+
+

शेखरलाई फकाउने प्रयास असफल

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज २६ गते १९:३२

२६ असोज, काठमाडौं । नेकपा एमालेसँग मिलेर कोशी प्रदेशमा विद्रोह गरेका डा. शेखर कोइराला फकाउने सत्ता गठबन्धनको प्रयास असफल भएको छ ।

कोइराला निकट केदार कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सत्ता गठबन्धन संकटमा छ ।

सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन्, तर डा. शेखरले अडान नछाड्ने हो भने भोलि सनाखतसँगै कार्की मुख्यमन्त्री हुने देखिन्छ ।

त्यसैले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताहरुले डा. शेखरलाई फकाउने प्रयास गरेका छन् ।

नेताहरुका अनुसार शुक्रबार बिहान सुरुमा प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल भयो । त्यो छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदाम्बे र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

प्रधानमन्त्री संसदमा जानुपर्ने भएपछि छलफल रोकियो र २ बजे पूर्वमहामन्त्री कृष्ण सिटौला र डा. शेखरलाई बोलाइयो ।

नेताहरुका अनुसार त्यो छलफलमा शीर्ष नेताहरुले डा. शेखरसामू तीन विकल्प राखेका थिए । तर उनले तीन वटै विकल्प अस्वीकार गरेका छन् ।

एक सहभागीका अनुसार कांग्रेस, माओवादीसहितको गठबन्धन जोगाएर जानुपर्ने भन्दै नेताहरुले केदार कार्कीको दाबी फिर्ता गराउन र माओवादी संसदीय दलका नेता आङ्बोलाई समर्थन गर्न प्रस्ताव गरेका थिए । तर डा. शेखरले तत्काल त्यसलाई अस्वीकार गरे ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सर्वसम्मत नाम देओस्, उसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे । सभापति देउवाले पार्टीमा छलफल गर्दा सर्वसम्मत नाम दिन नसक्ने भन्दै डा. शेखरलाई नै नाम प्रस्ताव गर्न आग्रह गरे । तर संसदीय दलका नेता उद्धव थापा र एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्की बाहेकको व्यक्ति रोज्ने शर्त थियो यो विकल्पमा पनि शेखर तयार भएनन् ।

अन्तिममा नेताहरुले केदार कार्कीलाई नै मुख्यमन्त्री बनाउने प्रस्ताव राखे । तर एमालेको होइन, सत्ता गठबन्धनको उम्मेदवारका रुपमा कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने नेताहरुको प्रस्ताव थियो । डा. शेखरले भने ‘अब गाह्रो छ’ भन्ने जवाफ दिएको एक सहभागीले बताए ।

कोशीबाट सुरु भएको असन्तुष्टि अरु प्रदेशमा फैलिने र केन्द्रमा पनि अठ्यारो पर्नसक्ने भएकाले कांग्रेस र माओवादीका नेताहरुले डा. शेखरलाई मनाउन खोजेका थिए ।

‘प्रधानमन्त्री प्रचण्डको चाहना गठबन्धन जोगाउने थियो, हाम्रो उद्धेश्य पार्टीको निर्णय लागु नहुँदा पर्ने असरमा थियो’ कांग्रेसका एक नेता भन्छन्, ‘तीन वटै विकल्पमा उहाँ तयार हुनुभएन ।’

कोशीकै विषयमा छलफल गर्न कांग्रेसले अपराह्न ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । सहमतिका लागि अघि सारेका विकल्पहरुमा डा. शेखर सहमत नभएको र कांग्रेसको बैठक पनि भएकाले नेताहरु बालुवाटारबाट उठे । सभापति देउवा सहितका नेताहरु धुम्बाराही गए । तर डा. शेखर कोइराला भने बैठकमै आएनन् ।

कार्यसम्पादन समितिको बैठकमा महामन्त्री शर्माले सहमतिका लागि भएको प्रयासबारे ब्रिफिङ गरेका थिए । तर डा. शेखर अनुपस्थित रहेका कारणले बैठक बिना निष्कर्ष टुंगिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?