+
+

वैकल्पिक राजनीति राग कि विराग ?

राजनीतिको नयाँ भाष्य सिर्जना गर्दै चलिरहेको वैकल्पिक राजनीतिको बहस राजनीतिक थेसिस विरुद्ध एन्टी-थेसिस होl केन्द्रीकृत संरचनाको विरुद्ध विकेन्द्रित संरचना होl परम्परगत शैली, सोच र संरचनाको विपरित आधुनिक प्रगतिशील र सामयिक विचारधाराको पुनर्गठन होl

सञ्जीव कार्की सञ्जीव कार्की
२०८० असोज २७ गते १३:२५

वैकल्पिकको अर्थ पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गर्न सकिने समकक्षस्तरको अर्को उम्मेदवार, सदस्य व्यक्ति वस्तु अर्थात् विकल्पमा आउने भनेर नेपाली शब्दकोशमा परिभाषित गरिएको छl यो परिभाषा अनुसार अर्थ लगाउने हो भने आज नेपालमा जति पनि नयाँ दल क्रियाशील छन् ती सबै पुराना राजनीतिक दलको शोधभर्ना र नयाँ दलका नयाँ अनुहार मात्रै हुन्l रूप, स्वर र काया मात्र फरक हुनु आजको राजनीतिको विकल्प होइनl

आजको राजनीतिले नयाँ दृष्टिकोण, नयाँ दृष्टिबोध र नयाँ शैलीको विकल्पहरूमा सर्वोत्तम विकल्पको माग गरेको देखिन्छl यताको अनुहार उता, उताको अनुहार यता र ठिटोको ठाउँमा बुढो, एकको बदला अर्को किमार्थ होइन। २०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछिका वैकल्पिक राजनीति सम्बद्ध दल र तिनका केही प्रतिनिधि उदाहरणबारे विमर्श गरौं l

वैकल्पिक दलको उदय

२०५२ सालबाट सुरू भएको माओवादी युद्धले शासकीय स्वरूप नै बदल्न चाहने वैकल्पिक शक्ति बन्ने प्रयास गरेको थियोl राजनीतिक प्रणाली नै परिवर्तन गरेर शासन गर्ने माओवादी उद्देश्यले साकार रूप लिएर ३०६५ जेठमा गणतन्त्र स्थापना भएर माओवादी सबैभन्दा ठूलो शक्ति बनेर शासन गर्न आए पनि उसले प्रणाली फेर्‍यो तर शासकीय शैली र चिन्तन परम्परा फेर्न सकेन। फलस्वरूप आज आफैंले परिकल्पना गरेको र आफ्ना हजारौं कार्यकर्ता बलिदान गरेर आएको व्यवस्थामा ऊ सबैभन्दा बदनाम छ र शक्ति क्षीण भएर क्रमशः नैतिक राजनीतिक साख गिराइरहेछl

तत्कालीन परिस्थितिमा माओवादी कांग्रेस, एमाले र राप्रपा जस्ता पार्टीको सर्वोत्तम विकल्प थियो l जसलाई २०६४ को संविधानसभा सदस्यको चुनावमा जनताले अनुमोदन समेत गरेका थिएl त्यो हामीले अवलम्बन गरेको चुनाव प्रणाली अन्तर्गत बहुमतको स्थिति नभए पनि चानचुने शक्ति र सामर्थ्य थिएनl वैकल्पिक राजनीतिको दुर्भाग्य या नेपाली जनताको दुर्भाग्य माओवादीले सत्ता चलाउन जानेन या सकेनl ऊ चुक्योl

उसले आफ्नो विगतको निष्ठा र प्रतिबद्धता भुल्यो र संसदीय राजनीतिको दलदलमा फस्योl माओवादीले चुनाव मात्रै हारेन दलीय प्रतिस्पर्धामा एक दुई चुनाव हार्नु सामान्य हो तर राजनीति नै हार्नु चैं सत्तामा भए पनि त्यो गम्भीर विषय होl त्यत्रो त्याग र बलिदान गरेर युद्ध लडेर आएको पार्टीले बाटो बिरायो अनेकौं टुक्रामा खण्डित भयोl दश वर्षभित्र दक्षिणएशियाको सबैभन्दा राम्रो देश बनाउने प्रचण्ड सपनाको बन्ध्याकरण हुनपुग्योl

