+
+

ओलीसँग मिलेर शेखरले कोशीमा गरेको ‘विद्रोह’

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० असोज २५ गते २१:४२

२५ असोज, विराटनगर । नेकपा एमालेका ३९ प्रदेशसभा सदस्यको समेत समर्थनमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार अपराह्न माओवादी दल नेता आङ्बोले सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दलका नेताको समर्थन लिएर प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

आङ्बो त्यहाँबाट ननिस्किँदै कांग्रेस प्रदेशसभा सदस्य कार्की कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ सांसदको हस्ताक्षरसहित पुगे । प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि प्रदेश सांसद कार्कीले भने, ‘संविधानको धारा १६८(५) र सर्वोच्चको संवैधानिक इजलासको नजीरलाई सदुपयोग गरेको हुँ ।’

यो विद्रोह हो भन्ने प्रश्नमा उनले सरकार गठनबारे कांग्रेसको कोशी प्रदेश संसदीय दलले कुनै निर्णय नगरेर सदस्यहरुलाई व्यक्तिगत निर्णय लिन छाडेकाले ‘कांग्रेसभित्र वा अर्को (सत्ता गठबन्धन) भित्रको विद्रोह होइन’, भनेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस नेता केदार कार्की ।

कांग्रेसकै नेताहरुले भने यसलाई डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर पार्टी नेतृत्वविरुद्ध गरेको ‘विद्रोह’ मानेका छन् । यसले कांगे्रेसको आन्तरिक जीवनमा पार्ने प्रभाव भने आगामी घटनाक्रमहरुमा भर पर्छ ।

ओली र शेखरको समझदारी

सर्वोच्चको आदेशसँगै अल्पमतको सरकार बनाएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले २० असोजमा मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै कांग्रेसमा संसदीय दलका नेता उद्धव थापाको विकल्प खोज्नुपर्ने मत चर्कोसँग उठेको थियो । डा. शेखर कोइराला निकट केदार कार्की, संस्थापन पक्षकै अमृत अर्याल, कृष्ण सिटौला निकट भीम पराजुली लगायतका नेता सत्ता गठबन्धनबाट मुख्यमन्त्रीको आकांक्षी थिए ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले संस्थागत रुपमै एमालेसहितको सरकार बनाउनुपर्ने मत राखे । सभापति देउवा त्यसमा तयार भएनन्, बरु राप्रपाको समर्थन जुटाएर गठबन्धनकै सरकार बनाउने नीति लिए ।

राप्रपाले संसदीय दलका नेता थापालाई समर्थन नगर्ने प्रष्ट संकेत गरेपछि डा. शेखरले केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सार्ने प्रस्ताव गरे । देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर देखाए, प्रचण्डले यो पटक कोशीको मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने मत राखे ।

डा. शेखरकै निर्णयअनुसार कार्की अघि बढेको स्वीकार गर्दै एक केन्द्रीय नेता भन्छन्, ‘सभापतिले निरन्तर पेल्दै आउनु भएको थियो, अब त पार्टीको आन्तरिक संघर्षमा माओवादीलाई प्रयोग गरेर खेल्न खोजेपछि बिद्रोहको विकल्प रहेन ।’

अनि देउवाले भनिदिए, ‘दलको नेता फेर्नेतिर नलागौं, गठबन्धन तोड्नेतिर पनि नलागौं ।’

यसबाट शेखर निकै हतास भए । किनकी १४औं महाधिवेशनमा बनाएको आफ्नो समूहमा पछिल्लो समय देउवासँग मिल्यो भन्ने आरोप खेप्दै आएका थिए । एकातिर महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुको विश्वास जितेर नेता बनिरहन हम्मे परेको थियो । अर्कातिर देउवाको व्यवहार यस्तो थियो ।

त्यसैले उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर नेतृत्वविरुद्ध विद्रोह गर्ने बाटो रोजेका छन् । स्रोतका अनुसार डा. शेखरले कोशीमा सरकार गठनबारे छलफल गर्न डा. मिनेन्द्र रिजाललाई एमाले अध्यक्ष ओलीकहाँ पठाएका थिए ।

ओली सकारात्मक देखिएपछि शुक्रबारसम्म माओवादीका आङ्बोलाई रोकेर सरकार बनाउने, नभए एमालेको समर्थन लिएर दाबी पेश गर्ने तयारी थियो । त्यसअनुसार मंगलबार शेखर पक्षका प्रदेश सांसदहरुको हस्ताक्षर संकलनसमेत गरिएको थियो । काठमाडौंमा डा. शेखर लगायतका नेताहरुले प्रधानमन्त्री प्रचण्ड सहितका शीर्ष नेताहरुसँग सम्वाद पनि गरिरहेका थिए ।

