+
+

एनआरएनलाई नागरिकता : के गर्न पाउँछन्, के पाउँदैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ७:५१

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गरेको छ ।

गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गरे । उनले एनआरएन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्रि केसीलाई नेपाली नागरिकता हस्तान्तरण गरे । सो कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री, सचिव तथा काठमाडौं र पर्वतका प्रमुख जिल्ला अधिकारीहरु समेत सहभागी थिए ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।

साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?