+
+

कोशीका मुख्यमन्त्री कार्कीले गरे देउवासँग भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते २०:३९

२७ असोज, काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आफूलाई भेट्न धुम्बाराहीस्थित निवासमै आएका कार्कीलाई देउवाले बधाई दिनुका साथै पार्टीमा सल्लाह गरेको भए हुन्थ्यो भन्ने आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार देउवाले आफूले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको, तर पार्टीभित्र सहमति हुन नसकेको बताएका थिए । ‘पार्टीलाई म्यानेज गरेर गएको भए हुन्थ्यो, तर संविधान अनुसार नै मुख्यमन्त्री बन्नुभयो, तपाईलाई बधाई छ भन्नुभयो’ भेटमा सहभागी ती नेताले भने, ‘सभापतिको कुरा सुन्दा उहाँ खुशी नै भएको बुझिन्थ्यो ।’

शनिबार विहान मुख्यमन्त्री नियुक्त भएका कार्की साँझ काठमाडौं आएका थिए । काठमाडौंको त्रिभुवन विमानस्थलबाट सोझै शेखर कोइरालाको निवासमा पुगेका उनले त्यहाँ कोइराला र डा. मिनेन्द्र रिजालसँग भेट गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्की देउवा निवासमा पुगेका हुन् ।

कार्की आइतबार विहान ८ बजे शपथ ग्रहणका लागि विराटनगर जानेछन् र फेरि काठमाडौं आउनेछन् । उनी निकट एक नेताका अनुसार मन्त्रिपरिषद विस्तारबारे सल्लाह गर्न उनी पुनः काठमाडौं आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?