+
+

२५ कर्मचारीका २५ वर्षे सीईओ !

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक ७ गते १८:०१

७ कात्तिक, पोखरा । ‘वास्तवमा लामो लकडाउनले मलाई सोच्ने समय दियो । होटल लिएको भए ३० वटा कोठाकै वरिपरि हुन्थें । आफूजस्तै २५ जना साथीहरुलाई जागिर दिइरहेको कम्पनी मसँग हुने थिएन’ कुराकानीको सुरुमै २५ वर्षीय स्वदेश नेपालीले कोरोना महामारीको समय सम्झिए ।

लेकसाइडमा आफन्तको होटल थियो । होटलसँग जोडिएर आउजाउ गरिरहेका उनलाई त्यहाँको व्यवसायले तानेको थियो । लेकसाइडका भरिभराउ होटलले उनीभित्र होटल व्यवसायी बन्ने चाह उम्रियो । घर सल्लाह गरे, परिवार राजी भएपछि ३० वटा कोठा भएको होटल लिने करिब टुंगो लाग्यो ।

तर त्यही समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कारण लकडाउन भयो । होटल किन्ने उनको सपना पनि थाँती रहृयो । ‘६ महिनासम्म लकडाउन कहिले खुल्ला र होटल लिएर चलाम्ला भन्दै पर्खेर बसें । तर खुल्ने छाँटकाँट देखिएन, बरु विस्तारै केही खुकुलो हुँदै मर्निङवाकसम्म गर्न पाइयो,’ उनी भन्छन्, ‘मर्निङवाक पनि लेकसाइडतिर आफूले लिने भनेको होटल भएकै ठाउँतिर जान्थें ।’

लकडाउनले मोडेको बाटो 

२२/२३ वर्षको भर्भराउँदो उमेर, देशमै केही गर्छु भन्ने हुट्हुटी थियो । दिन, हप्ता, महिना हुँदै कोरोना महामारीको लकडाउन लम्बिरहृयो । सिए कक्षा पनि कोरोना महामारीकै कारण बन्द भएकाले ‘मर्निङवाक’ हिँडिरहे ।

पहिलेपहिले हौसिँदै लेकसाइड पुगिरहेका स्वदेशलाई त्यतिबेला मनमा चिसो पस्न सुरु गर्‍यो, जतिबेला सधैं गुल्जार देखेको लेकसाइड एकाएक भूतबंगलाजस्ता देख्न थाले ।

‘सधैं मान्छेको भीड भइराख्ने, गीतसंगीत बजिराख्ने लेकसाइड पुरै सुनसान थियो । मैले होटल खोल्न रिस्की देखें’ उनले भने, ‘आज लकडाउन भो, भोलि फेरि नाकाबन्दी हुनसक्छ, भूकम्प जान सक्छ । एउटा मात्रै कन्ट्रीमा फोकस गरेर बिजनेस गर्नुहुँदैन रैछ भन्ने लाग्यो ।’

तर के गर्ने ? अर्को योजना पनि थिएन । नयाँ केही गर्न सकिन्छ कि भनेर खोज्न थाले । त्यहीबेला खै कहाँबाट हो फुर्‍यो-रेस्टुरेन्ट व्यवस्थापन गर्ने सफ्टवेयर विकास गर्ने । आफन्तको होटलमा काम गर्दा सफ्टवेयरमा समस्या देखेका उनलाई त्यसैलाई सुधार्न मन लाग्यो । तर सफ्टवेयरसम्बन्धी ज्ञान थिएन । ‘सोच्न त सोचियो । तर कसरी बनाउँछन् ? कति खर्च लाग्छ केही थाहा थिएन,’ उनले अनुभव बाँडे, ‘केवल दिमागमा सफ्टवेयर बनाएर बेच्ने भन्ने मात्रै थियो ।’

उनले त्यही योजनलाई पछ्याए ।

अनि खुल्यो ब्ल्याकटेक

एउटा पूर्ण रेस्टुरेन्ट सफ्टवेयर कस्तो हुनुपर्छ भनेर डायरीमा उतारेर उनी पोखराका विभिन्न आइटी कम्पनी डुले । कतै रेस्पोन्स पाएनन्, पाएका ठाउँमा पनि सुरुमै ४०/५० लाख रुपैयाँ मागे । सफ्टवेयर बनाउने खर्च सुनेर फेरि झस्किए ।

‘आँट गरेर बनाएपनि केही फेरबुदल वा सुधार गर्नुपर्‍यो भने हरेक पटक शुल्क तिर्नुपर्ने,’ उनले भने, ‘नाफा जति अपडेट बनाउँदैमा जान्छ जस्तो लाग्यो ।’ अरुको कम्पनीबाट सफ्टवेयर बनाउन सम्भव नदेएपछि आफैं आफैं कम्पनी खोल्ने तयारीमा लागे, सफ्टवेयर डेभ्लपर खोज्न थाले ।

