+
+

दशैंको दक्षिणामा कटकट नोट

सरकारले २०१७ सालबाट नेपाली मुद्राको मात्रै प्रचलन ल्याउन थालेसँगै दशैंमा नयाँ नोट साट्ने सुविधा दिइएको हो । नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विजय पराजुली विजय पराजुली
२०८० कात्तिक ६ गते १३:३३

६ कात्तिक, काठमाडौं । दशैंको मौकामा नयाँ लुगा पाउनु, परिवार र आफन्त भेट्नुको मज्जै अर्को छ । यही संस्कृतिमा जोडिन पुग्छ : दक्षिणा । अनि त्यसमा अभिन्न ढंगले मिसिएको छ– कटकट नयाँ नोट ।

नेपाल राष्ट्र बैंकले यही संस्कृतिलाई ‘प्रोत्साहन’ गर्दै हरेक दशैंमा नयाँ नोटहरू बजारमा ल्याउँछ । यो वर्ष पनि राष्ट्र बैंकले २९ असोजबाट नयाँ नोट सटही सुरु गरेको छ । गत वर्ष साना दरका करिब १५ अर्ब र ठूला दरका करिब ३५ अर्ब गरी करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो ।

यो वर्ष पनि सोही हाराहारी नयाँ नोट सर्कुलेनस हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २६ असोजदेखि नयाँ नोट उपलब्ध गराएको थियो भने सर्वसाधारणलाई वाणिज्य बैंकहरू, राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालय तथा नोट कोष भएको सरकारी बैंकहरूको कार्यालयबाट नोट सटही सुविधा उपलब्ध रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्य बताउँछन् ।

कागजी नोट प्रचलनमा ल्याउने सुरुवात नै दशैंकै बेलादेखि गरिएको थियो । २००२ साल असोजमा नेपालमा जुद्धशमशेरको पालामा कागजी नोटको पहिलो प्रकाशन गरिएको हो । पहिलो पटक ५, १० र १०० रुपैयाँका नोट चलनचल्तीमा ल्याइएको थियो ।

त्यसअघि नेपालमा भारतीय मुद्रा नै प्रचलनमा थियो । नेपाली मुद्राका रूपमा चाँदी, पित्तल लगायत धातुका सिक्का प्रयोग हुन्थे । नेपाली नोटको छपाइ सुरु भए पनि काठमाडौं उपत्यका र केही पहाडी जिल्ला बाहेक नेपालमा भारतीय मुद्राको नै दबदबा थियो ।

पहिलो पटक छापिएका नेपाली नोटहरूको प्रचलन पनि खासै बढ्न सकेन । भारतीय मुद्राको यही दबदबा कम गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना गरियो । जसको मुख्य उद्देश्य नेपाली मुद्राको यथोचित व्यवस्थापन र प्रचलन बढाउनु थियो । सदर मुलुकीखानाले छापेको नेपाली मुद्राको दायित्व सबै नेपाल राष्ट्र बैंकले लियो । पहिलो पटक नेपाल राष्ट्र बैंकबाट ७ फागुन २०१६ मा १, ५, १० र १०० रुपैयाँको नोट छापियो । सरकारले २०१७ साल जेठबाट मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय गर्यो । त्यतिखेरदेखि नै छापिएका नयाँ नोट दशैंमा साट्ने सुविधा दिइएको हो ।

त्यसपछि हरेक वर्ष दशैंको समयमा यसरी नै नयाँ नोट बजार जान्छ, तर जतन नहुँदा वर्षेनि ठूलो मात्रामा नोट झुत्रा हुने गरेको छ । यसरी काम नलाग्ने बनेका नोटहरू फेरि राष्ट्र बैंक नै पुग्छन् । केन्द्रीय बैंकको अनुसार पछिल्ला वर्षहरूमा ४० देखि ५० अर्ब हाराहारी हरेक वर्ष झुत्रा नोटहरू नष्ट गरिन्छ । यसरी हरेक वर्ष झुत्रा नोट नष्ट हुने र राष्ट्र बैंकले पुनः छपाउने प्रक्रिया निरन्तर चलिरहन्छ । राष्ट्र बैंकले नोट छाप्नको लागि ग्लोबल ट्रेन्डर गर्छ भने विदेशी कम्पनी मार्फत नोट छापिएर आउने गर्छ ।

