+
+

‘बजारमा दुग्धजन्य पदार्थ खपत नै घट्यो’

धेरै दूध किनेर दुग्धजन्य पदार्थ बनाइयो तर ती उत्पादनहरू पर्याप्त मात्रामा बजारमा गएनन् । धुलो दूध, मक्खन लगायतको स्टक रहन गयो । त्यसको असर चालु पूँजीमा परेपछि किसानबाट लिएको दूधको भुक्तानी हुन सकेन ।

सञ्जीवकुमार झा, निवर्तमान महाप्रबन्धक, डीडीसी  सञ्जीवकुमार झा, निवर्तमान महाप्रबन्धक, डीडीसी 
२०८० चैत २३ गते ११:४५

किसानले भुक्तानी नपाउनुको कारण दूधको बजारमा भएको खपतमा कमी हो । प्रत्येक वर्ष भदौ, असोजमा दूधको उत्पादन धेरै हुन्छ । पोषणयुक्त घाँसपात र उपयुक्त वातावरण हुने भएकोले त्यो बेला गाईभैंसीले अन्य समयमा भन्दा केही न केही धेरै दूध दिन्छन् ।

तर, यस वर्ष अरू बेलाभन्दा पनि धेरै उत्पादन भयो । अनि यो वर्ष दूध उत्पादन बढेको बेला अर्थतन्त्रमा समस्या आयो । त्यसको असर बजारमा देखिंदा खपतमा कमी भयो । त्यसपछि हामी सहित दूध उद्योगहरूले दूधबाट दुग्धजन्य पदार्थहरू धेरै बनाए । त्यसको लागि पनि खर्च भयो ।

किसानलाई डीडीसी लगायत डेरी उद्योगहरूले दिने भनेका पनि दूध र दुग्धजन्य पदार्थको बिक्रीबाट आएको पैसा हो । धेरै दूध किनेर दुग्धजन्य पदार्थ बनाइयो तर उक्त दुग्धजन्य पदार्थहरू बजारमा पर्याप्त गएन । धुलो दूध, मख्खन लगायत स्टक रहन गयो । त्यसको असर चालु पूँजीमा परेपछि किसानबाट लिएको दूधको भुक्तानी हुन सकेन । त्यो भुक्तानीको लागि चालु पूँजी नबढ्दा दायित्व थपिंदै गएको हो ।

दूध र दुग्धजन्य पदार्थको खपत अहिले संसारभरि नै घटेको छ । अहिले अन्यत्र जस्तै नेपालमा पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । दैनिक ४ लिटर दूध किन्ने परिवार २ लिटरमा झरेका छन् । कर्पोरेट हाउसहरू दूधको चियाको सट्टा कालो चिया खाइरहेका छन् । हेर्दा सामान्य लागे पनि धेरै उपभोक्ताले दूध कटौती गरिरहेका छन् ।

यो चाहिं अर्थतन्त्रको कारणले हो । पहिले घरमा सबैले दूध खाने गर्दथे भने अहिले मानिसको क्रयशक्ति घटेको वा आर्थिक मन्दीका कारणले जसलाई आवश्यक छ– बिरामी, वृद्ध, बच्चाले मात्रै दूध खाइरहेका छन् । यसले स्वाभाविक रूपमा दूधको खपत घट्ने नै भयो ।

डीडीसीले किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा पठाउँदा बिक्री नहुँदा पनि हाम्रो पूँजी त्यहीं रोकिएको छ । यो खपत कम हुँदा धेरै दूधलाई धुलो दूध, मख्खन लगायत बनाउनुपर्छ । ठ्याक्कै त्यही पूँजी रोकिंदा त किसानलाई नै असर पर्ने भयो नि !