बिहीबार पनि प्रधानमन्त्री प्रचण्ड र डा. रिजालबीच फोन सम्वाद भएको थियो । तर यता सम्वाद गरिरहने, कोशीमा चाहिँ आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपछि डा. शेखरले एमालेसँग मिलेर मुख्यमन्त्री पेश गर्न निर्देशन दिए । नेताहरुले एमाले अध्यक्ष ओलीसँग सम्वाद गरे, त्यसअनुसार विराटनगरमा रहेका एमाले नेताहरु ३९ प्रदेश सांसदहरुको हस्ताक्षर तयार पारे । काठमाडौंमा रहेका डा. शेखर पक्षका नेताहरु विराटनगर पुगेपछि दुबै दलका गरेर ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख कहाँ पुगे ।

डा. शेखरकै निर्णयअनुसार कार्की अघि बढेको स्वीकार गर्दै एक केन्द्रीय नेता भन्छन्, ‘सभापतिले निरन्तर पेल्दै आउनु भएको थियो, अब त पार्टीको आन्तरिक संघर्षमा माओवादीलाई प्रयोग गरेर खेल्न खोजेपछि बिद्रोहको विकल्प रहेन ।’

संवैधानिक व्यवस्था र सर्वोच्च अदालतले २८ असार २०७८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिने फैसलाको नजिरअनुसार मुख्यमन्त्रीमा कार्कीको दाबीमा बलियो छ । यद्यपि भोलि साँझ ५ बजेसम्म दाबी पेश गर्ने समय नै भएकाले प्रदेश प्रमुखले के निर्णय गर्छन् अनुमान गर्न हतार होला । तर शेखरले कोशीमा गरेको विद्रोहले कांग्रेसमा ठूलै हलचल ल्याएको छ ।

कांग्रेसभित्रका सम्भावित दृश्य

डा. शेखरका विश्वास पात्र मानिने कोशीका प्रदेशसभा सदस्य कार्कीले त एमालेसँग मिलेर सरकार बनाउन सक्छु भन्ने सन्देश निरन्तर दिएका थिए । तर डा. शेखर कोइराला स्वयं त्यो निर्णयमा पुग्छन् भन्ने आंकलन संस्थापन पक्षलाई थिएन । कतिसम्म भने यो कदम डा. शेखर समूहकै प्रमुख नेताहरुका लागि पनि सरप्राइज थियो ।

निकटवर्तीहरुका अनुसार डा. शेखर पछिल्लो समय सभापति देउवासँग जति असन्तुष्ट थिए, आफ्नै समूहबाट महामन्त्री भएका गगन थापा लगायतसँग उत्तिकै गुनासो थियो । कोशीमा दल नेता उद्धव थापाको सट्टा कार्कीलाई मुख्यमन्त्री बनाउँदा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था भएपनि आफ्नै समूहका नेताहरुले साथ नदिएको उनको गुनासो छ ।

केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल भन्छन्, ‘हिजो शेरबहादुर देउवासँग मिले र उहाँका सबै कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने पार्टीभित्रको एउटा समूहले आज व्यक्ति भन्दा पार्टी ठूलो हो, व्यक्ति परिर्वतन गरेर कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा त्यो समूहले आज शेखर कोइरालालाई साथ दिएनन् ।’

त्यसैले कोशीमा विद्रोह गरेर उनले एकसाथ सभापति देउवा र महामन्त्री गगन थापाभन्दा आफू भिन्न रहेको सन्देश दिएका छन् । यसले पार्टीमा नयाँ ध्रुवीकरण सुरु हुने र माओवादी केन्द्रसँग सहकार्य गर्न हुन्न भन्ने मत राख्नेहरु डा. शेखरको वरिपरि गोलबद्ध हुने उनी पक्षको विश्लेषण छ । तर त्यो ध्रुवीकरणले १४औं महाधिवेशनमा बनेको शेखर–गगन समूहमा पनि फाटो आउने जोखिम पनि उत्तिकै छ ।

किनकी एमालेसँग मिलेर कोशीमा विद्रोह गर्ने क्रममा डा. शेखरले आफ्नै समूहका प्रमुख नेताहरुसँग परामर्श समेत गरेका छैनन् । ‘यो विद्रोह मैले गराएको हो भनेर डा. शेखरले जिम्मा लिनुभयो भने एउटा परिस्थिति बन्ला’, एक नेता भन्छन्, ‘जिम्मा लिनुभएन भने थप संकट आउन सक्छ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?