+
+
विश्वकप फुटबल छनोट :

लाओसले नेपाललाई घरमै बराबरीमा रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १९:२८

२५ असोज, काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको  खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।

सुस्त सुरुवात भएको खेलको पहिलो हाफमा लाओसले एउटा अवसर बनायो र त्यसैमा गोल गर्दै अग्रता बनायो । लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

तर दोस्रो हाफमा नेपालले पुनरागमन गर्‍यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दाोस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारियो ।

जसको असर खेलमा देखियो र ४८ औं मिनेटमा अञ्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए ।

एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अञ्जनले उक्त गोल पछि नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।

निराजनले हरिको कीर्तिमान बराबरी गरेको १५ वर्षपछि अञ्जनले दुई खेलाडीको कीर्तिमानलाई भेट्टाएका हुन् ।

बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझायो । ८२ औं मिनेटमा अञ्जनले क्लोज रेन्जबाट हानेको हेडर लाओसका गोलकिपरले बचाउँदा नेपालले अग्रता लिने अवसर गुमेको थियो ।

रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले ईन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

होम एण्ड अवेको आधारमा हुने प्रारम्भिक चरणको दोस्रो खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।  होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्ने छ ।

लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।

प्रारम्भिक छनोटको विजेताले दोस्रो चरणमा स्थान बनाउनेछ । होम एण्ड अवेमा खेलेपछि नेपाल र लाओसबीचको खेलको विजेता युएई र बहराइन रहेको समूहमा पर्नेछ । यस्तै  प्रारम्भिक चरणमा श्रीलंका र यमनबीचको विजेता पनि यही समूहमा पर्नेछ ।

८ वर्षपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल

नेपालले ८ वर्षपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलेको हो ।

२०१५ मा नेपालले भारतसँग दशरथ रंगशालामा खेलेपछि विश्वकप छनोटको खेल खेलेको थिएन । दशरथ रंगशाला पूनर्निर्माण र कोभिड-१९ को कारण कतार विश्वकपको छनोट खेल नेपालले घरेलु मैदानमा खेल्न पाएन ।

८ वर्षपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलिरहेको नेपाली फुटबल टोलीको समर्थनमा दर्शकहरु उल्लेख्य मात्रामा उपस्थित भएका थिए । नेपालको ठूलो झण्डा बाजागाजासहित दर्शकहरु दशरथ रंगशालामा उपस्थित थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?