नेपाल सद्भावना पार्टी

स्वर्गीय गजेन्द्रनारायण सिंहले मधेशमा वैकल्पिक शक्तिको रूपमा कांग्रेस, कम्युनिष्ट र राप्रपाको विकल्प जतिबेला आज जस्तो वैकल्पिक शक्तिको भाष्य चर्चामा थिएन तर मधेशलाई माया गर्ने र मधेशी जनताको मुक्ति, मर्यादा र अधिकारको लागि भनेर २०४७ वैशाख ३ गते नेपाल सद्भावना पार्टीको स्थापना गर्नु भएको थियोl

उहाँ २०४८ र २०५१ मा संसद सदस्य समेत निर्वाचित हुनुभएको थियोl मधेशको पहिलो वैकल्पिक दल भए पनि नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंहको देहावसानसँगै विलाएर गयोl आज मधेशमा खासै अस्तित्वमा छैन l

मधेशी जनअधिकार फोरम

मधेशी जनअधिकार फोरमको जन्म गैरसरकारी संस्थाको रूपमा २०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा खुलेको थियोl फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्‍यो। २०६२ साल चैतमा सुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको सुरूवात गर्‍यो।

आन्दोलनले उठाएका ८ वटा मागमध्ये मधेश स्वायत्त राज्यको माग सहित सरकारसँग २०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो। मधेश आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु होl २०६४ सालको संविधानसभा चुनावअघि फोरम एउटा राजनीतिक दलका रूपमा निर्वाचन आयोग, नेपालमा दर्ता भयो र ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो। तर यसले मधेशकै र देशकै वैकल्पिक शक्ति बन्ने आफ्नो सामर्थ्य धेरै समय टिकाउन सकेन, कैयौं टुक्रामा विभक्त भयोl

जनमत पार्टी

डा. चन्द्रकान्त राउतको नेतृत्वमा २०७५ चैत ४ गते स्थापना भएको जनमत पार्टीको प्रारम्भिक उद्देश्य पृथकतावादसँग सम्बद्ध थियोl यसले मधेशलाई अलग्याएर छुट्टै मधेश बनाउने अवधारणा सार्वजनिक गरेर राजनीतिक गतिविधि गरिरहेको थियोl देश छुट्याउने आरोपमा यस पार्टीका अध्यक्ष बारम्बार पक्राउ पर्ने, थुनिने क्रम चल्दाचल्दै २०७५ फागुन २४ गते तत्कालीन केपी ओलीको सरकारसँग ११ बुँदे सम्झौता गर्‍योl जनमत पार्टी मूलधारको राजनीतिमा छl

गत स्थानीय चुनाव २०७९ लडेको जनमतले दुई ठाउँ स्थानीय निकायमा चुनाव जितेको थियो भने सङ्घीय संसद र प्रदेशसभाको चुनावमा पनि भाग लिएर हाल मधेश प्रदेशमा र केन्द्र सरकारमा पनि आफ्नो सहभागिता जनाएको छl पछिल्लो पटक मधेश र देशकै वैकल्पिक शक्ति निर्माण गर्न सक्ने दलको रूपमा जनमत पार्टी र यसका अध्यक्षलाई मधेश र देशकै राइजिंग स्टारको रूपमा हेरिएको छl पहिलो पटकको चुनावी सहभागितामै राष्ट्रिय दल बन्न सक्षम जनमत पार्टी मधेशमा सबैभन्दा लोकप्रिय पार्टीको रूपमा दर्ज भएको छl

विवेकशील नेपाली दलको उदय (साझा पार्टी सहित)