अर्को प्राकृतिक कारण के छ भने मंसिर पछाडि दूध खपतको सिजन पनि हुँदैन । चिसो भएकोले दूध र मोही, आइसक्रिमहरू कम खपत हुन्छ । भदौ–असोजमा दूधको उत्पादन बढेको बेला अर्थतन्त्रले गर्दा खपत कम भयो । त्यसपछि जाडोको सिजनमा पनि दूधको उत्पादन अन्य समयको झैं भयो तर दूध र दुग्धजन्य पदार्थको खपत बढ्न सकेन । फेरि त्यहाँ पनि दूधबाट दुग्धजन्य पदार्थ कन्भर्जन धेरै गर्नुपर्यो, तर खपत भएन । यसरी चालुपूँजी रोकियो र किसानको भुक्तानीमा थप समस्या भयो ।

तर अब चैत, वैशाख लागेपछि दूधको खपत बढ्छ । मानिसहरू दही, मोही धेरै खान्छन् । आइसक्रिमको खपत बढ्छ । त्यसपछि अहिलेका स्टकहरू पनि बजारमा जान थाल्छन् । अहिले कृषिमन्त्रीले अर्थमन्त्रीसँग जसरी ३० करोड डीडीसीलाई रकम अनुरोध गर्नुभएको छ, त्यो आउने वित्तिकै चालु पूँजीमा केही न केही सुधार हुन्छ । अब गर्मी लागेपछि दूधको खपत बढ्दा भएको स्टक घटेर पूँजी आउँछ भन्ने आशा छ ।

नेपालमा दूधको यत्रो उत्पादन छ तर निर्यात गरेर अन्य देशमा बेच्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय दूध निर्यात मापदण्ड अनुसार खोरेत रोग निर्मूल भएको देशबाट मात्रै बेच्न पाउने पारामिटर छ । नेपालले त्यो घोषणा गर्न नसक्दा त बजार खुल्ने कुरै भएन ।

अर्को दूधको बजार घट्नुको कारण पहिला बिस्कुट उद्योगहरूले दूधको प्रयोग गर्थे तर अहिले दूध भन्दा सस्तोमा पाउने ‘वे पाउडर’ प्रयोग गर्नु पनि हो । वे पाउडर आयात हुँदा हाम्रो खपत कम भयो । अर्को कारण हाम्रो आन्तरिक बजार बिगार्न खुला सिमानाको पनि भूमिका छ ।

जस्तै खुला सिमाना हुँदा नेपालमा भन्दा भारतमा दूध सस्तो पाउने भएपछि उपभोक्ताले त अवैध रूपमा भित्रिए पनि सस्तो दूध प्रयोग गर्ने भए । त्यसको असर त हामीलाई नै पर्ने हो । दूध मात्रै होइन, दुग्धजन्य पदार्थ पनि आयात हुुँदा हाम्रो उत्पादनले बजार पाएको छैन ।

नेपालको दूध उत्पादन र नेपाली किसानको रक्षाको लागि गर्नुपर्ने मुख्य काम आन्तरिक खपत बढाउने र त्यो खपत आन्तरिक उत्पादनकै हुनुपर्छ । अर्को मुख्य काम चाहिं बिस्कुट, केक लगायत विभिन्न औद्योगिक उत्पादन हुने दुग्धजन्य पदार्थको प्रयोगमा नेपालकै दूध प्रयोग गर्नुपर्छ ।

अर्को उपाय भनेको अवैध रूपमा हुने दूध र दुग्धजन्य पदार्थको आयात रोक्न सक्नुपर्छ । कम्तीमा नेपाली उद्योगहरूले प्रयोग गर्ने कच्चा पदार्थको रूपमा रहेको दूध वा दुग्धजन्य पदार्थमा नेपाली किसानको उत्पादनलाई प्रयोगमा ल्याउनुपर्छ ।

नेपालीहरूले अर्को एउटा संस्कारको पनि विकास गर्र्नुपर्छ । पहिले–पहिले मेला–पर्व, चाड–पर्वमा साथीभाइ भेला हुँदा दूध, दही र मोहीहरू खाने गर्दथे तर अहिले चिसो पेय पदार्थ खान थालेका छन् । स्वास्थ्यको दृष्टिकोण र आन्तरिक अर्थतन्त्रको हिसाबले पनि यस्तो संस्कार बढाउन प्रोत्साहन गर्नुपर्छ ।

(डीडीसीका निवर्तमान महाप्रबन्धक झासँग अनलाइनखबरकर्मी अमृत चिमरियाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?