+
+

एसियाडमा कराते र कबड्डीले छोपेको नेपालको कमजोरी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज २८ गते १८:५०

२८ असोज, काठमाडौं । १९औं एसियाडमा २९ खेलमा सहभागिता जनाउन नेपालले अहिलेसम्मकै धेरै २५३ खेलाडीलाई चीनके हान्झाउ पठाएको थियो । तर करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कांस्य पदक जित्नुबाहेक अरु खेलाडी रित्तो हात रहे ।

दुई हप्ता भन्दा बढी समय चलेको एसियाडमा नेपाल पदकविहीन नै हुने हो कि भन्ने चिन्ताका बीच कराते र कबड्डीले नाक राख्यो । यही दुई पदकले १९ औं एसियन गेम्समा नेपालको कमजोरीलाई छोपिदियो र उपलब्धिमूलक बनेको देखियो ।

एसियाडमा नेपालले करातेबाट हालसम्म चारवटा पदक जितेको छ, र सबैभन्दा ठूलो पदक यसवर्ष एरिकाले जितेको रजत नै हो । यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टिमले डेब्यू एसियाडमै कांस्य जित्यो ।

१४औं दिन कबड्डीले नेपाललाई पदक तालिकामा समावेश गराएर पदकविहीन हुने डर निवारण गरेको थियो । १५ औं दिन कबड्डी खेलाडीले कांस्य पदक पहिरिँदै गर्दा एरिकाले पनि रजत जितिन् ।

यसअघि सन् २०१८ मा इन्डोनेसियामा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो, यसवर्ष करातेले जितेपछि नेपाल लगातार एसियाडमा रजत जित्ने टिम बन्यो ।

पदक बाहेक हान्झाउमा एथ्लेटिक्सतर्फ दीपक अधिकारी र भारोत्तोलनका सागर भण्डारी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु नेपालको उपलब्धी रह्यो । दीपकले १० हजार मिटर दौड ३० मिनेट भन्दा कम समयमा पूरा गरे ।

सागरले नेपाली भारोत्तोलन इतिहासमै अहिलेसम्मकै सर्वाधिक ३०३ केजी भार बहन गर्ने कीर्तिमान बनाए । त्यसअघि विशाल सिंह विष्टले पनि ३०१ केजी भार बहन गर्दै ३०० भन्दा बढी भार बहन गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका थिए ।

यस बाहेक पहिलो पटक समावेश भएको इस्पोर्ट्स अन्तर्गत पब्जी मोबाइलमा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । पदकको आशा देखाए पनि पब्जीमा नेपाल फाइनल पुग्न सकेन ।

व्यक्तिगतर्फ तेक्वान्दोका प्रेम लिम्बु, गोविन्दबहादुर आले, अन्जली तामाङ, करातेका विप्लव श्रेष्ठ, टेनिसका प्रदीप खड्का, स्क्वासका विपना ब्लोन, ब्याडमिन्टनका रसिला महर्जन र डबल्स इभेन्ट गरी केही खेलमा नेपालले जित हात पारे पनि पदकसम्म पुग्न सकेन ।

दुई पदक जित्दा नेपालको अन्य खेलको प्रदर्शन निकै कमजोर देखियो । अधिकांश खेलमा पहिलो खेलमै पराजित हुँदै बाहिरिने नेपालको नियति नै बन्यो । कतिपय खेलमा नेपाल पूरा समय टिक्न समेत सकेन । केही अपवादलाई छाडेर नेपालको स्थान अन्तिमतिरै हुन्थ्यो ।

मास गेमको रुपमा रहेको फुटबल, क्रिकेट, भलिबल बास्केटबलमा धेरै चासो र चर्चा हुन्छ । त्यसमध्ये क्रिकेटमा नेपालको पुरुष टोलीले दुई खेलमा कीर्तिमान सहित जित निकालेको थियो तर भारतसँग कडा टक्कर गरे पनि क्वार्टरफाइनलमा पराजित हुँदा पदक जित्ने नपालको लक्ष्य पूरा हुन सकेन ।

भलिबलमा पुरुषले दुवै खेल हार्‍यो भने महिलाले ५ खेल खेल्दा एक खेल मात्र जित्यो । महिला फुटबलमा जापान र भियतनामसँग पराजित नेपालले बंगलादेशसँग बराबरी खेल्यो । महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल तीनै खेलमा पराजित भयो । रग्बी, फेन्सिङ ह्यान्डबलमा पनि नेपाल सबै खेलमा पराजित भयो ।