दोस्रो संविधानसभा २०७० को चुनावमा ४ युवाहरू (उज्ज्वल थापा, गोविन्दनारायण, पुकार बम सन्तोष प्रधान) ‘कुकुर’ चुनाव चिह्न लिएर काठमाडौंका विभिन्न क्षेत्रबाट संसद्को चुनाव लडे र विवेकशील दल सतहमा आयो। २०७२ को भूकम्प, डाक्टर गोविन्द केसीको सत्याग्रहमा विवेकशील दलले सुसंस्कृत राजनीति भन्दै केही नवीन राजनीतिक संस्कार दियो र निर्विकल्प ठानिएको विरोधको स्वरूप बन्दको बारे जमेर विरोध गर्‍यो र नेपाल खुला रहेको र रहनुपर्ने भन्दै बन्दको गलत भाष्यलाई पुनर्विचार गर्न अन्य पोलिटिकल पार्टीलाई बाध्य बनायोl

जिम्मेवार नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी राज्यको अवधारणा प्रस्तुत गर्दै नागरिक स्वयं पनि जिम्मेवार हुनुपर्ने र शासक सरकार सेवक हुनुपर्छ भन्ने नेपाली राजनीतिमा नसुनिएको कर्णप्रिय विचार प्रस्तुत गर्‍योl रन्जु दर्शनालाई २१ वर्षको उमेरमा नै काठमाडौंको मेयरमा प्रतिस्पर्धा गराएर राजनीतिमा युवा हस्तक्षेप आकर्षणको आरम्भ गर्‍यो र काठमाडौंमा राजनीतिक मूल्य र भूमिका पाउने गरी मत प्राप्त गर्‍योl

पुराना ठूला पार्टीहरूको वर्चस्व र विकल्प कसैले नसोचेको बेला उज्ज्वल थापाले विवेकशील दल गठन गरेर नयाँ दलको वैकल्पिक भाष्य निर्माण गर्न सहयोग गरेl भलै यो पार्टीले राजनीतिमा सन्देश दियो तर आफैं भने छिन्नभिन्न भयोl विवेकशील साझा पार्टीका उपाध्यक्ष मिलन पाण्डेले भने झैं ‘विवेकशील दलको सामर्थ्य र कमजोरी दुवै युवा हुनु थियोl’

कमजोरीले दल भग्न भए पनि युवा सामर्थ्यको प्रेरणा आजका नयाँ–नयाँ विकल्प बोकेर उदाएका पार्टी, काठमाडौंको मेयर जित्न बालेनलाई राजनीतिक ग्राउण्ड र देशभर केही नयाँ र स्वतन्त्र उमेदवारलाई गत स्थानीय चुनावमा जित निकाल्न र नयाँ दलको रूपमा रास्वपा, जनमत पार्टी, जनमुक्ति पार्टी आदिलाई आजको अस्तित्वमा ल्याउन यो दलको परोक्ष हात छ भन्दा अतियुक्ति नहोलाl सरकारको विरोध र खबरदारी गर्ने अनेकन् रचनात्मक र सिर्जनात्मक अभ्यासको थालनी गर्‍योl ध्वंसमा हैन सिर्जनामा विरोधको संस्कृति बसायोl

पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको अवधारणा सहित वैकल्पिक राजनीतिको नयाँ भाष्य कोर्न रवीन्द्र मिश्रको अध्यक्षतामा २०७३ मा गठन भएको साझा पार्टीले २०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा १८ हजार मत प्राप्त गर्‍यो l

विवेकशील नेपाली र साझा; २०७४ मा एकीकरणमा गए र २०७४ को संसदीय निर्वाचनमा तीन जना प्रदेश सांसद प्रतिनिधित्व गराउन सफल भयो भने सङ्घीय चुनावमा रवीन्द्र मिश्र, सूर्यराज आचार्य र उज्ज्वल थापाले राम्रो मत पाए भने देशभर २ लाख १२ हजार मत विवेकशील साझाको तराजु छापमा पर्‍योl वैकल्पिक राजनीतिको बलियो खम्बाको कल्पना गरिएको पार्टी एकीकरण फुट र पुन: एकीकरण फेरि फुट हुँदै आज अस्तित्व रक्षाको चरम सङ्कटमा गुज्रिरहेको छl

