+
+

अहिलेको व्यवस्थाले निकास नदिने रियलाइजेसनबाट समाजवादी मोर्चा बन्यो : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते ८:०२

६ कात्तिक, चितवन । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व चार सत्ताघटक दल र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा गठन गरियो । मोर्चाको आवश्यकता र यसको भविष्यबारे टिकाटिप्पणी भइरहेका बेला नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भने अहिलेको संसदीय व्यवस्थाले राजनीतिक निकास र देशको विकास नहुने निष्कर्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका कारण समाजवादी मोर्चा बनेको दावी गर्छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अहिलेको राजनीतिक प्रणालीले व्यवस्थाले निकास नदिने कुरा स्पष्ट भैसकेकाले नयाँ व्यवस्थामा जानुपर्ने बताए । प्रस्तुत छ, चितवनमा भेटिएका नेकपा महासचिव विप्लवसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी–

सातै प्रदेशमा सन्देश सभा आयोजना गर्नुभयो । कस्तो रेस्पोन्स पाउनुभयो ?

हो, हामीले सातैवटा प्रदेशमा मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिन सन्देश सभाहरु आयोजना गर्यौं । यसबाट मोर्चाको बारेमा रहेका केही अस्पष्टता र केही अन्योलहरु भएको भए पनि मेटिएको ठानेका छौं । एकदमै राम्रो, सकारात्मक प्रतिक्रिया, सुझावहरु पाएका छौं । प्रगतिशील, देशभक्त र परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा ल्याउने पहल गर्न थप ऊर्जा संगालेका छौं र त्यसबाट सकारात्मक परिणाम निस्किन्छ भन्ने विश्वास छ ।

तपाईं अहिलेको संविधान र व्यवस्था मान्दिनँ भनेर हिंसात्मक विद्रोहमा लाग्नुभयो र पछि शान्ति प्रक्रियामा आउनुभयो । अहिलेको संविधान र व्यवस्थाको आनन्द लिइरहेको सत्ताको नेतृत्वसँग समाजवादी मोर्चामा हुनुहुन्छ । कसरी सम्भव भयो ?

अहिलेको देशको आवश्यकता, नेपालको राजनीतिमा बदलिएको परिस्थिति र कुनै न कुनै रुपमा माओवादी धारको आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने लागेर हामीले मोर्चा बनाएका हौं । प्रगतिशील, देशभक्त र परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्ने साझा निष्कर्ष निकालेर नै समाजवादी मोर्चा बनेको हो । यसको लक्ष्य र उद्देश्य हामीले स्पष्ट गरेका छौं । यो सबैको र देशको आजको आवश्यकता हो भन्ने लाग्छ । जहाँसम्म संविधान र अहिलेको व्यवस्था नमान्ने भन्ने कुरा गर्नुभयो, हो, अहिलेको संविधानमा थुप्रै त्रुटिहरु छन् । अहिलेको व्यवस्थाले जनताका आकांक्षा, दिगो शान्ति, विकास र समृद्धि दिन सकेन भन्ने त देखियो नि । हामीले भनेको सही रहेछ भन्ने पनि पुष्टि भयो । त्यसैले, यसमा सुधार हुनुपर्छ भन्ने हाम्रो लाइन हो, यसमा प्रचण्डजीहरु पनि सहमत हुनुहुन्छ ।

प्रचण्डहरु तपाईंको मुद्दामा सहमत भएर मोर्चा बनेको हो ?

पक्कै पनि उहाँहरुले एउटा रियलाइजेसन गर्नुभएको छ । हामी १५/२० बर्ष अहिलेको संसदीय व्यवस्था हेर्यौं नि त । के यसले निकास दियो त ? दिएन । अहिलेको यही व्यवस्थाले निकास दिँदैन भन्ने निष्कर्षमा उहाँहरु पनि पुग्नुभएको छ । नेपाली जनताले परिवर्तन चाहेका छन् । अहिलेको यही अवस्थाले निकास दिँदैन भनेर हामीले उठाएको विषय सही छ भन्ने पनि देखियो ।

जनतालाई शान्ति दिने हो, अग्रगमन दिने हो, राष्ट्रिय स्वाधिनता दिने हो भने त कसैको विमती हुँदैन । जसरी हिजो संविधानमा, गणतन्त्रमा सबै दलहरुको सहमती भयो त्यसरी नै समाजवादी मोर्चामा पनि सहमती हुन्छ । त्यसैले नेपाली विशेषता बोकेको समाजवादमा जानुपर्छ भन्ने कुरा मोर्चाको १५ बुँदे घोषणापत्रमा पनि उल्लेख गरेका छौं ।

तपाईंले अघि भन्नुभयो, माओवादी धारहरुको एकता । माओवादी केन्द्रसँग तपाईंको पार्टीको एकता कहिले हुन्छ ?

