 
																			३० असोज, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्समा एसियन लाइफ इन्स्योरेन्सले लगानी गर्ने निश्चित भएको छ । यती एअरलायन्सको व्यवसाय विस्तारका योजनासहित ४९ प्रतिशत लगानीका साथ एसियन लाइफ इन्स्योरेन्स कम्पनी भित्रिएको हो ।
दुई पक्षबीच यस विषयमा सहमति भइसकेको र दशैंलगत्तै समझदारी पत्रमा हस्ताक्षर हुने स्रोतले अनलाइनखबरलाई बतायो । कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी भित्रिने टुंगो लागेसँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुभास सापकोटालाई नियुक्त भएका छन् ।
पेसाले चार्टर्ड एकाण्टेन्ट उनी यसअघि एफवान सफ्टको निर्देशक थिए । यतिले लगानी भित्राएर आक्रामक बजार बिस्तारको तयारी गरेको छ । सो क्रममा पब्लिक कम्पनीका रुपमा आइपीओ समेत जारी गर्ने पनि यति एयरलाइन्सले यसअघि नै सार्वजनिक गरिसकेको छ । कम्पनीसँग अहिले ५ वटा एटीआर जहाज छन् ।
यसलाई कम्तीमा दोब्बर बनाउने र त्यसका लागि आवश्यक स्रोतका लागि कम्पनीले नयाँ साझेदार भित्राउने देखि आइपीओमा जानेसम्मका योजना बनाएको हो । ‘अहिले एसियन लाइफसँग लगानी थप गर्ने विषयमा सहमति भएको छ, सम्झौतामा हस्ताक्षर छिट्टै हुनेछ,’ स्रोतले भन्यो, ‘विस्तृत जानकारी सोही सम्झौताका बेला उल्लेख हुनेछ ।’
यति एयरलाइन्स यात्रु संख्याका हिसावमा नेपालको दोस्रो ठूलो वायुसेवा कम्पनी हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4