नयाँ शक्ति पार्टी

नेकपा माओवादीसँग रुष्ट रहेका बाबुराम भट्टराईले २०७३ जेठ ३० मा निकै तामझामका साथ पुराना दल र तिनको विचारले बदलिंदो नेपालको नेतृत्व गर्न सक्दैन भन्दै नयाँ परिस्थितिमा नयाँ नेतृत्व भन्ने नारा बोकेर नयाँ वैकल्पिक शक्तिको उद्घोष गरेl मार्क्सवाद, लेनिनवाद असान्दर्भिक भन्दै केवल मार्क्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई टेकेर नयाँ सिद्धान्त निर्माणको प्रचार गरेl मार्क्सवाद राज्य सत्ता फ्याँक्न सफल भएको तर चलाउन असफल रहेको निष्कर्ष निकाल्दै कम्युनिष्ट सिद्धान्त परित्यागको घोषणा गरेl

वृद्ध, प्रौढ र युवा समेटिएको ‘थ्री इन वान’ को अवधारणा र विपरित वर्गको सहभागिता र एकत्वको मान्यता सहितको नयाँ ढाँचाको पार्टी संरचना निर्माणको बयान गरे तर यो पार्टी वैकल्पिक नयाँ शक्तिको कल्पनाको लड्डु खाएर असमयमा दुर्घटित भयोl बारम्बार चिप्लियोl फरक धारको नारा भुत्ते पारेर बाबुराम पार्टीरुपी अनेक चौतारा र विश्रामस्थलमा विचरण गर्दै सेना विनाको सेनापतिको स्थितिमा छन्l नयाँ विकल्प बन्ने उनको योजनाले उडान भर्न सकेनl

नागरिक उन्मुक्ति पार्टी

पूर्व सांसद रेशम चौधरीको अभिभावकत्व र रन्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुस १९ गते गठन भएको यो पार्टीले स्थानीय चुनावमा दुई गाउँपालिका र दुई नगरपालिकामा जित हासिल गरेको थियो भने सङ्घीय संसदमा पनि ६ सिट जितेर हाल सङ्घीय सरकारमा सहभागी र प्रदेश सभामा सरकारमा सहभागी बनेको छl थरुहट प्रदेशको मुद्दा बोकेर उदाएको यो पार्टी पनि वैकल्पिक पार्टी बन्ने ध्याउन्नमा छl जन्मकैद मुद्दामा राष्ट्रपतिबाट गत जेठ १५ गते गणतन्त्र दिवसको दिन आम माफी पाएर छुटेका रेशम चौधरी हाल देश दौडाहामा छन्l

रास्वपा

सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते जन्मिएको यो पार्टीले आफ्नो स्थापनाको ६ महिना नपुग्दै सङ्घीय संसदमा प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट प्राप्त गर्दै संसदमा राष्ट्रिय मान्यता प्राप्त चौथो ठूलो दलको रूपमा उदाएर चामत्कारिक परिणाम दियोl पुरानालाई नो नट अगेन भनेर उदाएको रास्वपा आजको राजनीतिमा आजका दिनसम्म विकल्पमा सबैभन्दा बलियो शक्तिशाली र भविष्य भएको पार्टी मानिन्छl

रास्वपा मिसन ८४ लिएर कुदेको छl आगामी चुनाव जितेर पूर्ण बहुमतको सरकार निर्माण गरी देशको कायापलट गर्ने सपना बाँडेर रवि लामिछाने देश दौडाहामा छन्l आम मान्छेको आकर्षण पनि देखिएको छl तर यसको उद्देश्य सत्ता केन्द्रित जसरी पनि आगामी निर्वाचन जित्ने मनसुवा देख्दा राजनीतिक मूल्यमान्यता, सिद्धान्त र पद्धतिको नवीन भाष्यमा चोट पर्ने सम्भावना ज्यादा छl चुनाव केन्द्रित मात्र बन्दा पार्टीमा मान्छे भित्र्याउने र भोट कब्जा गर्ने होड चल्छ सोही अभ्यास र अभियानमा रास्वपा देखिन थालेको छl

