+
+

एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १८:२०

२६ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब प्रसारण लाइन परियाेजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।

सो टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने प्रस्ताव एमसीए नेपालले गरेको थियो । यो प्रस्तावलाई एमसीसीकाे मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ ।

एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्रै प्राविधिक रुपमा सफल भएका थिए । भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीनवटै प्याकेजमा आवेदन हालेका थिए ।

प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । एमसीए– नेपालले यो लटको प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । सो लटमा प्रतिस्पर्धा गरेका कम्पनीमध्ये सबैभन्दा कममा ठेक्का हाल्ने कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड नै १३ करोड १५ लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो । त्यो नै लागत अनुमानभन्दा ५ करोड ५० लाख ६७ हजार अमेरिकी डलर अर्थात् ७२ प्रतिशतले बढी हो ।

यस्तै, दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्डका लागि एमसीए नेपालले ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । त्यसमा सबैभन्दा कम प्रस्ताव टाटा प्रोजेक्ट्स लिमिटेडले गरेको थियो, जसले सो खण्ड १० करोड ५४ लाख २५ हजारमा बनाउनसक्ने बताएको थियो ।  सबैभन्दा कम प्रस्ताव नै एमसीएको अनुमानभन्दा ४ करोड ५ लाख ७१ हजार बढी थियो । यो लागत अनुमानको ६२ दशमलव ५ प्रतिशतले धेरै हो ।

त्यस्तै, तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल–भारतको सीमासम्म तोकिएको छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन निर्माण गर्न ७ करोड ९२ लाख ८२ हजार लागत अनुमान गरेको छ । तर, यसमा सबैभन्दा कम रकममा बनाउने प्रस्ताव गर्ने टाटा प्रोजेक्ट्स लिमिटेडले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको थियो । त्यो रकम नै लागत अनुमानको तुलनामा ६२ दशमलव ७३ प्रतिशत अर्थात् ४ करोड ९७ लाख अमेरिकी डलर धेरै हो ।

यसरी समग्रमा एमसीसीको सहयोगमा निर्माण हुने प्रसारणलाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान एमसीए– नेपालले गरेको थियो । तर, सबैभन्दा कममा मूल्य प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्ताव नै ३६ अर्ब ५९ करोड अमेरिकी डलर थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?