साथीहरुलाई आइटी कम्पनी खोल्छु भनेर सहयोग मागे, तर सबैजसो हच्किए । ‘बरु विदेश जान्छु भनेको भए सजिलै पैसा विश्वास गर्थे होलान्, आईटी कम्पनी खोल्छु भनेपछि कसैले पत्याएनन्’ उनले भने, ‘होटल लिने बेला सहयोग गर्छु भन्नेले पनि आइटी कम्पनी खोल्दा सहयोग गर्न मानेनन् ।’

तर उनले हार मानेनन् । सुरु गरे, ब्ल्याक टेक । ‘सुरुमा २ जना डेभ्लपर राखेर काम सुरु गरें । तर हामी सबै नयाँ भएकाले गर्न सक्छौं भन्ने कन्पिmडेन्स नै आएन’ घर बेचेरै भए पनि तलब खुवाएको स्मरण गर्दै उनले भने, ‘पहिलो एकडेढ वर्ष बनाउने भत्काउनेमै गयो ।’

यही बेला उनीसँग काम गरिरहेका सबै डेभ्लपरले एकैचोटि छोडेर अर्को कम्पनीसँग जोडिए । ‘करिब ३ महिनाभन्दा बढी समय त अफिस खाली बन्यो । त्यसछि आफैंले युआईयुएक्स डिजाइनिङ सिकें,’ भन्छन्, ‘त्यसले के बनाउनुपर्ने हो ? के चाहिएको हो पत्ता लगाउन सजिलो भयो ।’

त्यसपछि नयाँ डेभ्लपरहरु राख्न थाले । कर्मचारीको संख्या फेरि बढ्न थाल्यो । १ वर्षपछि बल्ल उनले बनाउन चाहेको सफ्टवेयरको सानो डेमो बन्यो । ‘हेर्दा सामान्य देखिएपनि आइटी क्षेत्रमा प्रतीक्षा र मेहनत थुप्रो गर्नुपर्ने रैछ’ उनले आफ्नो अनुभव सुनाए, ‘आफैं जोडिएपछि थाहा भयो ।’

अहिले उनीहरुले बनाएको त्यही सफ्टवेयर १५०० भन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् । अफिस कोठाको ४ हजार ‘एडभान्स’ तिरेर सुरु गरेको कम्पनीमा साढे २ करोड रुपैयाँ लगानी भइसकेको छ । ब्ल्याकटेक कम्पनीमा २५ जनाले युवायुवतीले रोजगार पाएका छन् भने उनी त्यही कम्पनीको ‘कान्छा’ सीईओ छन् ।

‘स्टार्टअप’ टेकलाई टेको !

आफू जस्तै सोच राख्ने युवालाई नेपालमै रोजगार दिन सकेको स्वदेश सन्तुष्ट छन् । ‘मैले २० जनालाई जागिर दिँदै गर्दा अरु २० जना नेपालमै केही हुन्छ है भनेर मोटिभेट हुन्छन्,’ भन्छन्, ‘भोलि २० जनाले पनि लगानी गर्छन्, हाम्रै उमेरमा कसै न कसैले त सुरु गर्नुपर्‍यो नि !’

अबको समय प्रविधिकै भएकाले सफलता पाउने आफू आशावादी रहेको स्वदेशको भनाइ छ । नेपालका प्राविधिक उच्चस्तरको रहेकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको तर, नेपालले नै प्रयोग गर्न नसकेको उनी सुनाउँछन् ।

सुरुआती दिनमा आफूले पाएको दुःख सम्झेर स्वदेशले ‘इन्क्युभेटर’ पनि चलाइरहेका छन् । ‘सुरुमै सिकाउने, भन्ने मान्छे नभएर पाउनु दुःख पाइयो’ स्वदेशले भने, ‘आजभन्दा ३ वर्षअगाडि जस्तो थिएँ, त्यस्तै टेक स्टार्टअप आइडिया लिएर आउँछन् भने सहयोग गर्न सुरु गरेका छौं ।’

प्रविधि क्षेत्रमा नयाँ उपाय र योजना लिएर आएकाहरुलाई ब्ल्याकटेकले परामर्श मात्रै दिँदैन, अध्ययन अनुसन्धान गर्न सघाउने गरेको छ । ‘कतिधेरै आइटी स्टार्टअपहरु इन्भेस्टरसँग राम्रोसँग डिल गर्न नसकेर गुमाउनु परेको छ’ उनले भने, हामीले आफूसँग भएका कर्मचारी, रिसोर्सेज प्रयोग गरेर सहयोग गरिरहेका छौं । यसमा हाम्रो स्वार्थ छ, पोखरामा जति आइटी कम्पनी फैलियो, त्यति नै हामीलाई पनि फाइदा हुन्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?