+
+

दशैं–तिहारलाई नेपालमै बनेका कपडा

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक ४ गते १७:११
फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । होलसेल व्यवसायी राजन पराजुलीले चीन, थाइल्याण्ड र बंगलादेशबाट रेडिमेड कपडा ल्याएर बिक्री गरेरै १४ वर्ष बिताए । व्यापारकै क्रममा विदेशका विभिन्न ब्राण्डका शोरुमदेखि फ्याक्ट्री सम्मै उनी घुमे । सुरुआती दिनमा उनलाई विदेशका कपडा नेपाल ल्याएर बिक्री गर्ने मात्रै ध्येय हुन्थ्यो ।

तर विस्तारै उनलाई आफैं उद्यमी बन्ने जोश चढ्यो । चीन, बंगलादेश लगायत मुलुकका तयारी पोशाक उद्योगमा भ्रमण गर्दा उनीहरूले प्रयोग गरिरहेको मेशिन नेपालमै ल्याएर कपडा बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो । नेपालमै केही गर्ने हुटहुटीले १४ वर्ष लामो कपडाको आयातको व्यापार छोडेर वि.सं. २०७३ मा उनले काठमाडौंको बालाजुमा कपडा उत्पादन गर्ने प्लान्ट लगाए ।

स्वदेशकै स्तरीय कच्चा पदार्थ र विदेशबाट समेत कच्चा पदार्थ आयात गरेर उनले उत्पादन थाले । मजेत्रो ब्रान्डको नामबाट स्वदेशमै कपडा उत्पादन थालेका पराजुलीका उद्योगको उत्पादन अहिले देशभरै बिक्री हुन्छ । ‘नेपालमा कपडा उत्पादन गर्न थाले त यी देशबाट कच्चा पदार्थ मात्रै लगे हुन्छ’ पराजुली भन्छन्, ‘यसो गर्दा एक त वस्तुको उत्पादनमा मूल्य अभिवृद्धि हुन्छ, नेपालमा रोजगारी बढ्छ भने नेपालको परनिर्भरता विस्तारै घढ्दै जान्छ ।’

मजेत्रोका अलावा स्थानीय बजारबाट हुने अर्डर अनुसारको कपडा पनि उनको फ्याक्ट्रीले उत्पादन गर्छ । महिला, पुरुष र बालिकाका भित्री वस्त्र बाहेकका सबैखाले कपडा उनको उद्योगले उत्पादन गर्छ । ‘हामी दैनिक १५०० थान कपडा उत्पादन गर्ने क्षमता राख्छौं’ पराजुली भन्छन्, ‘सबै प्रकारका कपडा बजारमा पु¥याएका छौं । ठूला चाडपर्वका लागि भनेर विदेशी कपडाको भर पर्नुपर्ने अवस्था छैन ।’

ललितपुरको इमाडोलमा कमल विष्टले अर्किड फेसन नामक गार्मेन्ट उद्योग चलाएको चार वर्ष भयो । आयात–निर्यात व्यापारको २६ वर्षे यात्रा मोडेर कपडा उत्पादन गर्ने उद्योगमा हामफालेका विष्टको उद्योगले सबै प्रकारका कपडा उत्पादन गर्छ ।

प्रतिमहिना ५० हजार थान कपडा उत्पादन गर्ने उनको उद्योगले पनि काठमाडौं उपत्यका सहित देशैभरका पसलहरूलाई कपडा उपलब्ध गराउँछ । ‘पहिले असन र इन्द्रचोक कपडा लिन जानुपर्दथ्यो’ विष्ट भन्छन्, ‘अब काठमाडौं वरपर छरिएर रहेका गार्मेन्टले ठूलो मात्रामा बजारको आवश्यकता पूरा गरिरहेका छन् ।’

विष्टका अनुसार नेपालीले रुचाउने सबै प्रकारका कपडाहरू अन्तर्राष्ट्रिय गुणस्तर अनुसार नै उत्पादन भइरहेका छन् र बजारमा ग्राहकको मन पनि जितिरहेका छन् ।

नेपालमा आफ्नै उद्योग लगाएर कपडा उत्पादन गर्ने कमल र राजन त केही प्रतिनिधि पात्र मात्रै हुन् । सत्तरी दशकको मध्यतिर सुरु भएको नेपालमै कपडा उत्पादन गर्ने उद्यम यतिबेला देशभर फैलिइरहेको छ ।

उपलब्ध भएसम्म नेपाली कच्चा पदार्थ र त्यो नभए विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमै कपडा उत्पादन गरिरहेकाहरूको संख्या सयबाट हजारमा पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै २ हजार बढी यस्ता व्यावसायिक गार्मेन्ट सञ्चालनमा आउँदा दशैं–तिहार जस्ता ठूला पर्वमा आयातित कपडाको भर पर्नुपर्ने अवस्था नरहेको व्यवसायीहरूको दाबी छ ।

कुनै बेला दशैं–तिहार जस्ता ठूला पर्व आउने बित्तिकै असन इन्द्रचोकको बजारमा मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । तर, केही वर्षदेखि यस्तो दृश्य हराउँदै गएको छ । यस्तो हुनुमा काठमाडौं वरपरका काँठ क्षेत्रदेखि देशैभरका ठूला शहरकेन्द्रित स्वदेशी गार्मेन्ट उद्योग रहेको उद्यमीहरू बताउँछन् ।

