+
+

चाडपर्वका लागि डीडीसीले घोषणा गर्‍यो २५० रुपैयाँसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १५:०१

२८ असोज, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ । यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने र थप सहुलियत घोषणाका लागि गृहकार्य गरिरहेको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए ।

नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साविकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइन्छ ।

टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । डीडीसीले उत्पादन गर्ने २५० ग्रामको उक्त बटरको मूल्य छुटपछि ३५० रुपैयाँ कायम भएको छ । जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । १९० रुपैयाँ प्रतिलिटर मूल्यको दही अब १७५ रुपैयाँमा पाइने भएको छ । यस्तै, पोली दहीमा प्रतिलिटर १४ रुपैयाँ छुट दिइएको छ । १७० रुपैयाँ प्रतिलिटरको दही अब १५६ रुपैयाँमा पाइन्छ । प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुटपछि २०० रुपैयाँ मूल्य कायम गरिएको छ ।

याक र कञ्चन चिजमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । छुटसँगै अब यी उत्पादनको मूल्य क्रमशः आधा किलोकै ९१० रुपैयाँ र ७६० रुपैयाँ कायम गरिएको छ । ११ सय रुपैयाँ प्रतिकिलो पर्ने नौनीको मूल्य ५० रुपैयाँ छुट दिएर एक हजार ५० रुपैयाँ नयाँ मूल्य तोकिएको छ । रसबरी, पेडा र लालमोहन प्रतिबट्टा १० रुपैयाँ छुट दिएर २८० रुपैयाँ मूल्य तोकिएको छ । रसबरी क्यानमा १५ रुपैयाँ छुट दिएर ४०५ रुपैयाँबाट घटाएर ३९० रुपैयाँ कायम गरिएको छ ।

फ्रेस मिल्क २ सय एमएलको उत्पादनमा ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँबाट ७० रुपैयाँ कायम गरिएको छ । यस्तै, याक नौनी प्रतिकिलोमा २५० रुपैयाँ छुट दिइएको छ । १ हजार २५० रुपैयाँ प्रतिकिलो पर्ने याक नौनीको मूल्य छुट पछि एक हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?