+
+

लेजर हेयर रिमुभल कति उपयोगी, कति सुलभ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:५२

काठमाडौं । अचेल महिलाले जस्तै पुरुषहरू पनि आफ्नो ग्रुमिङमा निकै ध्यान दिन थालेका छन् । आफ्नो शरीर सफा राख्नु र आफ्नो कपालको उचित हेरचाह गर्नु पुरुष ग्रुमिङको एक हिस्सा हो ।

स्लोभाकियाको त्रनाव युनिभर्सिटीले गरेको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि महिलालाई ती पुरुष मात्र आकर्षक लाग्छन् जसले आफ्नो ग्रुमिङमा ध्यान दिन्छन् ।

पहिले पुरुषको छातीमा रौं हुनु पुरुषार्थको प्रतीक झैं भनिन्थ्यो । तर छाती हातखुट्टा, अनुहार लगायत शरीरका धेरै भागमा रौं देखा पर्दा कहिलेकाहीं नराम्रो देखिन सक्छ । यस्तोमा पुरुषले आफ्नो छातीको रौंलाई कसरी हटाउन सक्छन् ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

पुरुषले छातीको रौं कसरी हटाउन सक्छन् ?

पुरुषले छातीको रौं हटाउन विभिन्न उपाय छन् । भ्याक्सिङ, थ्रेडिङ, सेभिङ गरेर अस्थायी रूपमा छातीको रौं हटाउन सक्छन् । अर्को इलेक्ट्रोलिसिस भन्ने प्रविधि पनि छ, जसले स्थायी रूपमा छातीको रौं हटाउन सकिन्छ । तर यो झन्झटिलो र पीडादायक हुने भएको पछिल्लो समय लेजर प्रविधिबाट रौं हटाउने प्रविधि लोकप्रिय छ ।

नेपालमा केही वर्ष अगाडिसम्म पनि छातीको रौं हटाउने चलन थिएन । २०६८ सालमा मैले नै यो प्रविधि भित्र्याउँदा बढीमा १० प्रतिशत पुरुषहरु मात्र छातीको रौं हटाउन आउने गर्थे । तर पछिल्लो समय त्यो संख्या बढेर ५० प्रतिशत पुगेको छ ।

स्थायी रूपले हटाउन सकिन्छ ?

‘लेजर हेयर रिमुभल’लाई वैज्ञानिक रूपमा ‘लेजर हेयर रिडक्सन’ भनिन्छ । किनभने यसले शतप्रतिशत रौंलाई स्थायी रूपमा हटाउन सक्दैन । यसले शरीरको ८० देखि ९० प्रतिशत रौंलाई हटाउँछ । यो प्रविधिबाट शरीरको सबै भागको अनावश्यक रौं हटाउन सकिन्छ ।

यसले कसरी काम गर्छ र कति खर्च लाग्छ ?

लेजर प्रविधिले कपाल हटाउन लेजर किरणहरू प्रयोग गरिन्छ । यो प्रक्रियाको क्रममा लेजर मेसिनबाट एक लेजर किरण उत्सर्जित हुन्छ, जुन कपालको पिग्मेन्ट (मेलानिन) द्वारा अवशोषित हुन्छ र रौंलाई नष्ट गर्छ । जब लेजर हेयर रिमुभलले कपालको फोलिकल्सलाई क्षति पुर्‍याउँछ र रौं हट्छ । यो प्रक्रिया सातदेखि नौ पटकसम्म दोहोर्‍याउनुपर्छ ।

लेजर हेयर रिमुभलको लागि आधुनिक वा पुरानो विधि प्रयोग  भएको छ, विशेषज्ञले वा अन्य व्यक्तिले यो प्रक्रिया गरेका छन् भन्ने कुराले खर्च निर्धारण गर्छ । अन्तर्राष्ट्रिय प्रविधिको लेजर प्रयोग गरेर रौं हटाउँदा एउटा सेसनको करिब आठ हजार रुपैयाँ पर्छ ।

महिलाहरूले अनुहार वा हातखुट्टाको रौं हटाउन थ्रेडिङ, वाक्स लगायत विधि अपनाउने गर्छन् यो चाहि कति प्रभावकारी हो ?

थ्रेडिङ वाक्स गर्दा रौंको सतही भाग मात्र निस्कन्छ, त्यसको जरा निस्किएको हुँदैन । जसले गर्दा त्यो जराबाट फेरि नयाँ रौं पलाउँछ । तर लेजर हेयर रिमुभल गर्दा जरा नै मर्ने भएकोले यो फेरि नआउने हुन्छ ।

काखीको रौं पनि यो विधिबाट हटाउन सकिन्छ ?

लेजर हेयर रिमुभल प्रविधिबाट शरीरको प्राय: सबै ठाउँबाट रौं हटाउन सकिन्छ । काखीको रौं हटाउन थ्रेडिङ, वाक्स गर्दा केमिकल रियाक्सन र टर्माले गर्दा कालोपनाको समस्या हुन्छ । लेजर गरेर काखीको रौँ हटाउँदा कालोपन नहुने र दुर्गन्ध पनि कम हुने हुन्छ ।

साइड इफेक्ट केही हुन्छ कि ?

लेजर हेयर रिमुभलको लागि अहिले अत्याधुनिक मेसिनहरू उपलब्ध छन् । जसको खासै साइड इफेक्ट हुँदैन । तर विशेषज्ञको सल्लाह बिना गर्दा भने छाला डढ्ने समस्या हुन सक्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा के के छन् ?

लेजर हेयर रिमुभल गर्न चाहने व्यक्तिले घामको एलर्जीको औषधि सेवन गरिरहेका छन् भने यो गर्न मिल्दैन ।

कुनै महिलाको शरीर तथा अनुहारमा धेरै कपाल आउने समस्या छ भने पाठेघरको समस्या हुन सक्छ । यस्तो अवस्थामा लेजर गर्न त मिल्छ तर परिणाम राम्रो आउँदैन । त्यसैले पाठेघरको समस्या समाधान गरेर मात्र लेजर हेयर रिभुभल गर्दा फाइदाजनक हुन्छ ।

लेजर हेयर रिमुभल गर्नुका फाइदा के के हुन् ?

लेजर हेयर रिमुभल सरल र पीडारहित प्रक्रिया हो । बिना कुनै दुखाइ अनावश्यक रौं हटाउन यो प्रक्रिया उपयोगी हुन्छ । यो प्रक्रियामार्फत रौं हटाउँदा वरपरको छालामा कम क्षति हुन्छ । यो प्रक्रिया केही खर्चिलो भए पनि जीवनभर थ्रेडिङ र वाक्सको तुलनामा सुलभ नै हुन्छ । शरीरको अनावश्यक रौं हट्दा आत्मविश्वास पनि बढ्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?