मास पोलिटिक्सलाई चुस्तदुरुस्त संगठनमा बदल्न सकिएन भने त्यहाँ उत्पन्न हुने परिस्थिति कल्पनातीत हुनपुग्छl रास्वपाले भीड जम्मा गरेको छ तर आजपर्यन्त त्यसको सांगठनिक व्यवस्थापनमा खासै रुचि देखाएको छैनl खराब नै भए पनि अन्य दलसँग विभिन्न जनवर्गीय सङ्गठनहरू छन् र पार्टी सङ्गठन केही व्यवस्थित छ तर रास्वपाले अन्य जनवर्गीय सङ्गठन र शुभेच्छुक संस्था नबनाउने नीति अख्तियार नगरेको कारण कार्यकर्ता व्यवस्थापन यसका लागि चुनौतीको विषय बन्छl

पार्टी कमिटीमा मात्र सब आवद्ध हुनसक्ने स्थिति बन्दैन त्यसो हुँदा नेताको व्यक्तित्व र वैकल्पिक राजनीतिको आकर्षणमा मात्रै मान्छे सङ्गठित भैरहन सक्तैनन्l सङ्गठन र नीति अनि व्यक्ति र अवसरको आकर्षण नितान्त फरक कुरा हुन्l

निष्कर्ष

नेपाली जनताले पटक–पटक वैकल्पिक राजनीति गर्नेको लागि आफ्नो विश्वास प्रकट गरेका छन् तर वैकल्पिक राजनीति गर्नेले पुरानोको प्रतिस्थापन नयाँ मात्र गरे शिल–स्वभाव, पद्धति र विधिमा नयाँपन र शुद्धताको कुरामा निरन्तर चुकेl

पारदर्शी, समावेशी, सामाजिक न्याय, जातीय र लैङ्गिक अनि वर्ण भेद रहित समाज र समानताको लागि काम गर्न सकिरहेका छैनन्l रास्वपा, जनमत र नाउपा जस्ता पार्टीले विगतका वैकल्पिक पार्टीका अँध्यारा पक्षबाट सिक्ने र पुरानाले अवलम्बन गरेको सही तरिकालाई अवलम्बन गर्दै देशको भविष्यको नयाँ मार्ग कोर्न सके आगत उज्यालो नै देखिन्छl

राजनीतिको नयाँ भाष्य सिर्जना गर्दै चलिरहेको वैकल्पिक राजनीतिको बहस राजनीतिक थेसिस विरुद्ध एन्टी-थेसिस होl केन्द्रीकृत संरचनाको विरुद्ध विकेन्द्रित संरचना होl केन्द्र भञ्जन गरेर नवकेन्द्रको स्थापना होl परम्परगत शैली, सोच र संरचनाको विपरित आधुनिक प्रगतिशील र सामयिक विचारधाराको पुनर्गठन होl पुरानालाई जस्ताको त्यस्तै विस्थापन गरेर सो ठाउँमा अर्को नयाँ आउनु विकल्प हो भने वैकल्पिक दृष्टिकोण, भाष्य र संरचना सहित नयाँ र गतिशील नेतृत्व सर्वोत्तम विकल्प होl केवल नयाँ अनुहार स्वर र उमेरको उदय मात्र विकल्प हो, दमदार विकल्प होइनl वैकल्पिक राजनीतिमा अनुराग र विराग दुवै देखिएको छl आशा-आकर्षण र निराशा-विकर्षण उत्तिकै प्रस्फुटन भएको पाइन्छl वैकल्पिक राजनीति राग कि विराग ? आजसम्म कुनै पनि वैकल्पिक राजनीति र दलले नेपाली समाजमा व्याप्त असमानता, अमर्यादा, भ्रष्टाचार र जातीय र लैङ्गिक विभेदको मुद्दा मूल रूपमा सम्बोधन गर्न सकेन छिपछिपे सम्बोधन र टालटुले नीति मात्रै प्रस्तुत गरेका छन्l

लेखक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफील-पीएचडी अध्ययनरत छन्। 

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?