन्त्री महतले राखे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4