नेपालमै कपडा उत्पादन गरिरहेका उद्यमीहरूको संस्था नेपाल स्थानीय तयारी पोशाक संघका अनुसार अहिले काठमाडौं उपत्यकामा २ हजार हाराहारी र देशका साना–ठूला प्रत्येक शहरमा यस्ता गार्मेन्ट उद्योग खुलेका छन् । यस्ता उद्योगहरूले संगठित रूपमा आफ्नो उत्पादनको ब्रान्डिङ सुरु गर्न भन्दै भर्खरै नयाँबानेश्वरमा आफ्नै नेपाली उत्पादनको आउटलेट पनि सञ्चालनमा ल्याएको छ ।

पोखरा, चितवन, इटहरी, विराटनगर, बुटवलदेखि सुर्खेतमा समेत यस्तो उद्यम सञ्चालनमा आएका छन् । संघका अध्यक्ष किशोर नेपालका अनुसार सुर्खेतमा समेत २५ वटा यस्ता उद्योगहरू सञ्चालनमा आइसकेका छन् ।

बजारको कुल तयारी पोशाकको खपतमा करिब ३३ प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको उद्योगीहरूको दाबी छ । ‘पहिले होलसेलले आयात गरेर असन इन्द्रचोकमा ल्याउँथे । सामान लिन त्यहीं जानुपर्दथ्यो तर अब त फ्याक्ट्रीबाटै लत्ता–कपडा डेलिभरी हुन्छ’ अध्यक्ष नेपाल भन्छन्, ‘उपत्यका सहित देशैभर फ्याक्ट्री पुगेपछि विकल्प नै फेरिएको छ ।’

उद्यमीहरूका अनुसार नेपालमा बनेका कपडाहरू अहिले विश्व बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेका छन् । नेपाल आएका पर्यटकका लागि पनि ती कपडाहरू निकै रुचाइएका छन् । तर, नेपालको एउटा वर्गको रोजाइमा अझै नेपाली कपडा पर्न नसक्दा यो उद्यमको स्थायित्वमा उनीहरू शंका गर्छन् ।

नेपाली कपडाहरू यूरोप, अमेरिका र भारतका दार्जीलिङ, सिक्किम क्षेत्रमा समेत निर्यात भइरहेको छ । अहिले पनि नेपालमा बनेको शोनाम, कोक्रोमा, शेर्पा, जुजु, बेसमार्ट, टिकामोर, इन्च जस्ता ब्रान्डका कपडा नेपाली बजारका अलावा विश्वबजारमा निकै रुचाइएको उद्यमी कमल विष्ट बताउँछन् ।

एकादेशमा लाखे, डाँफे, रियल हेम्प, मुड २३, लोगा काश्यपी, राइडर्स जस्ता ब्रान्ड नेपालमा स्थापित भइरहेका छन् । यस्ता ब्रान्डका कपडाहरू निकै सस्तोमा १०० देखि ३० हजार रुपैयाँ भन्दा माथि मूल्यको समेत रहेको नेपाल स्थानीय तयारी पोशाक संघले जनाएको छ ।

बजारमा नेपाली ब्रान्ड स्थापित हुँदै जाँदा विदेशी रेडिमेट कपडाको आयात घटेको व्यवसायीहरू दाबी गर्छन् । २०७२ को भूकम्प र २०७६ सालपछि नेपालमा बेस्सरी गार्मेन्ट उद्योग बढेको अध्यक्ष केशव नेपाल बताउँछन् ।

नेपाली उपभोक्ताको रोजाइ र मूल्य अनुसारको उत्पादन बजारमा आएपछि आयातित चोरीका कपडाको शिकार नेपाली उत्पादन भएको उद्योगीहरूको दाबी छ । ‘भन्सार प्रणालीबाटै सामान आएको खण्डमा हामी बजारमा प्रतिस्पर्धा गर्न सक्षम छौं तर राज्यले भन्सार प्रणाली बलियो बनाउन नसक्दा राज्यको राजस्व, नेपाली उद्योगको लगानी जोखिममा छ । नेपालमा वार्षिक ६ खर्ब रुपैयाँ बढीको कपडा खपत हुने व्यापारीहरू बताउँछन् । सरकारसँग कपडा आयातको खास तथ्याङ्क छैन ।

नेपाल कपडा उत्पादक संघका अनुसार नेपालमा वार्षिक ६ खर्ब रुपैयाँको तयारी कपडा खपत हुन्छ । तर, १५ अर्ब रुपैयाँ बराबरको कपडा नेपाली स्वदेशी उत्पादकले बजारमा पठाइरहेका छन् भने ५६ अर्ब रुपैयाँ बराबरको आयात भइरहेको देखिएको संघका अध्यक्ष शैलेन्द्र प्रधान बताउँछन् ।

‘नेपाली कपडा चोरीका अवैध कपडाको मारमा परेका छन्’ उनी भन्छन्, ‘सरकारले उद्योगको प्रवर्धनमा पनि सुविधा कटौती ग¥यो । अर्कोतर्फ चोरी तस्करीलाई पनि प्रोत्साहन गर्‍यो ।’ वार्षिक ६ खर्बको बजारमा एक खर्बको मात्रै वैधानिक कारोबार हुनुले यस क्षेत्रको अन्य तथ्याङ्क सबै गलत लाग्ने उनले बताए ।

प्रधानका अनुसार नेपालमा रहेका कम्पनीले सेन्थेटिक कपडाको हकमा ८० प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गर्ने गरेका छन् । कटन कच्चा पदार्थमा भने ९० प्रतिशत बजार भारतमै निर्भर रहेको संघको भनाइ छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?