नोट छपाइकै लागि हरेक वर्ष अर्बौं रुपैयाँ विदेशिने गरेको नेपाल राष्ट्र बैंकको ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ सम्बन्धी राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदनले देखाउँछ । नेपाल राष्ट्र बैंकले नोट छपाइ तथा वितरणमा पछिल्लो पाँच वर्षमा औसत १ अर्ब ३७ करोडभन्दा बढी खर्च गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकले नोट छपाइ र वितरणमा करिब २ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्दा २०७७/७८ मा १ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

नोट छपाइमा हुने ठूलो लागत र त्यसको लागि देशबाट बाहिरिने विदेशी मुद्रा ठूलो हुने भएकाले पनि नोटको जतन कति जरूरी छ भन्ने देखिन्छ । हरेक वर्ष चाडपर्वमा बजारमा पठाइने नयाँ नोट पूजा गर्दा रङको प्रयोग हुनुका साथै पानीमा भिज्ने भएकाले चाँडै झुत्रो हुने गर्छ ।

माछा–मासु पसलमा मासु काटेको हातले पैसाको कारोबार गर्ने, यातायातका साधनमा भाडा उठाउँदा नोटलाई खुम्च्याउने जस्ता कारण पनि नोट चाँडै झुत्रा हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । तर, पछिल्ला वर्षहरूमा नोटको प्रयोगमा केही सुधार भने भएको उनीहरूको भनाइ छ । विशेष गरेर चाडपर्वमा नोटमा पूजा गर्नु साटो जतन गर्नुपर्ने भन्ने कुरामा आम सर्वसाधारणमा चेतना बढेको छ ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नेपालमा ठूला नोट (रु.५०० र १०००) को आयु ४ वर्ष हाराहारी हुने गरेको छ । औपचारिक अध्ययन नभए पनि साना दरको नोटको औसत आयु भने दुईदेखि साढे २ वर्ष मात्र हुने गरेको अनुमान रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोख्रेल बताउँछन् ।

नोट जतन गर्नको लागि जनचेतना जगाउनुको साथै नोटको प्रयोग नै कम गर्न राष्ट्र बैंकले पछिल्लो समय डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेको छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दो छ । तर, चाडपर्वहरूमा डिजिटल दक्षिणा प्रभावकारी देखिएको छैन । चाडबाडमा डिजिटल दक्षिणाका लागि सामाजिक र सांस्कृतिक समस्या छ ।

चाडबाडको दक्षिणा डिजिटल भन्दा अहिले पनि मन खिन्न बनाउने प्रचलन कायम छ । हाम्रो चलिआएको सामाजिक र सांस्कृतिक कल्चर परिवर्तनको लागि नयाँ पुस्ता आएपछि मात्रै सहज होला भन्ने विश्वास रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

नेपालको संस्कृति र परम्पराको रूपमा दशैंमा नयाँ नोटको प्रयोग विकास भएकोले यसलाई एकैपटक हटाउन गाह्रो रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । तर, यसलाई निरन्तरता दिंदै, वित्तीय साक्षरता र सचेतना बढाउन सकेको अवस्थामा मागमा कमी आउन सक्ने उनले बताए ।

डिजिटल माध्यमको प्रयोग बढ्दै जाने र सर्वसाधारणले पनि नोट छपाइमा मेरो लागत परिरहेको भन्ने महसुस भयो भने डिजिटल दक्षिणा भनेर चलिरहेको छ । त्यसमा जान सकिन्छ ।

कति लाग्छ नोट छपाइको लागत ?

नयाँ नोट छपाइको लागि नोटको दर अनुसार फरक–फरक शुल्क लाग्ने गरेको छ । नोट छपाइको लागत यति नै हो भन्ने यकिन तथ्यांक नभएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोख्रेल बताउँछन् । नोट छपाइको लागत तल–माथि भइरहने उनी बताउँछन् ।

‘मुद्रास्फीति सुरक्षाको फिचर बढाउँदा लागत पनि बढ्दै जान्छ’ उनले भने, ‘नेपालमा नोट प्रिन्ट हुँदैन । अन्तर्राष्ट्रिय बजारमा धेरै मुद्रास्फीति, मजदुर लागत लगायत धेरै कुराले नोट छपाइका लागत फरक पर्छ ।’