माओवादी धारलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा प्रचण्ड जी र हामी सबै सहमत नै छौं । पहिला हामी मोर्चा बनाउन सहमत भयौँ । एकचरण हामी यसमा जान्छौं । माओवादीलाई एकतावद्ध गर्ने हाम्रो चाहना छ । बहसहरु छन्, विचारका प्रश्नहरु छन्, कार्यक्रमका प्रश्नहरु छन् । हामीले यो बीचमा अलग बाटो लियौँ । यसलाई हेर्ने दृष्टिकोण के हो ? ती विषयमा छलफल हुँदै जान्छ । प्रचण्ड हाम्रो अग्रज नेता हो, त्यसमा आपत्ती छैन । उहाँले एकीकृत जनक्रान्तिका शहीद पनि हाम्रा हुन् भन्नुभएको छ । हामीले ‘सी जाती’ बनाएका छौं । अलग खालको संस्कार र संस्कृतिको विकास गरेका छौं । यी विषयमा छलफल हुन बाँकी नै छ ।

पार्टी एकता गरेर तपाईं महासचिव बन्ने चर्चा चलिरहेको थियो तर तपाईंलाई रोक्ने प्रयास माओवादी केन्द्र भित्रैका केही नेताहरुबाट भयो । यसरी त कसरी माओवादीहरु एक ठाउँमा आउलान् र ?

त्यो त हाँसोलाग्दो कुरा हो । पार्टीका नेताहरु छलफल गर्नु, बैठक गर्नुलाई मैले ठूलो कुरा मानेको छैन । को के पदमा बस्ने भन्ने कुरा ठूलो कुरा हैन । त्यो माओवादी केन्द्रको कुरा हो । हामी त्यतातिर जानुहुँदैन । विषय त्यतातिर भन्दा पनि देश कहाँ छ ? कस्तो अवस्थामा छ ? यसको निकास कसरी दिने भन्नेमा हामी बढी लाग्नुपर्छ । अहिले देशमाथि नै चुनौती खडा भएको छ । साम्राज्यवादीहरुले आफ्नो अखडा बनाउन खोजिरहेका छन् । झारपात, च्याउ जस्तै विभिन्न शक्ति राजनीतिमा देखिएका छन् । यस्तो बेलामा को के बन्ने भन्ने महत्वपूर्ण कुरा हैन ।

समाजवादी मोर्चाको कमाण्डर नै अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ, जनताको देशका समस्याबारेमा तपाईंको मोर्चाका शीर्ष नेताहरुसँग कत्तिको छलफल हुन्छ ?

धेरै कुरा हुन पाएको छैन । तर बैठक भेटघाटमा सरकारलाई सही दिशामा कसरी लैजाने, जनताका समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा गम्भिरतापूर्वक छलफल हुन्छ । मोर्चाका अवधारणा नीति र कार्यक्रमलाई सरकारले कसरी कार्यान्वयन गर्छ हेर्न बाँकी छ । केही काम प्रचण्डले गर्नु पनि भएको छ । उहाँले कोसिस गर्नुभएको छ । उहाँलाई हामीले साथ दिनुपर्छ ।

जनताहरु अहिलेका राजनीतिक दलसँग वाक्क छन्, जनताका तमाम समस्याका बारेमा बोलिदिने कोही भएन, तपाईंहरुले जनताका मुद्दा सही ढंगले उठाउन नसक्दा नयाँ पार्टीहरुले पुरानालाई चुनौती दिइरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?

परिवर्तन ल्याउने नेता र पार्टीहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा आएको साँचो हो । तर हामी कोही पनि सफल हुँदैनौं भन्ने हैन । हामीले जनताका समस्या उठाउन बाहिरबाट निकै मिहिनेत पनि गरेकै हो । किसानका, मजदुरका, सुकुम्वासी, विद्यार्थीका समस्या उठाउन काम त हामीले नै गरेका हौँ नी । तर कुरा के छ भने, अहिलेको यही व्यवस्थामा रवि वा बालेन जी जो आए पनि कसैले केही गर्न सक्छ वा पाउँछन् भन्ने लाग्दैन ।

अहिलेको यो अस्थिरता दिने व्यवस्थाले काम गर्न दिँदैन । रवि जीहरुको पार्टी आए लगत्तै पैसा मागेको, भष्टाचार गरेको जस्ता विषय आए । पुराना दलहरुमा हुर्किएको यस्तो प्रवृति नयाँ दलमा त जन्मिदैदेखि देखियो । भनेपछि यहाँ कहीँ नै कहीँ समस्या छ । हामी सबैले एक ठाउँमा आएर देशको वस्तुनिष्ठ आवश्यकता र निकास दिने व्यवस्थामा सहमत भएर जानुपर्ने अवस्था आएको छ । हामी एकपटक देशको सेवा गर्न चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?