+
+

ड्रेसकोडको विरोधमा युनिभर्सल मेडिकल कलेजमा पढाइ र उपचार सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते ८:४७

२९ असोज, बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ ।

कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरु पढाइ बन्द गराएर आन्दोलनमा छन् ।

उनीहरुको आन्दोलनमा इन्टर्न डाक्टरहरुले पनि साथ दिएपछि पढाइसँगै उपचार सेवा बन्द छ । विद्यार्थी र चिकित्सकहरुको आन्दोलनले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।

प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।

यही विषयमा सुरु भएको विरोध प्रिन्सिपल पाठकको राजीनामा माग र उपचार सेवा नै बन्द गर्ने हदसम्म पुगेको छ ।

विद्यार्थीहरुले पि्रन्सिपल पाठकले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड खारेज गर्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् । यी माग पूरा गर्न दबाब दिने उद्देश्यले विद्यार्थीहरुले रिले अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा आइतबार चार घण्टा बढी समय कलेज प्रशासन र विद्यार्थीहरुबीच वार्ता भएको थियो ।

आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल पाठकलाई भगाइएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप लगाएका थिए । उक्त वार्ता विनानिष्कर्ष सकिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताएका छन् ।

वार्ता गर्दा पनि विद्यार्थीहरु प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गर्न नमानेपछि मागका सम्बन्धमा वार्ता गर्दै जाने तर प्रिन्सिपललाई त्यो अवस्थामा राखिराख्न हुँदैन भनेर मुक्त गरिएको अर्यालले बताए ।

प्रिन्सिपल पाठकलाई कलेजको पाँचौं तलाबाट विद्यार्थीहरुले नै वार्तास्थलमा ल्याएको उनले जानकारी दिए ।

विद्यार्थीका जायज मागहरू कलेज प्रशासनले माग सम्बोधन गरी पठनपाठन र उपचार सेवा सुरु गर्नेतर्फ ढिला गर्न नहुने सुझाव आफूले दिएको अर्यालले बताए । विद्यार्थीहरुले आरोप लगाएजस्तो प्रशासनले बल प्रयोग र हस्तक्षेप नगरेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?