तर, प्रत्यक्ष रूपमा बोल–कबोलको तथ्यांकमा आधारमा नोट छपाइमा कतिसम्म लागत पर्छ भनेर केही आकलन भने भएको राष्ट्र बैंकका अर्का एक अधिकारीले बताए । सबभन्दा बढी छपाइ शुल्क ५०० दरका नोट छपाउन लाग्ने गरेको छ । ५०० दरको नोट छपाउन प्रतिनोट औसतमा ६ रुपैयाँ ६८ पैसा शुल्क लाग्ने गरेको छ । यस्तै १ हजार दरका नोटको छपाइ शुल्क भने प्रति वटा औसतमा ३ रुपैयाँ ३७ पैसा लाग्ने उनले बताए ।

‘५०० रुपैयाँ दरको नोटमा अतिरिक्त सुरक्षा विशेषताका कारण छपाइ खर्च बढी लाग्छ’ उनले अनलाइनखबरसँग भने, ‘नोटमा जति सुरक्षा विशेषता थप हुन्छ छपाइ खर्च पनि बढी लाग्छ ।’

‘नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि–नोक्सानी पुर्याएमा तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ’

१० रुपैयाँ दरका नोट छपाइमा सबभन्दा कम १ रुपैयाँ ४० पैसा खर्च हुन्छ भने ५ रुपैयाँ दरको नोटमा एउटाको छपाइ खर्च औसतमा १ रुपैयाँ ६८ पैसा हुन्छ । यस्तै २० रुपैयाँ दरको नोट छपाइमा प्रति वटा १ रुपैयाँ ७३ पैसा, ५० रुपैयाँ दरको नोट छपाइमा २ रुपैयाँ ६७ पैसा र १०० रुपैयाँ दरको नोट छपाइमा २ रुपैयाँ ९९ पैसा लागत लाग्ने राष्ट्र बैंकका ती अधिकारीले बताए ।

नोट छपाइमा टेन्डर गर्दाको मूल्य भनेको प्रत्यक्ष लागत मात्रै भएको राष्ट्र बैंकका सहायक प्रवक्ता पोख्रेल बताउँछन् । नोट व्यवस्थापन गर्ने लागत, नोट जलाउने, नोट ढुवानी गर्ने लागत, बीमाको लागत, फण्ड ट्रान्सफर गर्ने लागत हुन्छ, हेलिकप्टरबाट देशभरि नोट पुर्याउनुपर्छ’ उनले भने, ‘नोट व्यवस्थापन गर्दा लाग्ने कर्मचारीको खर्च हुन्छ । राष्ट्र बैंकले सफा नोट नीति लिएको छ । बैंकमा आएपछि सफा नोटलाई गणना गर्ने र झुत्रा बिग्रिएका नोट छुट्याउन लाग्ने स्लटिङको लागत पनि हुन्छ ।’

नोटमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो लागत भएकोले केन्द्रीय बैंकले डिजिटल करेन्सीको पनि अध्ययन गरेको उनले बताए ।

नोट बिगार्दा के हुन्छ ?

राष्ट्र बैंकले १२ वैशाख २०७३ मा ‘सफा नोट नीति २०७३’ जारी गरेको थियो । बैंकहरूलाई एटीएम लगायत मेशिनहरूमा प्रयोग योग्य, काउन्टरबाट भुक्तानी दिन योग्य र चलनचल्तीमा पठाउन अयोग्य भनेर छुट्याउन भनेको छ । साथै नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन ।

झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरू नबुझिने भएको, राजाको चित्र अंकित भएको आदि नोटहरूलाई भने पुनः निष्काशन अयोग्य नोटको रूपमा गणना गर्नुपर्ने व्यवस्था छ ।

नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन नै दिएको छ । नोटमा केरमेट तथा बिगार्ने कार्य गरे कारबाही हुने कानुनी व्यवस्था छ । ‘नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि–नोक्सानी पुर्याएमा तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ’, मुलुकी अपराध (संहिता) ऐनको दफा २६३ मा भनिएको छ ।

कति नोट बजारमा ?

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० भदौ मसान्तसम्म ६ खर्ब ३ अर्ब बराबरको नोट बजारमा चलनचल्तीमा रहेको छ ।

राष्ट्र बैंकले नोट निष्काशन गर्दा सुरक्षण राखेर मात्र गर्नेछ । यस्तो निष्काशित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ । सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकारपत्रमध्ये एक वा एकभन्दा बढीमा र अरू बाँकी ५० प्रतिशत सिक्का (मोहर, डबल र सोभन्दा बढी दरको), नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र र राष्ट्र बैंकबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्रमध्ये एक वा एकभन्दा बढीमा राख्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा नै छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?