एसियाडमा धेरै पदक जितेका तेक्वान्दो र बक्सिङले आफ्नो विरासत जोगाउन सकेन । तेक्वान्दोले २००६ पछि र बक्सिङले २०१० पछि पदक जित्न सकेको छैन ।

नेपालबाट एसियाडमा सहभागी २९ खेलमध्ये दुई तिहाई भन्दा बढी खेलले पदक जित्न सक्दैन भन्ने पहिल्यै थाहा थियो । राखेपले करातेसहित तेक्वान्दो र बक्सिङलाई पदक जित्न सक्ने मुख्य खेलको रुपमा राखेको थियो भने इस्पोर्ट्स गल्फ क्यानोई लगायतबाट पनि केही आशावादी थियो । तर आशामै सीमित रह्यो ।

नेपालले खेल्न पाउने ठूलो प्रतियोगिता नै एसियाड हो र यसमा सहभागी हुन छनोट चरण पार गर्नुपर्दैन । ओलम्पिक नेपालको लागि धेरै टाढाको यात्रा बन्नु र दक्षिण एसियाली खेलकुद (साग) को पनि टुंगो नहुनुले नेपाली खेलाडीको लागि एसियाड ठूलो खेल हो ।

एक दशक भन्दा बढी समय खेल क्षेत्रमा लागेका खेलाडीका लागि एउटा एसियाडमा सहभागिता नै खेल जीवनको उपलब्धी मानिन्छ । त्यसैले नेपालले खेलाडीलाई अवसर दिनका लागि मात्र धेरै खेलमा सहभागिता जनाएको हो ।

तर नेपाल भन्दा सानो देशले पनि एसियाडमा स्वर्णपदक जितिसकेको अवस्थामा नेपाल भने सहभागितामा नै रमाइरहनु चिन्ताजनक छ । सात दशक भन्दा लामो इतिहास रहेको एसियाडमा नेपालले सन् १९५१ को पहिलो संस्करणदेखि नै सहभागिता जनाउन थालेको थियो । तर अहिलेसम्म १९ मध्ये १७ संस्करणमा सहभागी भइसकेको नेपालले ३ रजत र २३ कास्य गरी २६ पदक मात्र जितेको छ भने स्वर्ण जित्न सकेको छैन ।

नेपालको खेल क्षेत्रमा लगानी, खेल पूर्वाधार र खेलाडीको प्रशिक्षण तथा अभ्यासका आधारमा हेर्दा ठूलो प्रतियोगितामा नेपालको मानसिकता नै कमजोर हुन्छ । पदक जित्ने लक्ष्यसहित २०औं एसियाडका लागि अहिलेदेखि नै तयारी सुरु गरेमा मात्र नेपालले उपलब्धी हात पार्न सक्ला । तर नेपालमा अन्तिम समयमा तयारी गर्ने चलन छ ।

हान्झाउमा ब्रिड्ज गेममा कमिस टिममा स्वर्ण जितेका श्रीमान श्रीमतीको जोडीले २०१८ मा रजतमा सीमित भएपछि ५ वर्षसम्म तयारी गरेका थिए र उनीहरुले त्यही अनुसारको नतिजा पनि ल्याए ।

नेपालले १९औं मा पदक जितेको दुई खेल अघिल्लो एसियाड हुँदा दृश्यमै थिएन । करातेकी एरिका भर्खर १४ वर्षकी थिइन् । उनले त उमेर नपुग्दा सन् २०१९ मा नेपालमै भएको १३औं साग पनि खेल्न पाइनन् । उता महिला कबड्डी टोलीले त एसियाडमा सहभागिता पनि जनाएको थिएन ।

त्यसैले एसियाड जस्तो मल्टी स्पोर्टिङ इभेन्टमा जाँदा हामी कति खेलमा सहभागी हुने कति खेलाडी पठाउने कुन खेलमा पदक जित्ने सम्भावना हुन्छ भनेर बेलैमा योजना बनाएर तयारी गर्नुपर्छ । अरु देशले २०औं एसियाडका लागि चार वर्षदेखि तयारी गर्छन् । अब नेपालले पनि त्यसका लागि ढिलो गर्नु हुँदैन ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?