+
+

‘ब्लाइन्ड’ खेलेर मुख्यमन्त्री जितेका केदार कार्की

हरि अधिकारी हरि अधिकारी
२०८० असोज २७ गते १९:१६

२७ असोज, विराटनगर । नेपाली कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

सत्तारुढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गरे । उनी शेखर समूहकै हुन् ।

नेता कार्की मुख्यमन्त्री बनेपछि गठबन्धनका शीर्ष नेताले उनलाई नै स्वीकार गरेका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाले गठबन्धन प्रतिबद्ध रहेको बताउँदै कार्कीलाई नै मुख्यमन्त्री स्वीकार गरेका हुन् ।

कार्कीको नियुक्तिपछि प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनकै उम्मेदवार भएको बताए । देउवा र कोइरालासँगको सहमतिपछि चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’ उनले गठबन्धनलाई बलियो बनाएर लैजाने सहमति पनि भएको बताए ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कार्कीले पार्टीभित्र मुख्यमन्त्रीको उम्मेदवार आफू हुनुपर्ने बताएका थिए । गठबन्धनले उम्मेदवार नबनाए जसरी भए पनि मुख्यमन्त्री बन्ने चेतावनी दिएका थिए ।

कार्कीले आफूले ‘ब्लाइन्ड’ खेलेर जितेको दाबी गर्छन् । ‘तासमा ब्लाइन्ड खेलेजस्तै खेलेको छु, अरुले हेर्दै हाप्छन्, म अन्तिमसम्म चलिरहन्छु’, मुख्यमन्त्रीको दाबी गर्नुअघि अनलाइनखबरसँग कार्कीले भनेका थिए, ‘हेर्दै जानु जित्ने मैले नै हो ।’ आफ्नो अडानमा दृढ रहेका कार्कीले प्रदेशको छैटौं मुख्यमन्त्रीमा नाम लेखाए ।

मुख्यमन्त्री बन्न शेखर कोइरालाको साथ पाएपछि पार्टीभित्र विद्रोह गरेका कार्की नेविसंघको राजनीतिमा पनि विद्रोही नेताको रुपमा चिनिन्थे ।

मोरङ क्षेत्र नम्बर ६ (ख) बाट दोस्रो पटक निर्वाचित भएका कार्की प्रदेशसभाको पहिलो कार्यकालमा दलको प्रमुख सचेतक र आन्तरिक मामिला तथा कानुन मन्त्री बने । गत मंसिरको प्रदेशसभा निर्वाचनमा उनले आफू मुख्यमन्त्री बन्ने भन्दै चुनावी अभियान सञ्चालन गरेका थिए । उनी एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गर्दै प्रदेशसभा सदस्य चुनिएका थिए ।

२०३० पुस ७ मा जन्मेका कार्कीले विद्यार्थी राजनीतिक सुरुवात नेपाल विद्यार्थी संघबाट गरे । २०४४ सालमा उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति बने । उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनी नेविसंघको क्षेत्रीय सभापति हुँदै २०५९ सालमा मोरङ जिल्ला सभापति बने ।

२०६० सालमा उनी नेपाल विद्यार्थी संघबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार बनेका थिए । तर अनेरास्ववियूका उम्मेदवार सागर थापासँग पराजित भए । तीन वर्षपछि २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको बने ।

स्नातकसम्मको शिक्षा हासिल गरेका कार्की कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए, तर पराजित भए ।

सजिलो छैन काम गर्न

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्दा दल भित्र विद्रोह गरेका कार्कीलाई सरकार सञ्चालन गर्न सहज छैन् । गठबन्धनको निर्णय विपरीत एमालेसँग मिलेर उम्मेदवार बनेका करण उनीप्रति दलभित्र तीब्र असन्तुष्टि छ ।

‘एमालेको साथमा कतिदिन हिँड्ने हो, भोलि त दल चाहिन्छ होला’, कांग्रेसका एक सांसदले भने, ‘सरकार सञ्चालन गर्न केदार कार्कीलाई सहज छैन ।’

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेलाई गुन तिर्न सरकारमा सहभागी गराउने तयारी गरेका छन् । सरकार विस्तार गर्दा कांग्रेसको विद्रोेही समूह पनि सहभागी हुनेछ ।

मुख्यमन्त्री कार्की मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेका कारण पार्टीले सहयोग गर्ने बताउँछन् ।

मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको बताए ।

‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ’, उनले भने, ‘संविधानले देखाएको बाटो अनुसार भएको हो, गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो थियो, त्यसैले सांसदहरूको एक रुपताले मध्यावधिको बाटो रोकेको हो ।’

उनले सबैलाई समेटेर सरकार चलाउने बताए । ‘अहिले जुन माननीय सदस्यज्यूको समर्थनमा मुख्यमन्त्री भएको छु उहाँको सल्लाहमा सरकार बनाउँछु’, कार्कीले भने, ‘सबै दलसँग सहकार्य गरेर अघि बढ्छु ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?