+
+

ऊर्जा मन्त्रालयको नेतृत्व तह नै विदेश भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १८:२६

१ कात्तिक, काठमाडौं । नेतृत्व तह नै रित्तो बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राजनीतिक तथा प्रशासनिक नेतृत्व विदेश भ्रमणमा निस्किएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत बुधबार थाइल्याण्डको राजधानी बैंककतिर लागेका छन् ।

अक्टोबर १९ र २० मा हुने तेस्रो एसिया–प्यासेफिक इनर्जी फोरम’ मा भाग लिन भन्दै उनी त्यता लागेका हुन् । मन्त्री बस्नेतसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड लागेका छन् ।

मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे यसअघि नै अमेरिका र युरोप भ्रमणका लागि निस्किसकेका छन् । ऊर्जा मन्त्रालय स्रोतका अनुसार उनी अमेरिकाबाट स्कटल्यान्ड पुगेर पुनः अमेरिका नै फर्किएका छन् । मन्त्रालय  सिँचाइ मामिला हेर्ने सचिव गोपालप्रसाद सिग्देलको भरमा छाडिएको छ ।

सचिव घिमिरे गत असोज पहिलो साता भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै चीन भ्रमणमा पनि गएका थिए । ऊर्जा सम्बद्ध चिलिमे–केरुङ २२० केभीको प्रसारणलाइन निर्माणको अध्ययन गर्ने समझदारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गर्ने तय भए पनि सचिव घिमिरे चीन भ्रमणको टोलीमा समावेश थिए । सो भ्रमणमा ऊर्जासम्बद्ध अरु कुनै समझदारीको कार्यक्रम नै थिएन ।

अझ ऊर्जा सचिव दिनेशकुमार घिमिरे गत जेठ महिनाको मसान्ततिर ‘एसिया क्लिन इनर्जी फोरम २०२३’ मा भाग लिने भन्दै फिलिपिन्स पुगेका थिए । उनी यही बीचमा ‘नेपाल–बंगलादेश ऊर्जा सहकार्य’ विषयक कार्यक्रममा भाग लिन बंगलादेशको ढाका पनि पुगे । दिगो अन्तरदेशीय विद्युत् व्यापारबारे दक्षिण एसियाली सम्मेलनमा सहभागी हुन भारत भ्रमण पनि गरे ।

सचिव घिमिरे मात्रै हैन, मन्त्री बस्नेत पनि विदेश भ्रमणमा अधिक रुचि देखाइरहेका छन् । गत जेठमा प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको बैठकमा सहभागी हुन ८ साउनमा संयुक्त अरब इमिरेट्सको अबुधावी गएका थिए ।

ऊर्जा मन्त्रालयका मन्त्री र सचिव मात्रै हैन, केही कर्मचारीहरु पनि विदेश भ्रमणमा मस्त छन् । अपर अरुण जलविद्युत आयोजनाका प्रवन्ध निर्देशक फणिन्द्रराज जोशी अष्ट्रेलियापछि स्कटल्यान्ड हुँदै अमेरिका पुगेका छन् । जोशीसँगै रामचन्द्र पौडेल पनि टिममा छन् ।

गत हप्ता मोरक्कोको मेराकस पुगेर अर्थमन्त्री माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता दिन विश्व बैंक सकारात्मक भएको भन्दै नेपाल फर्किएका छन् । आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली प्रतिनिधिमण्डलले अमेरिकाको वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्नुपर्ने भन्दै अर्थ र ऊर्जा सचिवसहितको टोली अमेरिकाको वासिङ्टनमा पुगेको हो ।

यही बेला ऊर्जा मन्त्रालय अन्तरगतको विद्युत् उत्पादन कम्पनी लिमिटेडले युरोप भ्रमणको कार्यतालिका बनाइसकेको छ । विद्युत् उत्पादन कम्पनी अन्तर्गतको मुगु–कर्णाली आयोजनाका प्रमुख रहेका सूर्यप्रकाश पाण्डेले ८ तहबाट एकै पटक १०औं तहमा बढुवा पाएपछि त्यसकै ‘रिट्रिट’ स्वरुप आयोजनाकै पैसा खर्चिएर युरोप भ्रमणको तालिका बनाएका हुन् ।

यो टोलीमा पाण्डेसहित विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत, ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देव, विद्युत् उत्पादन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र सञ्चालक सूर्यप्रसाद रिजाल लगायत जाने तय भइसकेको मन्त्रालय स्रोतले बतायो ।

परामर्शदाताका रूपमा काम गरिरहेको नेपाल विद्युत् प्राधिकरणको भगिनी कम्पनी एनईए इन्जिनियरिङले क्षमता अभिवृद्धिका लागि यो टोलीलाई युरोप भ्रमणमा पठाउने निर्णय गरिसकेको छ । आर्थिक संकट भोगिरहेको सरकारका कम्पनीहरुलाई आर्थिक भार थप्ने गरी हुन लागेको कुनै पनि भ्रमण रोक्न ऊर्जा मन्त्रालयका नेतृत्व उदाशीन छ ।

सरकारले लक्ष्यको तुलनामा राजस्व निकै कम उठेर चालु खर्च समेत धान्न ऋण उठाइरहेका बेला मन्त्रालयहरू विदेश भ्रमणको तालिका धमाधम स्वीकृत गरिहरेका छन्। निष्फिक्री विदेश घुमिरहेका मन्त्री र सचिवहरू सरकारी कामकाजकै लागि भ्रमणमा निस्केको बहाना बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?